अनलाइन ठगीमा संलग्न भारतीयसहित दुई जना पक्राउ

विभिन्न देश घुमाउन लैजाने प्रलोभन देखाएर ३० जनाबाट ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको आरोप

श्रावण ९, २०८३

दीपक परियार

Two arrested, including an Indian national, for involvement in online fraud

What you should know

पोखरा — पोखरामा एसिया र युरोपका विभिन्न देश घुमाउन लैजाने प्रलोभन देखाएर अनलाइनमार्फत ठगी गरेको आरोपमा भारतीय नागरिकसहित दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरूबाट कम्प्युटर, रजिस्टर, कुपन रसिद, छापलगायत सामग्री बरामद गर्दै थप अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पोखरा-५ पर्स्याङस्थित पुष्पेन्द्र कोइरालाको घर भाडामा लिएर भारतीय नागरिकसहितको समूहले विभिन्न व्यक्तिलाई एसिया र युरोपका देशमा घुम्न लैजाने भन्दै ठगी गरिरहेको सूचनाका आधारमा ८ साउनको दिउँसो करिब २ बजे छापा मारिएको थियो ।

प्रहरीले सप्तरीको कञ्चनपुर नगरपालिका १२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, महेश्वर जिल्ला, शान्तिनगरका ३० वर्षीय मोहम्मद याशिरलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरूले ‘ओएसिस टुरिजम इन्टरनेसनल’ नामको संस्था स्थापना गरेर १५ जना युवालाई परिचालन गरेका थिए । उनीहरूले अनलाइन माध्यम र टेलिफोनमार्फत विभिन्न व्यक्तिलाई सम्पर्क गरी ‘तीन रात, चार दिनको छुट्टी, भर्नुहोस् र जित्नुहोस्, सुनिश्चित उपहार’ उल्लेख भएको कुपन भर्न लगाएर रकम उठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा हालसम्म ३० जनालाई एसिया र युरोपका विभिन्न देश घुमाउन लैजाने प्रलोभनमा पारेर कुपन भर्न लगाई ९ लाख ६५ हजार रुपैयाँ ठगी गरेको खुलेको प्रहरीले जनाएको छ । साथै १५ जना युवायुवतीलाई रोजगारीको प्रलोभन देखाएर आफूहरूको गतिविधिमा संलग्न गराएको आरोप पनि उनीहरूमाथि लागेको छ ।

छापाका क्रममा प्रहरीले दुई थान कम्प्युटर तथा मनिटर, आठ थान विभिन्न रजिस्टर र रेकर्ड बुक, कुपन रसिद, विभिन्न व्यक्तिको नाममा काटिएका कुपनका अर्धकट्टी तथा चार थान छाप बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कास्कीका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै ठगी तथा अन्य सम्बन्धित कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइएको बताए । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully