अतिक्रमित वन क्षेत्रका संरचना स्थानीय आफैँले हटाए

संरचना हटाएर बाह्रकिलो क्षेत्रमा तारबार गरेर संरक्षण गर्ने वन कार्यालयको तयारी ।

असार ३१, २०८३

हरिराम उप्रेती

Locals themselves removed structures in encroached forest areas

गोरखा — वन क्षेत्र अतिक्रमण गरी बनाइएका गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजारका टहरा स्थानीय आफैँले हटाउन थालेका छन्।

डिभिजन वन कार्यालय गोरखाले असार ३० गतेभित्र अतिक्रमित जग्गाका संरचना हटाउन आग्रह गरेको थियो। वन कार्यालयको निर्देशनअनुसार स्थानीय आफैँले मंगलबार दिनभर टहरा हटाउन थालेका हुन्।

बाह्रकिलोका टहरा हटाएसँगै उक्त क्षेत्रमा तारबार गर्ने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले बताए। ‘बाह्रकिलोका टहरा स्थानीय आफैँले आज दिनभर हटाउनुभएको जानकारी पाएका छौं। केही बाँकी भए भोलि पनि हटाउन भन्छौँ, नत्र बाँकी केही संरचना रहे कार्यालयले भोलि नै हटाएर पूरा खाली गर्छ,’ उनले भने। उक्त क्षेत्रमा तारबार गर्ने पनि कार्यालयको तयारी छ।

‘स्थायी हुने खालले तारबार गरेर संरक्षणको काम सुरु गर्छौं,’ उनले भने, ‘सम्भवतः भोलिबाटै तारबार गर्ने काम सुरु हुन्छ।’ पहिलो चरणमा बाह्रकिलोका टहरा हटाएको र अब क्रमैसँग वन क्षेत्र अतिक्रमण गरी बनेका संरचना हटाउने पनि उनले बताए।

बाह्रकिलोका टहरा हटाउन ओखले पाखा सामुदायिक वन उपभोक्ता समूहले असार ७ गते १३ गतेसम्मको समयसीमा तोक्दै अतिक्रमित क्षेत्र खाली गर्न निर्देशन दिएको थियो। यसअघि स्थानीयले अटेरी गरेका थिए। अघिल्लो बुधबार पुनः डिभिजन वन कार्यालय गोरखाले असार ३० गतेभित्र संरचना हटाउन निर्देशन दिएको हो। कार्यालयले दिएको समयसीमामा भने स्थानीय आफैं अतिक्रमित क्षेत्रका संरचना हटाउन अग्रसर बनेका हुन्।

वन ऐन, २०७६ बमोजिम राष्ट्रिय वन क्षेत्रमा निषेधित कार्य गरेको पाइएकाले वन क्षेत्रको जग्गा खाली गरिएको उनले बताए। बारपाक सडकको प्रवेशद्वार बाह्रकिलो बजारमा ओखले पाखा सामुदायिक वन उपभोक्ता समूहको जग्गाभित्र ३० भन्दा बढी टहरा छन्।

दुई दशकअघिबाट बाह्रकिलोको वन क्षेत्रको जग्गामा पक्की संरचना निर्माण गरी पसल व्यवसाय सञ्चालन हुँदै आएको छ। बाह्रकिलो बजारमा वन क्षेत्र मिचेर बनाइएको पक्की संरचना भने २०७३ सालमा पनि हटाइएको थियो। तत्कालीन समयमा पक्की संरचना हटाइए पनि पुनः टहरा बनाएर बाह्रकिलोमा पसल व्यवसाय सञ्चालन हुँदै आएको छ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully