नरेठाँटी स्वास्थ्य चौकी गण्डकीकै उत्कृष्ट

आश्विन ७, २०८१

प्रकाश बराल

Narethanti Health Chowki is the best in Gandaki

बागलुङ — पछिल्लो ५ वर्षदेखि पूर्ण संचालनमा आएको यहाँको नरेठाँटी स्वास्थ्य चौकी जिल्लामा अब्बल बनेको छ । स्वास्थ्य कार्यालय बागलुङ र गण्डकी प्रदेशले गरेको न्यूनतम शर्त मापनमा गलकोट नगरपालिका–२ को यो स्वास्थ्य चौकीले सबैभन्दा धेरै अंक पाएको हो ।

प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले तयार पारेको दुई दर्जन बढी सूचकका आधारमा गरिएको मापनमा १ सय अंकमा ९६ अंक पाएर नरेठाँटी स्वास्थ्य चौकी प्रथम भएको स्वास्थ्य कार्यालय बागलुङका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले बताए ।

कुल ८५ वडाका ९० बढी स्वास्थ्य संस्थाबाट पहिलो चरणमा ५० वटालाई अनुगमनको सूचिमा राखिएको थियो । त्यसपछि सूचक अनुसारको अध्ययन गरिएको थियो । गत वर्ष ८३ अंक ल्याएको नरेठाँटीले यो वर्ष सेवा प्रवाह चुस्त बनाएर अंक बढाएको हो । गलकोटकै रिघा स्वास्थ्य चौकी पनि अब्बलमा गनिएको घिमिरेले बताए । मन्त्रालयले दुई वर्षदेखि यस्तो मापन थालेको छ । वार्षिक समीक्षा कार्याक्रम सकेपछि मन्त्रालयले अनुगमन मार्फत मापन गरेर पुरस्कृत समेत गर्न थालेको हो ।

मापन गर्दा सुशासन, संस्थागत बिकास, मानवस्रोत, आर्थिक व्यवस्थापन, मेडिकल रेकर्ड र गुणस्तरलाई १ सयको दरले पूर्णांक राखिएको छ । यो स्वास्थ्य चौकीले बहिरंग सेवा, खोपको पर्याप्तता, गर्भवती जाँच, स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा क्षयरोग उपचार, परिवार नियोजन सेवालगायतमा शतप्रतिशत अंक पाएको छ । त्यसबाहेक बर्थिङ सेन्टर तर्फ ९३, सफाइ, पानी, संचार, यातायात जस्ता सूचकमा पनि शतप्रतिशत अंक आएको स्वास्थ्य कार्यालयका प्रमुख बाबुराम आचार्यले बताए ।

‘सुशासन, सेवा प्रवाह, पूर्वााधार र जनशक्ती व्यवस्थापनलाई मूल शीर्षक मानेर अध्ययन गर्दा अब्बल भेटिएकालाई सम्मान गरिन्छ,’ आचार्यले भने, ‘उक्त स्वास्थ्य चौकीमा अध्ययन भ्रमण जाने, उनीहरुको व्यवस्थापनबाट सिकाइ बढाउने काम पनि गरिन्छ ।’ मिहनेत गरेमा शतप्रतिशत अंक ल्याउन सकिन्छ भन्ने सन्देश पनि भएको उनले बताए ।

कोरोना संक्रमणका बेला यो स्वास्थ्य चौकीलाई आइसोलेसन सेन्टरको रुपमा राखिएको थियो । त्यतिबेला यहाँ खासै बिरामी जान्दैनथे । नगरपालिकाले यहाँ लगानी बढाएर स्वास्थ्यकर्मीलाई पनि प्रोत्साहन गर्दा अब्बल बनाउन सकेको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए । यहाँ दैनिक ५० देखि ६५ जनाको उपचार हुने गरेको स्वास्थ्य चौकी प्रमुख दिलु सुवेदीले बताए ।

