राजविराज — सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भवन निर्माण चार पटक म्याद थपिँदा पनि पूरा हुन सकेको छैन । सघन सहरी तथा भवन निर्माण आयोजना राजविराजमार्फत भवन निर्माण भइरहेको हो ।
अस्पताल र कार्डियाक सेन्टरको भवन निर्माणका लागि दुई टेन्डर भएका थिए । आयोजना कार्यालयका अनुसार २०७५ पुस १६ मा अस्पताल भवन निर्माणका लागि कन्टेक/जेयी जेभीसँग भ्याटबाहेक ३१ करोड ६ लाख रुपैयाँमा सम्झौता भएको थियो ।
सम्झौताअनुसार २०७८ असार १५ मा सकिनुपर्ने हो । त्यसपछि चार पटक म्याद थप भइसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । पछिल्लो पटक थपिएको म्याद २०८१ पुस २९ सम्म छ । निर्माण कार्यमा भौतिक प्रगति ९० प्रतिशत पुगेको छ । यो ठेक्काको ८० प्रतिशत रकम भुक्तानी भइसकेको छ ।
आयोजना कार्यालयका इन्जिनियर राजकुमार मिश्रले ठेकेदार कम्पनीलाई समयमै काम सक्न पटकपटक ताकेता गर्दै आएको बताए । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले भवन निर्माण पूरा नहुँदा अस्पतालको सेवा प्रवाहमा समस्या बेहोरिरहेको जानकारी दिए ।
‘पुरानो भवनमा अपरेसन थियेटर साँघुरो भएको छ । एचडीयू पनि १२ बेडको मात्र हुँदा क्रिटिकल बिरामी थपिँदा समस्या भइरहेको छ । नयाँ भवन निर्माण भएर ठाउँ बढाउन सके सेवा प्रभावकारी बनाउन सकिने थियो,’ उनले भने ।
