गृहमन्त्री सुधन गुरुङले गोरखामा ३ दिन के गरे ?

गृहजिल्ला गोरखामा सचिवालय स्थापनाको तयारीका लागि कोठा हेरे, शनिबार पनि प्रशासनको अनुगमन गरे

श्रावण ३, २०८३

हरिराम उप्रेती

What did Home Minister Sudhan Gurung do in Gorkha for 3 days?

What you should know

गोरखा — गृहमन्त्री सुधन गुरुङ शुक्रबार साझ गृह जिल्ला गोरखा आउने सूचना पाए पनि कति बेला आउने, उनको कार्यसूचीलगायत विषयमा रास्वपा पार्टी र सुरक्षा निकाय अलमलमा थिए । यद्यपि, गृहमन्त्रीको स्वागतका लागि विहानैदेखि तयारी थियो ।

गृहमन्त्री बनेपछि पहिलो पटक आएका गुरुङ गोरखा प्रवेश गरेसँगै गोरखा नगरपालिका–११ बाह्रकिलो र तेह्रकिलो बजार अवलोकन गर्न झरे । वन क्षेत्र अतिक्रमण गरेर बनेको बाह्रकिलोको बजार हटेपछि नयाँ बजार कहाँ बसाउने विषयमा स्थानीयले विभिन्न प्रस्ताव राखे ।

बजार व्यवस्थापनकै विषयमा स्थानीयसँग केहीबेर छलफल गरी गुरुङ जिल्ला प्रशासन कार्यालय पुगे । गृहमन्त्रीको पर्खाइमा प्रशासनका कर्मचारी शुक्रबार साँझसम्मै कार्यालयमै थिए । कर्मचारीको स्वागतपछि प्रमुख जिल्ला अधिकारीको कार्यकक्ष पुगेका गुरुङ लगत्तै कर्मचारीलाई निर्देशनका लागि भन्दै प्रशासनकै सभाहलमा प्रवेश गरे । त्यतिबेला साझको ६.३० बजिसकेको थियो । प्रशासनको सेवाबारे प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बेलिविस्तार सुनेपछि गुरुङले बाह्रकिलो बजारको प्रसङ्ग निकाले । 

वन क्षेत्र अतिक्रमित गरी बनाइएको बाह्रकिलोको टहरा हटाएपछि एकतर्फी रुपमा सवारी सञ्चालनको व्यवस्था मिलाउन प्रजिअ श्रेष्ठलाई उनले निर्देशन दिए । ‘एक ठाउँमा जाने, अर्को ठाउँबाट आउने गरी व्यवस्था मिलाउनु पर्‍यो, जाँदा तेह्रकिलोबाट जाने, आउँदा बाह्रकिलोबाट फर्कने भयो भने दुवै वस्तीलाई समस्या पर्दैन्,’ उनले थपे, ‘यो काम ७ दिनभित्र हुनुपर्‍यो, नत्र विवाद रहिरहन्छ ।’ गृहमन्त्रीको उक्त निर्देशन विवादरहित भने बन्न सकेन ।

रास्वपाका गोरखा नगरपालिका–११ का वडा सभापतिले विज्ञप्ति जारी गरेर स्थानीय सरोकारका विषयको अभिव्यक्तिबारे असन्तुष्ट पोखे । यस क्षेत्रको बजार व्यवस्थापनको विषयमा स्थानीयको आ–आफ्नै तर्क रहँदै आएको छ । What did Home Minister Sudhan Gurung do in Gorkha for 3 days?

प्रशासनका कर्मचारीलाई निर्देशन दिँदै सेवा एकद्धार प्रणाली बनाउन, १५ मिनेटभित्र नागरिकता वितरणको काम सक्न उनले निर्देशन दिए । कर्मचारीहरूले १ रुपैयाँ मात्र सेवाग्राहीसँग लिएको थाहा पाए आफैं ‘एक्सन’मा उत्रने गुरुङले चेतावनी दिए । 

कर्मचारीको सबै कोठामा सीसी क्यामेराको व्यवस्था गर्न र उक्त सीसी क्यामेराबाट काठमाडौंमै बसेर पनि हेर्न सक्ने तवरले व्यवस्थापन गर्न उनले निर्देशन दिए । शुक्रबार साझै गुरुङ जिल्ला प्रहरी कार्यालय गोरखाको निरीक्षणमा पुगे । प्रहरी कर्मचारीलाई निष्पक्ष तथा विवादरहित अपराध अनुसन्धान, नागरिक मैत्री सेवा प्रवाह, नागरिकप्रति जिम्मेवार र उत्तरदायी भइ सेवा प्रवाह गर्न र शान्ति सु–व्यवस्था कायम गर्न तथा उच्च मनोबलका साथ कार्यसम्पादन गरी जनतालाई सुशासनको अनुभुति दिलाउन निर्देशन दिए । 

अघिल्लो दिन कर्मचारीलाई निर्देशन दिएका उनी शनिबार बिदाको दिन पनि  जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहबारे फेरि निरीक्षणमा पुगे । नागरिकता र राष्ट्रिय परिचयत्रप वितरण गर्ने फाँटमा आधा घण्टा बिताएका उनले अघिल्लो दिन शुक्रबार प्रशासनमा सेवा लिन आएका गोरखा नगरपालिका–१४ का स्मित विकलाई टेलिफोन गरेर सेवा प्रवाहबारे जिज्ञासा राखे ।

यसपछि उनी सशस्त्र प्रहरी बल नेपाल २९ गुल्मको निरीक्षणमा निक्लिए । सशस्त्र प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए । शनिबार नै उनले ठूलो आँगन, सतीपिपल, कोखे आहाले, बगुवा हुँदै घ्याम्पेसालसम्म मतदाता भेटघाटमा बिताए । तेस्रो दिन आइतबार गोरखा दरबार भ्रमण, गोरखा नगरपालिका–७ को सिटी हल अवलोकन गरे । गृहमन्त्री गुरुङले त्यसलगत्तै बसपार्क क्षेत्रमा घरदैलो गरे । सचिवालय स्थापनाको तयारीका लागि शक्तिचोकमा खोजेको घरको अवलोकन पनि गरे ।

गृह जिल्ला गोरखामा छिट्टै सचिवालय स्थापना गर्ने उनको तयारी छ । आइतबार दिउँसो उनी प्रदेश अस्पताल गोरखाको अवलोकनमा पुगेका थिए । उनले अस्पतालको सेवा प्रवाहबारे चासो राखे । अस्पताल प्रशासनले विशेषज्ञ चिकित्सक अभाव रहेको गृहमन्त्री समक्ष गुनासो गरेका थिए । थप सेवा विस्तारको बारेमा पनि अस्पताल प्रशासनले गृहमन्त्रीलाई जानकारी गराएको थियो ।

अस्पताल चोक आसपास आइतबार पनि गृहमन्त्रीले मतदाता भेटघाट गरे । मतदादाताले राम्रो काम गर्न र जिल्लाको विकासको बारेमा ध्यान दिन गृहमन्त्री समक्ष आग्रह गरे । विभिन्न विकास निर्माणको बारेमा पनि मतदाताले गृहमन्त्री समक्ष माग राखे । ३ दिन गृहजिल्ला गोरखामा बिताएर गृहमन्त्री गुरुङ आइतबार साझ काठमाडौं फर्किएका छन् ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully