काठमाडौँ — स्मार्ट फोनको अधिकतम उपयोगले मानिसको मनस्थिति प्रभावित पार्नका साथै यौनजीवनमा समेत असर पुर्याउन थालेको छ ।
मोरक्कोको कासाब्लांकामा शेख खलिफा बिन जायद अन्तर्राष्ट्रिय विश्वविद्यालय अस्पतालको यौन स्वास्थ्य विभागमा गरिएको अध्ययनले उक्त दाबी गरेको हो । अध्ययनमा सामेल ६ सय जनामध्ये करिब ६० प्रतिशत व्यक्तिले स्मार्टफोनका कारण आफ्नो यौनजीवनमा समस्या आएको स्वीकार गरेका हुन् ।
अध्ययनमा सामेल सबैसँग स्मार्टफोन थियो । यसमध्ये ९२ प्रतिशत व्यक्तिले स्मार्टफोनलाई राति उपयोग गर्ने कुरा स्वीकार गरेका थिए । तर करिब १८ प्रतिशतले आफ्नो फोनलाई सुत्ने कोठामा ‘फ्लाइट मोड’ मा राख्ने कुरा जनाए ।
अध्ययनअनुसार स्मार्ट फोनले २० वर्षदेखि ४५ वर्षसम्मका वयस्कमा नकारात्मक प्रभाव पार्ने देखिएको छ । जसमा ६० प्रतिशतले फोनले आफ्नो यौन क्षमतालाई प्रभावित गरेको बताए ।
अध्ययनमा सरिकमध्ये करिब ५० प्रतिशतले लामो समयसम्म स्मार्टफोन उपयोग गर्ने बानीका कारण यौनजीवन राम्रो नरहेको उल्लेख गरे । यस्तै, अमेरिकी कम्पनी स्योरकालको एक सर्वेक्षणअनुसार करिब तीन चौथाइ व्यक्तिले राति आफ्नो ओछ्याउनामा फोन राखेर सुत्छन् ।
