यसरी थाहा पाइन्छ आत्महत्याको संकेत- स्वास्थ्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यसरी थाहा पाइन्छ आत्महत्याको संकेत

आत्महत्या तथा आत्महानीको सोच आएमा ११६६ डायल गर्नुस् 
कान्तिपुर संवाददाता

काठमाडौँ — हरेक १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । आत्महत्या एक गम्भीर जनस्वास्थ्य समस्या हो । विभिन्न परिस्थितिसँग जुध्ने क्रममा उत्पन्न तीव्र लगातार मनोविचलनका अवस्थामा व्यक्तिले अन्तिम विकल्पका रुपमा बाध्यात्मक मृत्युवरण गरिने अवस्था आत्महत्या हो ।

आफ्ना समस्या तथा भावनाहरु पीडितले भन्न प्रयास गरिरहेका हुन सक्छन् त्यसैले उनीहरुको संकेत बुझिदिनुपर्छ । नजरअन्दाज गर्नुहुँदैन । उनीहरुको आनीबानी, व्यवहार र सोचलाई ध्यान पुर्‍याउन सकेको खण्डमा आत्महत्याको जोखिममा रहेको पहिचान गर्न सकिन्छ र समयमा बचाउन सकिन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष अन्दाजी ७ लाख व्यक्तिहरुको मृत्यु आत्महत्याबाट हुने गरेको तथ्यांक छ । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षणका अनुसार नेपालमा ६.५ प्रतिशत व्यक्तिहरुमा आत्महत्याको सोच र योजना रहेको पाइएको छ । नेपाल प्रहरीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ८३० व्यक्तिहरुको आत्महत्याबाट मृत्यु भएको थियो।

यदि कसैलाई आत्महत्याको सोच बारम्बार आइराख्छ भने, सामाजिक समस्या, मानसिक स्वास्थ्य समस्या र अत्यधिक तनावको बेला आत्महत्याको सोच आउँछ भने ११६६ नम्बरको हेल्पलाइनको सेवा दिएको छ जुन २४ सै घण्टा उपलब्ध छ र निःशुल्क पनि छ । यसमा तपाईंका समस्याहरुलाई मनोपरामर्शकर्ताले हल गर्ने प्रयास गर्नेछन् ।

आत्महत्या तथा आत्महानीका व्यवहारिक संकेतहरु कस्तो हुन सक्छन् ?

  • निराश, असहाय, बेकार महसुस गर्ने,
  • एक्कासी धेरै खुसी हुने वा एक्कासी धेरै दुःखी हुने,
  • आफैंलाई हानी पुर्‍याउने तथा जोखिमपूर्ण व्यवहार गर्ने,
  • मृत्युबारे कुरा गर्ने,
  • आत्महत्या गर्ने माध्यमहरु जस्तै विषादी, हातहतियार, औषधि अथवा अन्य माध्यमहरु खोजी गर्ने,
  • परिवार ,इष्ट मित्रहरुलाई बिदाइ भेट गर्ने, आफ्नो सम्पत्ति बाँडिदिने वा आफ्नो अन्तिम इच्छा लेख्ने, आत्महत्या गर्नुपूर्व आफ्ना कुरा र व्यवहारहरु सिलसिलाबद्ध रुपमा मिलाउने,
  • लागूपदार्थको अत्यधिक प्रयोग गर्ने

को हुन सक्छन् जोखिममा ?

  • पहिले आत्महत्या आत्महानीको प्रयास गरेका व्यक्तिहरु,
  • उदासिनता, लागूपदार्थको प्रयोग दुर्व्यसनी्लगायत मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु
  • गम्भीर भावनात्मक कठिनाइ भएका व्यक्तिहरु । जस्तैः नजिकको व्यक्ति गुमाएको, सम्बन्ध विच्छेद आदि,
  • दीर्घकालीन रोगबाट ग्रसित व्यक्तिहरु,
  • युद्ध, हिंसा, आघातजन्य घटना, समाजिक बहिष्कार अनुभव गरेका व्यक्तिहरु

आत्महत्याको सोच आएका व्यक्तिहरुलाई कसरी सहयोग गर्ने ?

  • आत्महत्या तथा आत्महानीको व्यवहारिक संकेतहरुलाई चिन्ने,
  • आत्महत्या सम्बन्धी सावधानी अपनाउने (साधनलाई टाढा राख्ने, ती व्यक्तिहरुसँग साथै रहने र एक्लै नछाड्ने, भावनाको कदर गर्ने, उनीहरुको कुरा सुनिदिने,
  • मनोचिकित्सक, मनोविमर्शकर्ता, मनोविद् र तालिमप्राप्त स्वास्थ्यकर्मीको सहयोग लिन प्रोत्साहन गर्ने,
  • हेल्पलाइनको सहयोग लिने, लिन प्रोत्साहन गर्ने,
  • निरन्तर सम्पर्कमा रहिरहने र अवस्थाबारे जानकारी लिने,
  • कुनै पनि आत्महत्याको अभिव्यक्तिलाई गम्भीरताका साथ लिने र आत्महत्या तथा आत्महानीबारे खुलेर कुराकानी गर्ने ।

