मध्यबिन्दु प्रादेशिक अस्पतालमा आइसीयू सेवा सुरु

अस्पतालले जटिल प्रकारको शल्यक्रियाका लागि अत्याधुनिक उपकरणसहितको कक्षबाट शुक्रबारदेखि सेवा सुचारु गरेको हो ।

श्रावण १, २०८३

नवीन पौडेल

ICU service begins at Madhyabindu Provincial Hospital

नवलपुर — कावासोती नगरपालिका–१६ स्थित मध्यबिन्दु प्रादेशिक अस्पतालले सघन उपचार कक्ष (आइसीयू, एनआइसीयू) र सुविधा सम्पन्न शल्यक्रिया कक्षको सुरुवात गरेको छ । 

यसअघि आइसीयू नहुँदा जटिल प्रकृतिका बिरामीलाई चितवन, काठमाडौं रिफर गरिँदै आएको थियो । प्रदेश सरकार र अस्पताल विकास समितिको समन्वयमा बालबालिकाको लागि एनआइसीयू, अन्य बिरामीका लागि सुविधा सम्पन्न उपकरण र दक्ष जनशक्तिसहित आइसीयू सेवा सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताए । 

अस्पतालले जटिल प्रकारको शल्यक्रियाका लागि अत्याधुनिक उपकरणसहितको कक्षबाट शुक्रबारदेखि सेवा सुचारु गरेको हो । ‘सामान्य प्रकारको शल्यक्रिया भए पनि सघन कक्ष आवश्यक हुने शल्यक्रिया गर्न सकिएको थिएन,’ अस्पताल सञ्चालक समिति अध्यक्ष बालकृष्ण घिमिरेले भने,‘अब भने नवलपुरका बिरामीलाई जिल्ला बाहिर जान नपर्ने गरेर सेवा बिस्तार गरेका छौं । यसले राजमार्गमा हुने दुर्घटना, सर्पदशंका बिरामी र प्रसूतिका महिला र नवजात शिशुका लागि सुविधा पुग्ने छ ।’

२०६४ सालमा स्थानीयले धनधान्याञ्चल गरेर मध्यबिन्दु स्मृति सामुदायिक अस्पतालको रुपमा सञ्चालन भएको यस अस्पतालले २०७५ सालमा १५ शय्याको दरबन्दीसहित जिल्ला अस्पतालको मान्यता पाएको थियो ।

बिरामीको अत्याधिक चापको कारण गण्डकी प्रदेश सरकारले यसलाई २०८१ मा प्रादेशिक अस्पतालमा रूपान्तरण गर्दै १ सय शय्यामा स्तरोन्नति गरेको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा यहाँबाट ९७ हजार भन्दा बढी बिरामीले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालले आगामी दिनमा शिक्षण अस्पतालको रुपमा विकास गर्दै लैजाने लक्ष्यसहित योजना बनाएको छ । 

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully