ढोरपाटनको प्राकृतिक आकर्षण जोगाउन कंक्रिटका संरचना बनाउन नहुने संरक्षणकर्मीहरु बताउँछन् ।
बागलुङ — सिकार आरक्ष क्षेत्रभित्र पर्ने ढोरपाटन उपत्यकामा संरचना निर्माणकालागि आरक्षको अनुमति लिनु पर्छ । ढोरपाटनदेखि बुकी जाने गरी यहाँको एकीकृत विकास कार्यालयले ढुंगा–माटोको पदमार्ग बनाउन पनि आरक्षको समन्वय अभावले बन्न सकेन ।
एकीकृत विकास कार्यालयले ढोरपाटनदेखि गार्पा छेडा हुँदै बुकीपाटन जाने पदमार्ग बनाउन राखेको बजेट खर्च गर्न आरक्ष, वन विभाग सहितका दर्जन सरकारी कार्यालय धाउनु परेको कार्यालय प्रमुख शिव शर्माले बताए । पर्यटकलाई सहजै गन्तव्यमा पुग्न काठको पुल, ढुंगामाटोको पैदल सिँढी बनाउन खोज्दा अनुमति नदिएको आरक्ष कार्यालयबाट दायाँबायाँका होटल भने कंक्रिट र ढलानका बनेका छन् ।
तिब्बती शरणार्थी क्याम्पमा पनि होटल बनाउने भन्दै पक्की घर बनिरहेको छ । ढोरपाटन उपत्यकामा अहिले ४० भन्दा बढी होटल संचालनमा आएका छन् भने केही होमस्टे पनि छन् । होमस्टे राखेका घरदेखि होटल पनि ढलान गरेर बनाइएको छ । आधाजसो सिमेन्ट प्रयोग गरेर बनेका ढलान घर बनेको स्थानीय होटल व्यवसायी शिव कँडेलले बताए ।
ढोरपाटनमा निर्माणाधीन अस्पताल पनि कंक्रिटकै छ । ऐतिहासिक र धार्मिक स्थान ढोरबराह मन्दिर परिसरमै दुई वटा कंक्रिटका घर बनेका छन् । नजिकमा ढलान गरेका घर बनाउने तीब्र प्रतिस्पर्धा चलिरहेको छ । ढोरबराह मन्दिर परिसरका घर बनाउन त नगरपालिकाले अनुदान नै दिएको हो । ती घरलाई स्टोर र पूजारी बस्ने बनाइएको ढोरबराहका पुजारी चामबहादुर थापाले बताए । उपत्यका छिर्ने गेटमा सेनाको चेकपोष्ट र आरक्षको प्रवेशद्वार छ । ती संरचना पनि आरसीसी बनाइएको छ ।
स्थानीयले भने उत्तरगंगाको बालुवा खनिखोस्री गरेर उठाउन नपाएको गुनासो गरे । त्यतिमात्र होइन, दैनिक उपभोग्य सामाग्री अर्न्तगत घाँस, दाउरा निकाल्न नपाएको समेत स्थानीयको गुनासो आइरहन्छ । ‘हामीले जथाभावी उत्खनन् रोकेका हौं, अत्यावश्यक सामग्रीका लागि आरक्षले उठाएर शुल्कसहित दिन्छ,’ आरक्षका सूचना अधिकारी सागर सुवेदीले भने, ‘यहाँको मौलिक पनि बिग्रन नदिने भनेरै हामीले जे पायो त्यो उठाउन नदिएका हौं ।’ तर ढलान गरेका घर नबनाउन सुझाएको उनले बताए ।
ढोरपाटनको प्राकृतिक आकर्षण जोगाउन यहाँ कंक्रिटका संरचना बनाउन नहुने संरक्षणकर्मीहरु बताउँछन् । ‘ढोरपाटन हामीले बनाएर बन्ने होइन, यो प्राकृतिक सम्पत्ति हो, जोगाउने काम मात्र हाम्रो हो,’ एकल यात्री सिर्जना ओलीले भनिन्, ‘जलवायु परिवर्तनले असर परिरहेको बेला आरक्षभिक्र कंत्रिटका भवन बनाउने काम राम्रो होइन ।’ यो नगरपालिका र आरक्षले तत्काल रोकेर मौलिक परम्परागत घर बनाउन अनुमति दिनुपर्ने उनले बताइन् ।
ढोरपाटनमा परम्परागत रुपमा ढुंगामाटोको घर, काठका फल्याकले छाउने चलन छ । खोल्साखोल्सीमा पनि काठका सानासाना पुलपुलेसा राखिन्छ । पशु चरन गर्ने, यहाँको घाँस नकाट्ने चलन पनि छ । आलुमा कम्पोष्ट मल मात्रै राख्ने, रसायनिक मल भिक्रन नदिने जस्ता धेरै त्रियाकलाप संचालनमा छन् । ३ हजार मिटर उचाइको ढोरपाटनवासीले अहिले पनि आँटो, ढिडो खान्छन् । लेकाली भेडा र गाई पाल्ने स्थानीयले बजारबाट ल्याएको सामान खासै उपयोग गर्दैनन् । स्थानीय दुध र घिउको धेरै उपयोग गरिन्छ । लोकल कुखुराबाहेक बोइलरलगायतका विकासे जातको बस्तु ल्याउने चलन नभएको स्थानीय भूमिराज विकले बताए ।