यहाँ सुरक्षित सुत्केरी सेवा, क्षयरोगको डट्स बिधि र बिरामी प्रतिक्षालय समेत बनाइएको छ । क्षयरोगीले गोप्य रुपमा उपचार गर्ने, औषधि सेवनलगायतको सेवाले सदरमुकाम आउनेहरुले गाउँमै सेवा पाएका छन् । सुधारिएको सेवाकै कारण स्वास्थ्य चौकी अब्बल बनेको घिमिरेले बताए ।

‘नगर स्वास्थ्य शाखाको पहलमा डिजिटल रेकर्ड पद्दति र औषधिको रेकर्ड पनि कम्प्युटरमै राख्न थालिएको छ,’ नगर स्वास्थ्य शाखाका प्रमुख सुशील पौडेलले भने, ‘हामीले बनाएको सबै सिस्टमलाई अब्बल रुपमा पालना गरेको छ ।’ यहाँको चुस्त व्यवस्थापन र शान्त वातावरणले धेरैको मन तानेको उनले बताए ।

यहाँ बर्षमा ५५ जना भन्दा बढीले सुरक्षित सुत्केरी सेवा लिएको तथ्यांक पनि छ । पोखरा र सदरमुकाम जानुपर्नेले गाउँमै सेवा पनि पाएका छन् । सेवा सँगै गुणस्तर र सरसफाइ पनि अब्बल बनेको पौडेलले बताए । गलकोट नगरपालिकाले स्वास्थ्य संस्थामै नियमित गर्भ परीक्षण गरेर स्वास्थ्य संस्थामै सुत्केरी हुनेलाई एकमुष्ठ ४ हजार ६ सय प्रोत्साहन भत्ता दिने गरेको छ ।

त्यसबाहेक नेपाल सरकारबाट पाउने २ हजार गरी संस्थागत सुत्केरी भएमा गलकोटमा ६ हजार ६ सय रुपैयाँ पाउँदा ग्रामीण महिलाले सुत्केरीको समयमा पोषणको मात्रा पूरा गर्न पाएा छन् । नगर प्रमुख भरत शर्मा गैरेले त गत असारमा ल्याएको नीति तथा कार्यक्रममा नागरिकको स्वास्थ्य नै पहिलो प्राथमिकतामा राखेका छन् ।

‘सबै नागरिक स्वस्थ्य भएमा अन्य खर्च नै कम हुन्छ’ गैरेले भने, ‘अबका दिनमा सबै स्वास्थ्य संस्था अब्बल बन्नुपर्छ ।’ विपन्न समुदायका महिलालाई पोषणका लागि राहत पुर्‍याउन यो सहयोग ल्याएको उनले बताए ।

व्यवस्थित नगर अस्पतालको प्रेरणाले स्वास्थ्य चौकी पनि अब्बल बन्न थालेका हुन् । जिल्ला अस्पताल सरह सेवा दिएपछि स्वास्थ्य चौकीमा पनि विरामीको विश्वास बढेको हो । यहाँ खुला चौर, अपांगमैत्री शौचालय, बिरामी प्रक्षिता घर, हरियालीपार्क बनाएर आकर्षक बनाएको वडाध्यक्ष हिमबहादुर भण्डारीले बताए ।

उपचारका लागि आएका हरेक बिरामीको नाम अनलाइनमा प्रविष्टि गरेर नगर पालिकाको तथ्यांकमा राख्ने गरिएको छ । यो तथ्यांक राख्ने विधिले नगरभरीका बिरामीको अवस्था, रोगको प्रकृतिबारे अध्ययन गर्न सहज भएको पौडेलले बताए ।

स्वास्थ्य चौकीमा इमरजेन्सी किट बक्स पनि राखिएको छ । त्यस्तै औषधिको व्यवस्थापनमा पनि सुधार गरिएको छ । पछिल्लो समय त यहाँ जापान समाजबाट आएको सहयोगले एम्बुलेन्स खरिद गरेर संचालनमा ल्याइएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully