कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

विश्‍व श्रवण दिवस : नवजात शिशुको श्रवण परीक्षण

आधुनिक वैज्ञानिक युगमा अनेकौं आविष्कारसँगै सबैजसो क्षेत्रमा धेरै काम कुराको सम्भावना बढ्दै गएको छ । विभिन्न मेडिकल प्रविधिको आविष्कारसँगै नवजात शिशुले सुन्न सक्छ कि सक्दैन भनी पत्ता लगाउन पनि सम्भव भएको छ ।
कान्तिपुर संवाददाता

काठमाडौँ — मानव कानको विकासको पूर्णता गर्भावस्थामा नै भइसकेको हुन्छ । जन्मनेवित्तिकै शिशुले सामान्य अवस्थामा सुन्न सक्ने हुन्छ । सन् १९८० मा आविष्कार भएको अटो एकाउस्टिक इमिसन (ओएई) टेक्नोलजीको प्रयोगबाट जन्मनेबित्तिकै शिशुले सुन्न सक्छ कि सक्दैन भनी पत्ता लगाउन सम्भव भएको छ । ओएईले भित्री कान (कक्लिया) ले काम गर्छ कि गर्दैन भनी परीक्षण गर्छ । 

विश्‍व श्रवण दिवस : नवजात शिशुको श्रवण परीक्षण

अडिटरी ब्रेनस्टेम रेस्पोन्स (एबीआर) नामक परीक्षणले कानको सुनाइ शक्ति, सुनाइमा संलग्न भएको भित्री कानदेखि मस्तिष्कसँग जोड्ने नशामा भएका समस्या पत्ता लगाउन पनि सकिने अवस्था छ ।

एबीआर परीक्षणलाई पनि स्क्रिनिङका रूपमा प्रयोग गर्न सकिन्छ जसलाई अटोमोटिक एबीआर (एएबीआर) भनिन्छ । ओएई तथा एएबीआर मेसिन तथा प्रविधिबाट नवजात शिशुको सुनाइको परीक्षण गर्न सकिन्छ । यसरी परीक्षण गर्दा शिशुलाई कुनै किसिमको हानिनोक्सानी हुँदैन ।


नियोनेटल हियरिङ स्क्रिनिङ

कुनै खास तोकेको अस्पतालमा जन्म भएका सम्पूर्ण नवजात शिशुको सुनाइको परीक्षण गर्ने कार्यलाई ‘युनिभर्सल नियोनेटल हियरिङ स्क्रिनिङ कार्यक्रम’ भनिन्छ । अन्तर्राष्ट्रियजगत्मा सबैजसो विकसित राष्ट्रहरूमा यसको सुरुवात धेरै वर्ष पहिले नै भएको पाइन्छ । विस्तारै यो कार्यक्रम धेरै राष्ट्रमा सरकारी तवरबाट नियमित कार्यक्रममा राखेको पाइन्छ । शिशु जन्मेको करिब १ महिनाभित्र दुवै कानको सुनाइ ओएई वा एएबीआर प्रविधि वा दुवैको प्रयोगबाट गर्ने गरिन्छ । यो परीक्षण दुई चरणमा गरिन्छ ।

पहिलो चरणको परीक्षण

शिशु जन्मेको १२ घण्टापछि अस्पतालबाट डिस्चार्ज हुनुअगाडि ओएई वा एएबीआर वा दुवैबाट गरिन्छ । यसमा दुवै कानको परीक्षण दुई–दुई पटक गरिन्छ । पहिलो चरणको परीक्षणबाट सुनाइ सामान्य भएमा अरू परीक्षण गरिँदैन ।

दोस्रो चरणको परीक्षण

पहिलो चरणको परीक्षणमा शंकास्पद नतिजा आएमा वा सुनाइमा कमी वा नसुनेको जस्तो लागेमा दोस्रो चरणको परीक्षण गरिन्छ । यो परीक्षण पहिलो चरणको परीक्षणको करिब एक महिनापछि गरिन्छ । यसमा पनि पहिलो चरणको परीक्षणमा जस्तै ओएई वा एएबीआर वा दुवैको प्रयोगबाट जाँच हुन्छ । यसपटक पनि दुवै कानको परीक्षण दुई–दुई पटक गरिन्छ । यो परीक्षणमा सामान्य देखिएमा ‘पास’ वा सामान्य नदेखिएमा ‘रेफर’ कोड गरिन्छ । ‘रेफर’ भएमा कानको सम्पूर्ण आवश्यक जाँच गरेर सुनाइ शक्तिको यकिन गर्नका लागि अडियोलोजिस्टकोमा रेफर गरिन्छ ।


हेयरिङ स्क्रिनिङको आवश्यकता किन ?

नेपालजस्तो विकासोन्मुख राष्ट्रमा नवजात शिशुले सुन्न सक्ने वा नसक्ने कुरा शिशुको उमेर करिब २ वर्ष पुगेपछि वा बोली तथा भाषाको विकास नभएपछि मात्र थाहा पाउँछन् । यो समयमा शिशुको विकासमा धेरै पछाडि परिसकेको हुन्छ । यदि समयमा नै सुनाइको समस्या पत्ता लगाउन सकेको खण्डमा समयमा नै यसको उपचार गर्न सकेमा शिशुको विकासलाई सामान्य बनाउन सकिन्छ । कानको सुनाइ कम भएका शिशुलाई सामान्य बनाउनका लागि आवश्यकताअनुसारको श्रवण यन्त्र (हियरिङ एड) समयमा लगाइदिएमा अन्य वृद्धि विकासलाई पनि सामान्य बनाउन सकिन्छ । पटक्कै कान नसुनेका शिशुलाई समयमा नै कक्लियर इम्प्लान्ट प्रयोग गरी अन्य तालिम दिई सामान्य व्यक्तिका रूपमा परिवर्तन गर्न सकिन्छ । कानको बाहिरी भागको मात्र विकास नभएको अवस्थामा पनि विभिन्न अत्याधुनिक श्रवण यन्त्रहरूजस्तै ‘बाहा’ ‘बोन ब्रिज ’ ‘साउन्ड आर्क’ ‘एडेयर’ जस्ता उपकरणको प्रयोगबाट सुनाइ सामान्य बनाउन सकिन्छ ।


स्क्रिनिङ कार्यक्रम सञ्चालनमा चुनौती

१) पर्याप्त अत्याधुनिक मेसिनको जरुरत

२) पर्याप्त प्राविधिक जनशक्तिको आवश्यकता

३) थप प्रशासनिक जनशक्तिको आवश्यकता

४) दुई चरणमा गरिनुपर्ने परीक्षण भएकाले अभिभावकले बच्चालाई दोस्रो चरणको परीक्षण गर्न नचाहने वा नसक्ने अवस्था

५) राम्रो रेकर्ड किपिङको व्यवस्था तथा भविष्यमा आवश्यक परेको समयमा सही आँकडा उपलब्ध गराउन सक्ने व्यवस्था गर्ने ।

अन्त्यमा, नियोनेटल हियरिङ स्क्रिनिङले सुनाइको समस्या भएका नवजात शिशुको पहिचान गर्नमा सहयोग गर्दछ र समयमा नै अन्य डायगोनोस्टिक श्रवण परीक्षण गर्नुपर्ने/नपर्ने यकिन गर्दछ । यस किसिमको स्क्रिनिङ कार्यक्रम सरकारको नियमित कार्यक्रममा समावेश गरेर नेपालभर लागू गर्नुपर्छ । यस कार्यक्रमबाट सुनाइको कमी भएका वा सुन्न नसक्ने शिशुको पहिचान भएपछि ती बालबालिकाहरूको आवश्यक उपचार गर्नमा पनि नेपाल सरकारबाट नीति तथा योजना बनाउन जरुरी छ ।


(डा. प्रधानांग त्रिवि शिक्षण अस्पताल, महाराजगन्जका नाक–कान–घाँटी विभागमा कार्यरत छन् ।)

प्रकाशित : फाल्गुन १७, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?