सरकारबाट पहिलो किसान परिचयपत्र पाएका थापाले प्रविधिमैत्री नर्सरीमार्फत स्थानीय किसानलाई सस्तोमा बिरुवा उपलब्ध गराउने तयारी गरेका छन्।
What you should know
बागलुङ — बागलुङ नगरपालिका–३ गौंडाकोटका ५१ वर्षीय गंगाबहादुर थापाले हाइटेक नर्सरीमार्फत वार्षिक ४० हजार सुन्तलाका बिरुवा उत्पादन गर्ने लक्ष्यसहित व्यावसायिक खेती सुरु गरेका छन्। बागलुङ नगरपालिका–६ लहरेपिपलमा पाँच रोपनी जग्गा भाडामा लिएर स्थापना गरेको 'पञ्चकोट कृषि नर्सरी' मा उनले आधुनिक प्रविधिबाट सुन्तलाका कलमी बिरुवा उत्पादन गरिरहेका छन्।
झट्ट हेर्दा प्लास्टिक टनेलभित्र तरकारी खेतीजस्तो देखिए पनि त्यहाँ स्थानीय खोकु जातको सुन्तलालाई टाइफ्लेट नामक जंगली तिनपाते बिरुवाको जरामा कलमी गरेर रोग तथा प्रतिकूल मौसम सहन सक्ने बिरुवा उत्पादन भइरहेको छ।
नर्सरीको सबैभन्दा विशेषता भनेको स्वचालित सिँचाइ प्रणाली हो। मोबाइलबाटै सिँचाइ सञ्चालन गर्न सकिने व्यवस्था मिलाएकाले नियमित रूपमा नर्सरीमै बसिरहनु नपर्ने थापा बताउँछन्। कीरा तथा रोगको जोखिम कम गर्न टनेलभित्र प्रवेशसमेत सीमित गरिएको छ। नर्सरी निर्माण र प्रविधि जडानमा करिब २५ लाख रुपैयाँ लगानी भएको उनले बताए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले लागत साझेदारीमा ४ लाख रुपैयाँ सहयोग गरेको छ भने बाँकी लगानी उनले आफैं गरेका हुन्।
थापाको योजना बागलुङ नगरपालिका–६, ७, ८ र ९ लाई सुन्तला उत्पादनको मुख्य क्षेत्र बनाउने हो। त्यसका लागि किसानलाई सहुलियत दरमा बिरुवा उपलब्ध गराउने तयारी गरिएको छ। 'बाँझो जमिन उपयोग गरेर व्यावसायिक सुन्तला खेती गर्न सकिन्छ,' उनले भने, 'गाउँमै उत्पादन बढाएर ट्रकका ट्रक सुन्तला बजार पठाउने सम्भावना छ।'
पाँच वर्षअघि म्याग्दीको भकिम्लीमा सानो नर्सरी सुरु गरेका उनले यस वर्ष त्यहाँको उत्पादनसहित लक्ष्यको करिब आधा बिरुवा बिक्री गर्ने बताएका छन्। आगामी वर्ष भने पञ्चकोट नर्सरीबाटै ४० हजार बिरुवा बजारमा पठाउने तयारी छ।
थापाले म्याग्दीको भकिम्लीमा चार जना साझेदारसँग १०० रोपनीमा सुन्तला, किवी र तरकारी खेती गर्दै आएका छन्। बागलुङको गौंडाकोटमा १५ रोपनी, म्याग्दीमा १०० रोपनी र पञ्चकोटमा पाँच रोपनी क्षेत्रफलमा उनका कृषि फर्म सञ्चालनमा छन्। यी तीनवटै फर्मलाई कृषि पर्यटनसँग जोड्ने योजना पनि उनले बनाएका छन्। धार्मिक पर्यटकको चहलपहल बढिरहेको पञ्चकोटलाई केही वर्षमै कृषि पर्यटनको गन्तव्य बनाउने उनको लक्ष्य छ।
२०५७ सालदेखि व्यावसायिक कृषिमा सक्रिय थापा २०७२ सालमा नेपाल सरकारबाट पहिलो किसान परिचयपत्र प्राप्त गर्ने किसानसमेत हुन्। उनी आबद्ध मिर्मिरे कृषि सहकारी संस्थामा हाल २५० भन्दा बढी किसान सदस्य छन्।
