सुन लुट्न साथीको हत्या : प्रहरी

जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार भेटघाट गरी घटनामा संलग्न भएको अभियोगमा लमजुङको दोर्दी गाउँपालिका-१, ढोकेका ३० वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको जनाएको छ ।

असार ३१, २०८३

आश गुरुङ

Murder of friend to steal gold: Police

लमजुङ — लमजुङमा एक साताअघि मृत फेला परेका ५७ वर्षीय बृद्धिबहादुर बोहराको सुन लुट्ने उद्देश्यले आफ्नै साथीबाट हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङले बुधबार पत्रकार भेटघाट गरी घटनामा संलग्न भएको अभियोगमा लमजुङको दोर्दी गाउँपालिका-१, ढोकेका ३० वर्षीय विजय लामिछानेलाई पक्राउ गरेको जनाएको छ । उनले आफ्ना साथी बेंसीसहर नगरपालिका-२, बोहराबेंसी स्थायी घर भई हाल बेंसीसहर-८, तामाङ टोल बस्ने बोहराको हत्या गरेको प्ररम्भिक अनुसन्धाबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बोहराको शव असार २५ गते बिहान बेंसीसहर-१, आकाशेडाँडा माथि भीरपानी सामुदायिक वनमा फेला परेको थियो । उनी असार २१ गते बिहानदेखि हराएका थिए ।

लामिछानेले बोहराको हत्या गरेको र हत्यापछि उनीबाट लुटिएको सुनको सिक्री र औंठी गरी करिब साढे २ तोलाको सुन बिक्री गरेकोमा सुन किन्ने चितवनको भरतपुर महानगरपालिका-२१, पार्वतीपुरमा मौलाकालिका सुनचाँदी पसल सञ्चालन गरी बस्ने ४३ वर्षीय दिपक विश्वकर्मालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पार्वतीपुर समेत घर रहेका लामिछाने र विश्वकर्मा चिनाजानेका रहेको खुलेको छ ।

Murder of friend to steal gold: Police

जिल्ला प्रहरी प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले लामिछाने र विश्वकर्मालाई मंगलबार पक्राउ गरिएको र जिल्ला अदालतबाट बुधबार ५ दिनको म्याद थप गरी दुवैजनालाई थप अनुसन्धानसहित कारबाही प्रक्रिया अघि बढाएको बताए । जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले पक्राउ गरिएका दुवैजनाविरुद्ध ज्यानसम्बन्धी कसुरको कर्तव्य ज्यान र चोरी मुद्दामा अनुसन्धान प्रक्रिया अघि बढाएको बताए । लामिछानेलाई शव फेला परेको अघिल्लोदिनै नियन्त्रणमा लिइएको थियो । सोधपुछ गर्दा सुरुमा लामिछानेले घटना अस्वीकार गरेका थिए । पछिल्लो समय घटना स्वीकारेसँगै उनलाई छाडेर पुनः पक्राउ गरिएको थियो । उनकै बयानका अधारमा सुनचाँदी पसलका सञ्चालक विश्वकर्मालाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

डीएसपी बस्नेतका अनुसार लामिछाने र बोहरा मिल्ने साथी हुन् । ‘दुवैजना एकदमै मिल्ने साथी । जहाँ पनि जाने, रातभर सँगै पनि बस्ने,’ उनले भने, ‘घटनाको दिन पनि दुवैजना दिनभरि भोटेओडारमा बसेछन् । दुवैजना आकाशेडाँडा कटेर गाइखुरे आएछन् । लामिछानेकै आग्रहमा जंगलतर्फ गएछन् । त्यसपछि आर्थिक समस्याका कारण सुनमा लोभ लागेर लामिछानेले चिलाउनेको रुख भाँचेर बोहरालाई प्रहार गरेछन् । सिक्री र औठी लुटेछन् ।’

सोही दिन चितवन गएर सुन बिक्री गरी ६ लाख ४४ हजार कबोलेकोमा ४४ हजार तत्काल दिएर ६ लाख रुपैयाँ केही दिनमा दिने शर्तमा सुन खरिद बिक्री भएको खुलेको प्रहरीले जनाएको छ । 

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully