काठमाडौँ — छालामा विभिन्न प्रकारका क्यान्सर रोग देखा पर्न सक्छन् । सबै प्रकारको क्यान्सर पत्ता लगाउने वा उपचार गर्ने प्रक्रिया पनि बेग्लै नै हुने गर्छ । हामी यहाँ त्यस्तै केही क्यान्सरका बारेमा चर्चा गर्न गइरहेका छौं ।
१) बेसल सेल क्यान्सर (बीसीसी) : यो नेपालमा सबैभन्दा धेरै देखिने छालाको क्यान्सरमध्येमा पर्दछ। यसप्रकारको क्यान्सर घामको विकिरण बढी पर्ने शरीरका भागमा देखिन्छन् । जस्तै: अनुहार, पाखुरा र छातीमा रातो, कालो रंगको गिर्खा अथवा मोती जस्तै चम्किलो, रगतको नली भएको गिर्खा आउने, घाउ भइराख्ने, रगत बग्ने, दाग बस्ने, कत्ला निस्किरखने र आकार बढ्दै जाने हुन्छ । यस्ता शंकास्पद घाउहरू सामान्य उपचारका विधिले ठिक हुँदैनन् र लामो समयसम्म छालामा रहिरहनाले विरुपण निम्त्याउन सक्छन् ।
४१ वर्षीय पुरुषको बायाँ आँखा तल देखिएको बेसल सेल क्यान्सर । जुन उपचार पश्च्यात पूर्ण रुपमा निर्मूल भइसकेको छ ।
२) सक्यमस सेल क्यान्सर (एसीसी) : यस प्रकारका छालाका क्यान्सर विशेष गरे युरोप र अमेरिकामा बढी देखिने गर्दछन् । यस्ता क्यान्सर विशेषत: अनुहार, ओठ, कान, हात, खुट्टा, घामका विकिरण बढी पर्ने ठाउँमा बढी देखिने गर्छ । यस प्रकारको क्यान्सरमा- दुख्ने, पोल्ने, कत्ला र पाप्रा भएका घाउहरु आउने, मुसा जस्ता गिर्खा आउने, निको नहुने ठुला घाउ हुने, र बढेर शरिरका अंगहरुलाई विच्छेदन गर्दै लाने हुन्छ । साथै, यस प्रकारको क्यान्सर पोलेको तथा लामो समयसम्म घाउ भएका ठाउँमा देखिन सक्छ ।
७६ वर्षीय वृद्धाको तालुमा देखिएको सक्यमस सेल क्यान्सर
३) मेलानोमा: यो सबैभन्दा घातक छालाको क्यान्सरमध्येमा पर्दछ । यो धेरै फैलिएर मस्तिष्क, आँखा र फोक्सोमा गई ज्यान नै जोखिममा पार्ने हुँदा मेलानोमा समयमै पत्ता लगाएर उपचार गर्नु निकै महत्त्वपूर्ण हुन्छ । यो क्यान्सर शरीरको कुनै पनि स्थानमा आउन सक्छ । घामका विकिरण नपर्ने ठाउँमा पनि मेलानोमा आउने हुन्छ। कोठीजस्ता देखिने दागका आकार प्रकार परिवर्तन हुँदै गएमा, कोठी वरपरका सीमा अनियमित देखिएमा, एउटै कोठीको रंगमा पनि भिन्नता देखिएमा, कोठी बढ्दै गएमा, कोठीबाट रगत बगेमा या चिलाउने पोल्ने दुख्ने भएमा चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ । हत्केला, पैताला र नंगमा पनि कालो दागका रुपमा मेलानोमा देखापर्न सक्ने हुँदा सचेत हुनुपर्छ ।

कोठीजस्तै देखिने आकार परिवर्तित मेलानोमा
छालाका क्यान्सर पत्ता लगाउने विधि
१. ऐनाले आफ्नो घाँटीको पछाडिपट्टिको भाग, तालु र ढाडमा बेलाबेला आफैंले छाम्ने, आकारप्रकार याद गरिराख्ने र समयसँगै घाउ/दागहरूको आकार परिवर्तन भएमा चिकित्सकको सल्लाह लिने ।
२. आफ्नो शरीरमा शंकास्पद दागहरु छन् कि भनेर जाँच गर्ने । आफ्नो शरीरलाई तलदेखि माथिसम्म, अगाडि-पछाडि, दायाँ-बायाँ सबैतिर, ठुलो ऐनामा हेर्ने ।
३. आफ्नो खुट्टाको पछाडिपट्टि भागमा, पैतालामा, औलाको बिचमा आफैंले बेलाबेलामा हेर्ने र लामो समयसम्म घाउ भैरहेमा, कालो दाग आएमा, कालो दाग बढ्दै गएमा, कालो दागमा चिलाउने, रगत बग्ने भएमा र घाउ अथवा दाग फैलिँदै गएमा तुरुन्त चिकित्सकको परामर्श लिने ।
४. परिवारमा स्किन क्यान्सर भएमा अथवा पहिला आफैंलाई स्किन क्यान्सर भएमा फेरी पनि त्यही ठाउँमा अथवा अरु ठाउँमा क्यान्सर आउने सम्भावना हुने हुँदा बेलाबेलामा छाला विशेषज्ञकोमा गएर छाला जचाउने ।
छालाका क्यान्सर उपचार विधि
छालाका क्यान्सरलाई सकेसम्म छिटो पत्ता लगाई फैलन नदिई उपचार गरेमा क्यान्सरलाई निर्मूल पार्न सकिन्छ ।
१. क्यान्सर भएको छालालाई मार्जिन लिएर निकालेर फालिन्छ र बायोप्सीका लागि पठाइन्छ ।
२. चिसोले सेकाएर (क्रायोथेरापी), लेजर प्रविधि र रेडियसन थेरापीको माध्यमले उपचार गर्न सकिन्छ ।
३. क्यान्सरका निम्ति बनाइएका एन्टिक्यान्सर औषधि चिकित्सकको परामर्शबमोजिम सेवन गर्नुपर्ने हुन्छ ।
४. घामबाट बच्ने, नियमित छालाको जाँच गर्ने र शंकास्पदजस्ता देखिने दागका लागि नजिकैको छालारोग विशेषज्ञकहाँ गएर परामर्श लिने ।
(छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. पुडासैनी निजामती कर्मचारी अस्पतालमा कार्यरत छन् ।)