पक्की संरचना बनिरहेको ढोरपाटनमा नगरपालिकाले भने चासो दिएको छैन । ‘अहिलेसम्म ढोरपाटन नगरपालिकाको स्थानीय भवन निर्माण मापदण्ड बनेको छैन,’ इन्जिनियर बुद्धि राना मगरले भने, ‘मापदण्ड बनेपछि मात्र नगरले स्थानीय मापदण्डमा कडाइ गर्न सक्छ ।’ अहिले संघीय मापदण्डमात्रै लागु छ ।’ तर नगरपालिकाले अहिले मापदण्ड बारे वास्ता नगर्दा धमाधम मापदण्ड बिपरीत हुने खालका र मौलिकता लोप गर्ने घर बनिरहेका हुन् ।
अर्का इन्जिनियर ध्वज साउँदले डेढ वर्षदेखि घरहरुको अद्यावधिक काम पनि रोकिएको बताए । स्थानीय सरकार बन्नुअघिनै ठडिएका घरहरुको नक्सापास गराउने, मापदण्डमा समायोजन गराउने लक्ष्य भए पनि नगरले काम नगरेको हो । ‘आगामी वर्ष मापदण्ड बन्यो भने हामीले कडाइ गरौंला भन्ने छ,’ उनले भने, ‘अहिले त धमाधम घर बनिरहेका छन्, केही भन्न सकिएको छैन ।’ बुर्तिवाङ बजार त कंक्रिटले भरिइसकेको छ । त्यसबाहेक वडा ५ को सहीखोला, ७ को बोबाङ गाउँ, ढोरपाटन उपत्यका समेतमा धमाधम कंक्रिटका घर ठडिएका हुन् ।
आरक्षले भने प्लाष्टिक जन्य पदार्थ फाल्न रोक लगाउने, पदमार्गमा सिमेन्टका संरचना बनाउन रोक लगाए पनि व्यक्तिगत घर बनाउँदा केही बोलेको छैन । आरक्ष कार्यालयकै नजिकमा पनि यस्ता घर देख्न सकिन्छ । ढोरपाटनलाई मौलीक शैलीमा राख्न नसके पर्यटक बढाउन नसकिने, वातावरण परिवर्तन भएर गर्मी बढ्ने स्थानीयलाई चिन्ता छ । ‘यो उपत्यका हरियाली र मौलीक रुपमै छाड्नुपर्छ, अन्यथा पर्यटक किन आउने भन्ने प्रश्न पनि रहन्छ,’ नेपाल ट्रभल एण्ड ट्रेकिङ एजेन्सी (टान) नेपालका गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद आचार्यले भने, ‘पर्यटकले सुविधा खोज्छन्, तर कंक्रिटका घर होइन ।’ स्थानीय काठ र ढुंगाकै घरमा मौलिकता दिन सकिने उनले बताए ।
आरक्षको अनुमति लिएर यहाँ वर्षभरीमा ३० देखि ३५ हजार पर्यटक घुम्न जाने गरेका छन् । यो क्रम बढ्दो छ । तर उनीहरु पुग्दा गरिने फोहोर व्यवस्थापनको चुनौती मानेको आरक्ष र नगरपालिकाले कंक्रिटका घर निर्माणमा भने रोक लगाउन नसकेका हुन् । मौलिकता र आतिथ्यता दिन सकेमा ढोरपाटनमा वर्षमा एक लाखसम्म पर्यटक भित्र्याउन सकिने र सो कार्यकालागि होमस्टेहरु विकास गर्न सकिने स्थानीय रमिता पुनले बताइन् । पर्यटक रमाउनकालागि हरियाली कायम राख्ने, पदयात्रा गर्ने र स्थानीय परिकार नै खाने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
ढोरपाटनका नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले ढोरपाटनको मौलिकता जोगाएर एकीकृत बस्ती विकास गर्ने, बिकासका योजनाहरु ढोरपाटनमा केन्द्रीत गर्ने र ढोरपाटनलाई मौलिक शैलीको पर्यटकीय हब बनाउन पहल गर्ने बताए । कंक्रिट प्रयोगलाई भने प्रयोग नगर्न उनले पनि सुझाव दिएका छन् । बरु ढोरपाटन पुग्ने सडक स्तरीय बनाउन स्थानीयको माग छ । सालझण्डी–ढोरपाटन सडक आयोजना कार्यालयले पटक–पटक यहाँ समयमा काम नगर्दा वर्षातमा पर्यटकले सास्ती खेप्ने गरेका छन् । १६ वर्ष अघिदेखि सुरु भएको आयोजना अहिले पनि पूरा भएको छैन ।