प्रकाशित : भाद्र २५, २०७९ २१:००
प्रतिक्रिया
पठाउनुहोस्

रेसुङ्गा क्याम्पसले हटायो अध्यापक र कर्मचारी

गगनशिला खड्का

गुल्मी — गुल्मीको रेसुङ्गा बहुमुखी क्याम्पसले आर्थिक संकटका कारण ९ जना अध्यापक र कर्मचारीलाई हटाएको छ । क्याम्पस सञ्चालक समितिको शनिबार बसेको बैठकले ७ जना अध्यापक र २ जना कर्मचारीलाई अनिवार्य अवकास दिएको हो ।

समितिले सह–प्राध्यापक चन्द्रकान्त पन्थी, उपप्राध्यापकहरू ढुण्डिराज पोखरेल, अशोक कुमार पाण्डे, विष्णुकान्त पन्थी, लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे, गोविन्द गौतमलाई अवकास दिएको छ । त्यस्तै कर्मचारीहरूमा लाइब्रेरीयन लोकनाथ गौतम र स्टोर पिताम्बर मरासिनीलाई पनि अवास दिएको छ ।

त्रिभुवन विश्वविद्यालयको नियम अनुसार १० जनाभन्दा कम विद्यार्थी भएको अवस्थामा कक्षा चलाउन नपाइने भएकाले विद्यार्थी संख्या कम भएका प्राध्यापकलाई अवसका दिइएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीप्रसाद भलामीले बताए । ‘विश्वविद्यालयको नियमअनुसार उहाँहरूको कक्षा चल्न नसक्ने अवस्थामा अनिवार्य अवकास दिइएको हो ’, भलामीले भने ।

क्याम्पस आर्थिक संकटमा गुज्रिन थालेपछि गत साउन ३० गते सञ्चालक समितिले आर्थिक संकटकाल घोषणा गरी प्राध्यापक तथा कर्मचारीलाई स्वेच्छिक अवकासका लागि आह्वान गरेको थियो । सो आह्वान अनुसार ७ जना प्राध्यापक र ६ जना कर्मचारीले स्वेच्छिक अवकासका लागि आशयपत्र बुझाएका थिए । सञ्चालक समितिले उनीहरूमध्ये ४ जना प्राध्यापकको र २ जना कर्मचारीको आशयपत्र स्वीकृत गरेको छ । उपप्राध्यापकहरूमध्ये लक्ष्मण रिजाल, पदम प्रसाद पाण्डे र गोविन्द गौतमले भने स्वेच्छिक अवकासको लागि आशयपत्र पेस नगरे पनि सञ्चालक समितिले हटाएको छ ।

स्वेच्छिक अवकास पाएर र हटाइएका प्राध्यापक कर्मचारीको उपदान र उपचारकोष बापतको रकम करिब पौने दुई करोडभन्दा धेरै हुने क्याम्पसले जनाएको छ । उपदान र उपचारकोष बापतको रकम किस्ताबन्दीमा आगामी असार मसान्तसम्म उपलब्ध गराइने सञ्चालक समितिले निर्णय गरेको छ ।

सञ्चालक समितिले क्याम्पसका अध्यापक तथा कर्मचारीलाई कुनै पनि संघसंस्थाको प्रमुख र पदाधिकारीमा कार्यकारी पदमा बस्न नपाउनेसमेत निर्णय गरेको छ । त्यस्तै क्याम्पसका प्राध्यापकले बाहिरको कुनै शिक्षण संस्थामा पढाउन नपाउने निर्णय गरेको प्रशासक चनक बहादुर कुँवरले बताए ।

२०३९ सालमा स्थापना भएको क्याम्पसले गत पुसदेखि प्राध्यापक र कर्मचारीलाई पारिश्रमिक बापतको एक करोड ५८ लाख ५६ हजारभन्दा धेरै रकम भुक्तानी गर्न सकेको छैन । क्याम्पमा २४ जना पूर्णकालीन प्राध्यापक, १० जना पूर्णकालीन कर्मचारी र ७ जना आंशिक प्राध्यापक कार्यरत थिए ।

अहिले विद्यार्थीको शुल्कबाट मासिक करिब साढे सात लाख आम्दानी हुने तर खर्च २० लाखभन्दा माथि रहेको क्याम्पस प्रमुख हरिबहादुर केसीले बताए । अनावश्यक प्राध्यापक र कर्मचारी भर्ती, प्राध्यापकहरूको विलासी सेवा सुविधा, मनपरी खर्च, अध्यापनको गुणस्तर खस्कँदै जानु, विद्यार्थी आकर्षणमा बेवास्ता लगायत कारणले जिल्लाको पुरानो शैक्षिक धरोहर आर्थिक रुपमा संकटमा परेको गुनासो आएपछि सञ्चालक समितिले अध्यापक र कर्मचारी हटाउन सुरु गरेको हो ।

प्रकाशित : भाद्र २५, २०७९ २०:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×