मनास्लु क्षेत्रमा बर्सेनि बढ्दै पर्यटक

निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु भ्रमणका लागि खुला गरिएयता वर्षेनी पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ ।

श्रावण ५, २०८३

हरिराम उप्रेती

Tourist numbers in Manaslu region are increasing every year

What you should know

गोरखा — एक वर्षको अवधिमा १६ हजार ६ सय ७१ पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् । पर्यटकका लागि खुला गरिएयता गत आर्थिक वर्षमा मनास्लु स‌ंरक्षित क्षेत्र (एमक्याप) घुम्नेको संख्या सबैभन्दा बढी पुगेका हो।

गत आर्थिक वर्षमा अघिल्लो वर्षको भन्दा ४१.१ प्रतिशत पर्यटकको संख्या बढेको एमक्यापको तथ्याङ्क छ । पछिल्ला तीन आर्थिक वर्षमा पर्यटकको संख्या उल्लेखनीय रुपमा वृद्धि भएको एमक्यापका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा १२ हजार ५ सय १२ तथा २०८०/०८१ मा ९ हजार ७ सय ८३ जनाले मनास्लु क्षेत्र घुमेका थिए । निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि  भ्रमणका लागि खुला गरिएयता हरेक वर्ष पर्यटकको संख्यामा वृद्धि हुँदै गएको छ । असोज र कात्तिक महिनामा मनास्लु क्षेत्रमा घुम्नेको संख्या बढी हुने गरेको छ। गत आर्थिक वर्षको कात्तिकमा सबैभन्दा बढी ४ हजार २ सय ६५ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेका थिए । गत वर्ष नेपाली ७ सय ८४, सार्क राष्ट्रका ६ सय ३४, अन्य विदेशी १५ हजार दुई सय ५३ जनाले मनास्लु क्षेत्रको भ्रमण गरेको सूचना अधिकारी ओझाले जानकारी दिए ।

गत आर्थिक वर्ष २०८२/०८३ मा मात्र ४ करोड १२ लाख ५० हजार १ सय ८८ रुपैयाँ संरक्षण शुल्कको प्रवेश शुल्कबापत राजस्व संकलन भएको उनले बताए । अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा २ करोड ५६ लाख ७७ हजार तीन सय ९० तथा आर्थिक वर्ष २०८१/०८२ मा ३ करोड २७ लाख ६५ हजार प्रवेश शुल्क बापत राजस्व संकलन भएको थियो ।

यहाँ आउँदा ७ दिनको अवधिमा ५,१०६ मिटर उचाइको लार्केपास पनि गर्न सकिने भएपछि पर्यटक मनास्लु क्षेत्रमा आकर्षित बनेको उनले बताए । मनास्लु क्षेत्र आएका पर्यटकले चुम र नुब्री उपत्यकाको भ्रमण गर्ने गर्छन्। उत्तरी क्षेत्रको भौगोलिक अवस्थिति, हिमश्रृंखला, सांस्कृतिक मठ, मन्दिर र गुम्बा अवलोकन गर्न पर्यटकको रोजाइमा पर्ने गरेको हो ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully