अति भारी वर्षाको चेतावनीपछि लमजुङ प्रशासनद्वारा उच्च सतर्कता अपनाउन आग्रह

लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढ्न थालेपछि प्रशासनले शनिबार अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

श्रावण २, २०८३

आश गुरुङ

Lamjung administration urges high alert after warning of very heavy rain

What you should know

लमजुङ — जिल्ला प्रशासन कार्यालय लमजुङले आगामी दुई दिन अति भारी वर्षाको सम्भावना रहेको भन्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

लगातारको वर्षाले जिल्लाका विभिन्न स्थानमा बाढी र पहिरोको जोखिम बढ्न थालेपछि प्रशासनले शनिबार अत्यन्त जरुरी सूचना जारी गरेको हो ।

शनिबार परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ शीरचौर र मनाङको नासों गाउँपालिका–१ तालडाँडामा बाढीपहिरोले सडक बगाएको थियो । सडक दिउँसो मात्रै सञ्चालनमा आएको थियो । जिल्लाका विभिन्न ग्रामीण सडकसमेत बाढीपहिरोका कारण क्षतिग्रस्त बनेका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको सूचनाका आधारमा जारी सूचनामा जल तथा मौसम विज्ञान विभागले साउन २ र ३ गते कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रमा अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद खनालका अनुसार भारी वर्षाका कारण आकस्मिक बाढी, पहिरो, भू–क्षय, नदी कटान र गेग्रान बहावको जोखिम उच्च रहने भएकाले नदी तथा खोलानालाको तटीय क्षेत्र, पहिरोको उच्च जोखिम भएका स्थान र सहरी क्षेत्रका डुबान प्रभावित क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।

शनिबार दिनभर जिल्लाका गाउँदेखि सहरसम्म अधिकांश स्थानमा वर्षा भएको थियो । मौसममा थप प्रतिकूलता आउन सक्ने पूर्वानुमानका बीच प्रशासनले सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक तथा सम्बन्धित सबै निकायलाई आवश्यक पूर्वतयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सम्भावित विपद्‌बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि सर्वसाधारणलाई मौसमको अद्यावधिक जानकारी लिन, अनावश्यक यात्रा नगर्न तथा जोखिमयुक्त स्थानबाट सुरक्षित रहन प्रशासनले अनुरोध गरेको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully