२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

नेपालमै उत्पादित क्यान्सरको औषधि बजारमा 

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमै पहिलोपटक उत्पादन भएको क्यान्सर रोगविरुद्धको औषधि (एन्टिक्यान्सर ड्रग) बजारमा आएको छ । मंगलबार टिजिग फार्माले एक औपचारिक कार्यक्रम गरी स्वदेशी तथा विदेशी बजारमा जाने तयारी भएका औषधिको सार्वजनिककरण गरेको छ । 

नेपालमै उत्पादित क्यान्सरको औषधि बजारमा 

टिजिग फार्मा प्रालिबाट उत्पादित एन्टिक्यान्सरका औषधिले औषधि व्यवस्था विभागबाट मार्केट लाइसेन्स प्राप्त गरेपछि बजारमा आएको हो । योसँगै टिजिग फार्मा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बनेको छ ।

टिजिगका कार्यकारी निर्देशक शैलेश वैद्यले नेपालभित्रै विक्री बितरण गर्न विभागबाट तीनवटा मोलिक्युलको मार्केट लाइसेन्स प्राप्त भइसकेको जनाउँदै विदेशमा निर्यात गर्न पनि थप एउटा मोलिक्युलको स्वीकृति पत्र प्राप्त भएको बताए । कम्पनीको उत्पादन विश्वस्तरकै रहने र आफ्ना उत्पादन निर्यात हुने बलियो आधार समेत रहेको दाबी गरे ।

टिजिगले अहिले औषधि व्यवस्था विभागबाट २७ वटा मोलिक्युलका लागि उत्पादन स्वीकृति पाइसकेको छ । जसमध्ये पाँचवटा फर्माकोपेल, अरु नन् फर्माकोपेल छन् । यी मध्ये केही औषधि उत्पादन अनुज्ञापत्र औषधि निर्यातका लागि भएको कार्यकारी निर्देशक वैद्यले जानकारी दिए ।

कम्पनीका अनुसार बजारमा जाने टिजिगका उत्पादनहरु ट्याव्लेट र क्याप्सुलको बनोटमा रहेका छन् र छिट्टै इन्जेक्सनमा आधारित औषधि पनि निकट भविष्यमै बनाउने योजना रहेको छ ।

क्यान्सरका विभिन्न प्रकारमध्ये सकेसम्म बढि प्रकारका क्यान्सर विरुद्ध प्रयोग हुने औषधिहरु यस कम्पनीले उत्पादन गर्दैछ र विभागबाट स्वीकृति प्राप्त भए अनुसार क्रमश बजारमा उपलब्ध हुँदै जाने टेक्निकल हेड सरोड पौडेलले बताए ।

टिजिग फार्माबाट उत्पादन हुने एन्टिक्यान्सर औषधिको मूल्य आयातित औषधिको तुलनामा केही सस्तो हुने कम्पनीको दाबी छ ।‘हामीले अहिले उत्पादन गरेका औषधि यस अघिसम्म नेपाली बिरामीले विदेशबाटै ल्याएर खानुपर्ने बाध्यता थियो, अब त्यो बाध्यता हट्नेछ । उहि औषधि नेपालमै उत्पादन हुँदा हामीले बिरामीलाई केही सहुलियत अवश्य दिनेछौँ। अर्को कुरा नेपालमै उत्पादन हुने भएपछि औषधिको नियमितता तथा उपलब्धता समेत हुनेछ। औषधि अभाव होला कि वा नपाइएला कि भन्ने डर हुँदैन,’ वैद्यले भने ।

कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा मदन पियाले नेपालमै क्यान्सरका औषधि उत्पादन हुनु खुसीको कुरा भएको बताउँदै गुणस्तर र सर्वसुलभ बनाउनुपर्ने र नियमित सप्लाइ भएको खण्डमा औषधिले राम्रो बजार पाउने बताए ।

टिजिग फार्मा भारतको हैदरवादमा रहेको एसपी एक्युर ल्याब (एसपीएएल)सँग प्रविधि हस्तान्तरण सम्झौता गरेर वैदेशिक लगानीका साथ स्थापना तथा सञ्चालन भएको नेपाली फर्मा कम्पनी हो ।


प्रकाशित : फाल्गुन ४, २०७८ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?