पहिरो पन्छाएर सातापछि खुल्यो कालीगण्डकी करिडोर

अघिल्लो आइतबारदेखि जैमिनी नगरपालिका-८ को बेलबगर र चौरीखोलामा निरन्तर पहिरो खसेर सडक अवरुद्ध थियो ।

श्रावण ८, २०८३

प्रकाश बराल

Kaligandaki Corridor reopens after a week as landslide debris is cleared

What you should know

बागलुङ — असार अन्तिम सातादेखि अवरूद्ध कालीगण्डकी करिडोरको बागलुङ खण्ड शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको छ ।

अघिल्लो आइतबारदेखि जैमिनी नगरपालिका-८ को बेलबगर र चौरीखोलामा निरन्तर पहिरो खसेर सडक अवरुद्ध थियो । अवरुद्ध करिडोरमा पटक पटक पहिरो थपिएपछि यायायात ठप्पै थियो । जैमिनी नगरपालिका, जिल्ला प्रशासन र कालीगण्डकी करिडोर आयोजना कार्यालयको पहलमा सडक डिभिजन कार्यालय बागलुङ समेतले निरन्तर काम गर्दा शुक्रबार मात्र पहिरो पन्छाएपछि सवारी चल्न थालेको हो । 

यो सडकमा शनिबारदेखि सर्तकता अपनाएर बुटवलतर्फ जाने सवारी चल्न सक्ने भएको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । सातादेखि सालझण्डी ढोरपाटन सडक पनि पहिरोको कारण अवरूद्ध छ । दुई दिनअघि पर्यटक बोकेको जिप समेत पहिरोमा पुरिएको थियो । जिपमा सवार ५ जना यात्रु सकुशल थिए । 

बेलबगरमा भने अझै पनि पहिरो र लेदो खस्ने सम्भावना बढी छ । बागललुङ, म्याग्दी र मुस्ताङ आएका पर्यटक गुल्मी, पाल्पा र बुटवल फर्कन करिडोरको बाटो बढी उपयोग हुँदै आएको छ । बागलुङदेखि पोखरा, स्याङजा हुँदै बुटवल जाने सडक भन्दा करिडोर ४ घण्टा छोटो छ । पछिल्लो समय भारतीय भक्तजन र पर्यटकले यो सडक धेरै उपयोग गर्न थालेका छन् । 

सडक अवरूद्ध भएपछि साता दिनसम्म गाडिहरु रोकिएपछि पर्वतको फलेवास हुँदै मिर्मि निस्कने गरी गाडी चल्न थालेका छन् । शनिबार पनि कतिपय सवारीले वैकल्पिक सडकको यात्रा गर्ने गरी टिकट काटेको यातायात व्यवसायीले बताए । 

चौरीखोलाको ठूलो पहिरो पन्छाइएको र निरन्तरको वर्षामा खस्ने लेदो र ढुंगा भने नियमित पन्छाएर सवारी चल्न सक्ने व्यवस्थापनमा जैमिनी नगरपालिकाले पनि सहजीकरण गरेको उपप्रमुख हरिहर शर्माले बताए । करिडोर अवरुद्ध भएपछि बागलुङको जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र बागलुङ नगरपालिकाको बलेवा क्षेत्रका बासिन्दाले पनि सास्ती खेपेका थिए । सडक डिभिजन कार्यालयले करिडोरको समन्वयमा तीनवटा जेसीबी मेसिन निरन्तर परिचालन गरेको थियो । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully