विश्व एड्स दिवस : संक्रमित भन्छन्,'नियमित औषधि सेवन गरे सक्रिय जीवन बाँच्न सकिन्छ'

मंसिर १६, २०८१

बुनु थारू/रासस

World AIDS Day: Infected says, 'You can live an active life if you take regular medicine'

काठमाडौँ — आफू एचआईभी संक्रमित भएको थाहा पाउँदा धरानका खगेन्द्र खड्कालाई संसारै अन्धकार लागेको थियो । एकातिर परिवार र समाजले के भन्ला भन्ने भय, अर्कोतिर अब धेरै बाँचिदैन भन्ने डर । लागुऔषध प्रयोग गर्ने क्रममा २६ वर्षअघि उनमा एचआईभी देखिएको थियो । 

संक्रमण पुष्टि भएको पाँच वर्षसम्म पनि उनी लागूऔषधबाट मुक्त हुन सकेनन् । २०६३ सालमा एक पुनःस्थापना केन्द्रको सहयोगमा उनी दुर्व्यसनीबाट मुक्त भए । त्यसयता खड्का विभिन्न सामाजिक संस्थामा आबद्ध भइ संक्रमितका हितमा वकालत तथा परामर्श दिँदै आएका छन् । एचआईभी संक्रमण भएकै कारण विभेद र लाञ्छना भोग्नुपरेको संक्रमित सँग धेरै अनुभव छन् । 

२३ वर्ष अघि खड्काको एक दुर्घटनामा हात भाँचिएको थियो । उनी उपचारका लागि अस्पताल पुग्दा रिपोर्टमा संक्रमित भएको थाहा पाएपछि स्वास्थ्यकर्मीले ‘प्लास्टर’ गर्नुपर्नेमा ‘ब्यान्डेज’ मात्र गरेर पठाइदिएका थिए । जसले गर्दा उनको एउटा हात अझै राम्रो अवस्थामा छैन । खड्का एचआईभी संक्रमितप्रतिको दृष्टिकोण पहिले र अहिलेमा आकाश जमिनको फरक रहेको बताउँछन् । उनी भन्छन्, 'मलाई संक्रमण पुष्टि भएको त्यो समय र अहिले फरक छ । समाजमा लाञ्छना भोगिरहेका होलान् तर पहिले भन्दा निकै कम छ ।' उनका अनुसार नियमित औषधि सेवन, स्वस्थ्य जीवनयापन तथा पौष्टिक आहारले एचआईभी संक्रमित सक्रिय जीवन बाँच्न सक्छन् । उनी भन्छन्,  'एड्सबाट सुरक्षित रहन परिवार तथा समाजलाई सजग गराएको छु । सबैले सुरक्षित व्यवहार गर्नुपर्छ । मेरी श्रीमती र दुई जना बच्चा छन् । उनीहरु कसैमा पनि संक्रमण छैन ।'

राष्ट्रिय एचआईभी तथा एड्स महासंघ नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले सकारात्मक सोचले नै जीवन बाँच्ने ऊर्जा प्रदान गर्ने बताउनुभयो । संघले संक्रमितको जीवन राम्रो बनाउने, जोखिमपूर्ण समुदायको परीक्षणद्वारा पहिचान गराउने र थप जोखिमबाट बचाउने काम गरिरहेको छ ।

२६ वर्षीया यशोदा तिमिल्सिना एचआईभी संक्रमण पुष्टि भएपछि आफू जस्तै थुप्रै संक्रमितलाई यसबारे पैरवी र परामर्श दिँदै आएका छिन् । उनको सुझाव छ, 'पहिले यो रोगलाई प्राणघातकको रुपमा लिइन्थ्यो । अहिले त्यस्तो अवस्था छैन । संक्रमण हुनेबित्तिकै डराउनु र आत्तिनु पर्दैन किनकी लामो जीवनयापन गर्न औषधि उपलब्ध छन् ।' राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याङ्कअनुसार सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार ३ सय व्यक्तिमा एचआईभी संक्रमण भएको अनुमान छ । 

सन् २०२३ मा चार सय ५७ व्यक्तिमा एचआईभीको नयाँ संक्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ मा मात्रै दुई सय २१ व्यक्तिको एड्सका कारण मृत्यु भएको अनुमान गरिएको छ । नेपालमा एचआईभी संक्रमणको उच्च जोखिममा सूईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, जेलमा रहेका कैदी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि बिदेसिनेहरू छन् । यीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेहरु र पुरुष समलिङ्गी यौनकर्मीमा संक्रमण दर अरु जोखिम समूहभन्दा उच्च छ ।

नेपालमा सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न ९५ प्रतिशत एचआईभी संक्रमितले आफ्नो संक्रमण अवस्थावारे थाहा पाउने, तीमध्ये ९५ प्रतिशतको औषधि उपचारमा पहुँच हुने र ती औषधि खानेमध्ये ९५ प्रतिशतको शरीरमा भाइरसको भार (भाइरल लोड) न्यून हुनुपर्ने भनिएको छ । हरेक वर्ष डिसेम्बर १ का दिन विश्व एड्स दिवस मनाइन्छ । यो वर्ष ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ ३७औँ एड्स दिवस विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

बुनु थारू/रासस

Link copied successfully