नरदेवी अस्पतालले जेष्ठ नागरिकलक्षित सेवा ल्याउने

कार्तिक ४, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — आयुर्वेद चिकित्सालय नरदेवीले जेष्ठ नागरिकलक्षित सेवा ल्याउने भएको छ । धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवस २०७९ को पूर्वसन्ध्यामा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा प्रदीप केसीले जेष्ठ नागरिकलाई लक्षित गर्दै जेरियाट्रिक केयर सुरु गर्ने जानकारी गराए ।

 उनकाअनुसार अल्जाइमर, पार्किन्सन, पक्षघात, स्पाइनल कर्ड इन्जुरीलगायत रोगहरुमा पञ्चकर्म, शिरोधारा, अकुपञ्चर, मनोसामाजिक परामर्शसहित गुणस्तरीय सेवा प्रदान गर्ने गरिने छ। 

उनले धेरैको जिज्ञासामा रहेको स्वास्थ्य बीमा कार्यक्रममा आयुर्वेद चिकित्सा सेवा सञ्चालन गर्ने बताउँदै जीर्ण अवस्थामा रहेको प्रशासनिक र आवासगृह भत्काएर चिकित्सालयको गुरुयोजनाअनुरुप नयाँ भवन निर्माण सुरु गर्ने भावी योजनासमेत पेस गरे । 

त्यसैगरी औषधि निर्माणशालालाई अत्याधुनिक मेुसन जडानसहित थप व्यवस्थित र आधुनिकीकरण गर्ने अस्पतालको योजना छ । नेपालको एकमात्र केन्द्रीय आयुर्वेद अस्पताल नरदेवीमा धेरैजसो प्यारालाइसिस, मोटर न्युरोन डिजिज, नसासम्बन्धी रोग, पायल्स, फिस्टुलाको उपचारका लागि बढी बिरामी आउने गरेका छन् भने फिजियोथेरापी, अकुपञ्चर, शिरोधारा, क्षारसुत्रको सेवा लिनेको पनि चाप हुने गरेको छ ।

यस चिकित्सालयले विगत १०५ वर्षदेखि निरन्तर सेवा दिँदै आएको छ । हाल १८ वटा क्याबिन र १०० शय्यामार्फत सुविधासम्पन्न अन्तरंग सेवा प्रदान गरिरहेको छ ।  धन्वन्तरी जयन्ती एवं राष्ट्रिय आरोग्य दिवसको अवसरमा अस्पतालले सरसफाइ तथा जडिबुटी रोपन कार्यक्रम, ‘आयुर्वेद चिकित्सा विधिहरुको मानक सञ्चालन प्रक्रिया’ नामक पुस्तक विमोचन, लिफ्ट सञ्चालन कार्यक्रम, सेवानिवृत्त कर्मचारीहरुलाई सम्मान साथै उत्कृष्ट कर्मचारीहरुलाई पुरस्कार वितरण कार्यक्रम रहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully