मन्त्री पौडेलले भने- 'संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ, आगामी दिनमा पूर्ण सुधार महसुस हुनेछ । हामी सुधार गर्दैछौं । नागरिकलाई पनि त्यो सुधार महसुस गराउँछौँ ।’
काठमाडौँ — स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले संघीय अस्पतालहरूको सेवा पहिलभन्दा व्यवस्थित भएको दाबी गरेका छन् । उनले आफूले जिम्मेवारी सम्हालेपछि सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलन गर्दै यो अवधिमा आमनागरिकको स्वास्थ्यमा सकारात्मक असर पर्ने गरी स्वास्थ्य क्षेत्रमा सुधार भएको दाबी गरे ।
मन्त्री पौडेलले हालसम्म भएका सुधारले नै पनि नागरिकको स्वास्थ्य पहुँचमा फरक पारिसकेको बताए । ‘संघीय अस्पतालको सेवा पहिलेभन्दा केही व्यवस्थित भएको छ,’ उनले भने, ‘आगामी दिनमा पूर्ण सुधार महसुस हुनेछ । हामी सुधार गर्दैछौं । नागरिकलाई पनि त्यो सुधार महसुस गराउँछौँ ।’
मन्त्री पौडेलले क्यान्सर सेवालाई सातै प्रदेशमा पुर्याउने निर्णयदेखि मुटु रोग उपचार थप २ प्रदेशमा सुरु भैसककेको र सातै प्रदेशमा पुर्याउने निर्णय भएको सार्वजनिक गरे ।
नसक्नेका लागि नागरिकको जलन उपचार निःशुल्क बनाउने निर्णयदेखि स्वास्थ्य स्वयंसेविकाको यातायात निःशुल्क बनाउने निर्णय भएको कुरालाई मन्त्री पौडेलले प्रगतिका रुपमा सार्वजनिक गरे । उनले देशमा दक्ष चिकित्सक अभाव पूर्ति हुने गरी स्नातकोत्तर तहमा हाल वार्षिक एक सय १३ जना अध्ययन गराइरहेका सरकारी अस्पतालमा ४ सय अध्ययन गराउन सक्ने गरी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट भएको निर्णयलाई ऐतिहासिक भएको दाबी गरे ।
लामो समयसम्म समायोजन हुन नसकेका चिकित्सकहरुको दरबन्दी समस्या समाधान हुने गरी गरिएको निर्णयलाई पनि मन्त्री पौडेलले महत्वका साथ प्रस्तुत गरे । धेरै निर्णय दीर्घकालीन असर पार्ने खालका भएको र कतिपय निर्णयको असर देखिन थालिसकेको उनको दाबी छ ।
मन्त्री पौडेलले आम नागरिकको स्वास्थ्य पहुँच पुग्ने गरी स्वास्थ्य बीमा सुधार आफ्नो मुख्य प्राथमिकतामा रहेको भन्दै यसलाई सुधार गरेर लैजाने दिशामा प्रगति भैरहेको दाबी गरे । आफूहरुले एउटा अवधारणा बनाएकामा पूरा मन्त्रालयले दिएको भन्दै मन्त्री पौडेलले आभार व्यक्त गरे ।
मन्त्री पौडेलले प्रधानमन्त्रीसमेत यसलाई सुधार गरेर दायरा ५ लाख पुर्याउने कुरामा सकारात्मक भएको बताए । उनले नतिजा आइ नसके पनि आम नागरिकले धेरै प्रयोग गर्ने औषधिको मूल्य समायोजनका लागि प्रक्रिया थालिएको बताए ।
‘मन्त्रीभन्दा पहिले म पनि नागरिक हुँ, आफूले भोगेको पीडा सम्झेर स्वास्थ्य क्षेत्रको सुधारमा लागिरहेको छु,' उनले भने, 'म आफैँ सरकारी अस्पतालमा उपचार गर्ने गरेको छु । परिवारको उपचारका क्रममा देखेका समस्या सम्झेर सुधारका कार्यहरूलाई अगाडि बढाएको छु ।'
