मनाङतर्फ अत्यावश्यकबाहेक यात्रा नगर्न प्रशासनको आग्रह

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मनाङका प्रायः ठाउँमा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ ।

श्रावण ३, २०८३

आश गुरुङ

Administration urges people not to travel to Manang unless absolutely necessary

लमजुङ — जिल्ला प्रशासन कार्यालय मनाङले अनावश्यक रुपमा यात्रा नगर्न पर्यटक र स्थानीयवासीलाई सचेत गराएको छ ।

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने मनाङका प्रायः ठाउँमा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले केही दिन भारी वर्षाको सम्भावना रहेको भन्दै पूर्वसूचना जारी गरेको र मनाङमा वर्षा भइरहेपछि प्रशासनले सूचना जारी गर्दै सर्वसाधारण र पर्यटकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

वर्षाका कारण मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे–खाङसार सडक र ग्रामीण सडकहरुमा बाढीपहिरोले क्षति पुर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार बाढी–पहिरोको उच्च जोखिमलाई ध्यानमा राख्दै पदयात्राका पर्यटक र स्थानीयलाई सचेत गराइएको हो ।

वर्षाका कारण मर्स्याङ्दी, नार खोला, दूध खोला, डोना खोला, ठाडा खोलालगायतका खोलामा पानीको सतह बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ । बेंसीसहर–चामे–खाङखार सडक तथा ग्रामीण भेगका सडक पहिरोको उच्च जोखिममा रहेकाले विशेष सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

उनका अनुसार सम्भावित विपद्लाई मध्यनजर गर्दै सुरक्षा निकायहरुलाई तयारी अवस्थामा राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको ‘क्वीक रेस्पोन्स टीम’लाई तयारी अवस्थामा रहन र मातहतका युनिटहरुलाई तत्काल परिचालन हुने गरी व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ । साथै, स्थानीय तह तथा विपद् व्यवस्थापन समितिहरुलाई पनि पूर्वतयारीमा जुट्न निर्देशन दिइएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully