कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

‘नयाँ भेरियन्टबाट नतर्सिऔं’

बुनु थारु

काठमाडौँ — दक्षिण अफ्रिकामा नोभेम्बर २४ मा पुष्टि भएको नयाँ भेरिएन्ट बी.१.१.५२९ अर्थात ‘ओमिक्रोन’ तीव्र रुपमा फैलिरहँदा यसले सबैको ध्यान तानेको छ । विश्व स्वास्थ्य संगठनले यो भेरियन्टलाई ‘भेरियन्ट अफ कन्सर्न’ घोषण गरिसकेको छ । यो भेरियन्ट तीव्र रूपमा फैलिने र ठूलो संख्यामा उत्परिवर्तित हुने भन्दै सतर्क रहन संगठनले आग्रह गरेको छ ।

‘नयाँ भेरियन्टबाट नतर्सिऔं’

दक्षिण अफ्रिकासँगै यो भेरियन्ट बोत्सवाना, बेल्जियम, हङकङ र इजरायलमा पनि पुष्टि भइसकेको छ । बेलायत, अमेरिकालगायत विश्वका धेरै देशले संक्रमण फैलिन सक्ने भन्दै दक्षिण अफ्रिका जान–आउन प्रतिबन्ध लगाइसकेका छन् । नयाँ भेरियन्टका विषयमा शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ तथा रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनसँग बुनु थारुले गरेको संक्षिप्त कुराकानी:

यो भेरियन्टले किन चिन्ता बढाएको हो?

यो भेरियन्ट चिन्ताको विषय बन्नुको मुख्य कारण भेरियन्ट धेरै संख्यामा उत्परिवर्तन हुनु हो । त्यसमा पनि थप चिन्ता भनेको स्पाइक प्रोटिनमा पनि धेरै संख्यामा उत्परिवर्तन भएको छ । धेरै उत्परिवर्तन हुँदा भेरियन्टले संक्रमण गराउने सक्ने क्षमता वा खोपको प्रभावकारितामा पनि प्रभाव पार्ने हुन्छ । हामीसँग अहिले उपलब्ध भएका खोपहरु सामान्तयः स्पाइक प्रोटिनलाई टार्गेट गरेर बनेका छन् । अहिलेको धेरै नै संख्यामा म्युटेसन भएको नयाँ भेरियन्टले हामीले लगाएको खोपबाट बनेको एन्टिबडी पहिचान गर्न सकेन वा छल्यो भने समस्या आउन सक्छ । यसले हामीसँग भएको खोपको प्रभावकारिता खस्किने भयो । यो भेरियन्ट कतिसम्म घातक हुने हो भन्ने अध्ययन भइरहेको छ ।विस्तृत रुपमा यसले कस्तो अवस्था सिर्जना गर्ला भन्ने कुरा हेर्न बाँकी छ ।

विश्वमा खोप अभियान चलिरहेको छ । खोपको प्रभावकारितामा पनि असर पर्ने भनिएको छ । त्यसो भए अहिले लगाएको खोपले काम नगर्ने भयो ? संक्रमण तीव्र हुने त होइन ?

नयाँ भेरियन्ट अत्यधिक मात्रामा जिनमा परिवर्तन देखिएकोले हाम्रो लागि राम्रो संकेत होइन । धेरैले खोप लगाइसकेका छन् । यसको प्रभावकारिता कति होला भन्नेमा त केही समय पर्खन पर्ला । नेपालमा खोप कतिले पाएका छैनन्, लगाएकोमा पनि एन्टिबडी नबनेको पनि छ, लगाएकाले पनि एन्टिबडी बनेर खस्किएको पनि हुन सक्छ । सैद्धान्तिक रुपले हेर्दा धेरै कुरामा समस्या आउने संकेत त गरेको हो तर कत्तिको संक्रामक हुने यो हेर्न अझै केही हप्ता लाग्छ । यो भेरियन्ट देखिएको दक्षिण अफ्रिकामा खोपको कभरेज पनि कम रहेछ युरोपमा पनि विभिन्न देश अनुसार कम नै छन् । त्यहाँका देश र नेपाल दाज्नै पर्छ भन्ने त छैन । यहाँ पनि मानिसको चहलपहल सुरु भइसक्यो । धेरै कुरा छन् । कति छिटो फैलिन सक्छन् यी सबै कुरामा भर पर्छ । धेरै उत्परिवर्तन हुनु र खोप प्रभावकारी रुपमा काम नर्गला की भन्ने हो । पुन:संक्रमण हुन सक्ने सम्भावना होला भन्ने हो ।

धेरै देशले उडान प्रतिबन्ध लगाइसके ? नेपालले नयाँ भेरियन्ट भित्रिन नदिन के गर्नुपर्छ ?

नेपालले पछिल्लो समयमा जीन सिक्वेन्सिङको सेवा सुरु गरिसकेको छ त्यसलाई प्रयोगमा ल्याउनुपऱ्यो ।जडान गरेर राख्ने मात्र कुरा होइन । विदेशमा देखिने भाइरसको जोखिमलाई नजिकबाट नियाल्नुपऱ्यो । किनकी हाम्रो पनि दैनिक सयभन्दा बढी संक्रमित त देखिनै रहेको छ । अर्को कुरा स्थानीय रुपमा म्युटेसन नहोला भन्न पनि त सकिदैन । त्यो पनि हामीले हेर्नुपर्ने हुन्छ । हवाइ मार्ग खुलिसकेको अवस्थामा भारतमा अहिले नदेखिएकोले को खुल्ला बोर्डर भन्दा हवाइ मार्गबाट समस्या हुन सक्छ । यो सँगसँगै भारतमा केही गरी देखिएमा हामीलाई दुईतिरबाट नयाँ भेरियन्टको स्रोत भित्रिन सक्छन् । परीक्षणलाई बढाउनुपर्ने देखिन्छ । शंकास्पद परीक्षणहरुको सिक्वेन्सिङ गरेर हेर्नुपर्छ ताकि अगाडी नै सकियोस् र रोकथामका योजनाहरु बनाउन र धेरै मान्छेलाई सजग गराउन पनि सजिलो हुन्छ ।

अहिले आम सर्वसाधारणहरु कोरोना छैन जस्तो गरी लापारबाही गरिरहेका छन् । नयाँ भेरियन्ट पुष्टि भइरहँदा कत्तिको जोखिम हुन सक्छ ?

राष्ट्रिय तथ्यांक तथा अस्पतालहरुको अवस्था हेर्दा नेपालमा कोरोना संक्रमण तल्लो स्तरमा पुगिसकेको भनेर शंका त गर्नुपर्दैन । यो पनि के बुझ्नुपर्छ भने अहिले पनि संक्रमण पुष्टि भइरहेका छन् । त्यसैले संक्रमण देखिरहेकोमा नयाँ आयातित र स्वयं स्थानीय खालको म्युटेसन भएर आउने सक्ने सम्भावनालाई पनि मध्यनजर गर्नपर्ने हुन्छ । नयाँ भेरियन्ट देखियो भन्दैमा तर्सिने गरी नसोचौं । म्युटेसन स्वाभाविक र प्राकृतिक हो । तर यो अलि संक्रामक हुन सक्ने बताइएको छ । हामी अहिले धेरै हुलुमलमा बसिरहेका छौं । मास्क लगाइएन भने त सहज रुपमा छिटो छिटो फैलिन सक्छ भाइरस । संक्रमण फैलिने कुरामा पनि हामीमा नै भर पर्छ । जनस्वास्थ्यका मापदण्डहरु मास्क लगाउने , दुरी कायम गर्ने ,साबुन पानीले हात धुन नछोडौं । नआत्तिऔँ तर सजग हुनैपर्छ ।

प्रकाशित : मंसिर ११, २०७८ १७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?