नदीको सतह लगातार बढ्दै गएपछि धार्मिकस्थल मात्र नभई नजिकै रहेको सेतीवेणी बजारसमेत डुबानको उच्च जोखिममा परेको छ ।
पर्वत —
पर्वत र स्याङ्जाको संगमस्थल सेतीवेणीमा अवस्थित धार्मिक एवं पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण शालिग्राम शिला डुबानमा परेको छ । दुई दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण कालीगण्डकी नदी र त्यसमा मिसिने सेती खोलामा बाढी आउँदा शालिग्राम शिला पूर्ण रूपमा डुबानमा परेको हो ।
शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा नियमित पूजापाठ गर्दै आएका पुजारी तथा पण्डितहरू विस्थापित भएका छन् । पवित्र शालिग्राम क्षेत्रमा रहेका सत्तल, धर्मशाला तथा शिला संरक्षणका लागि बनाइएको तटबन्ध र ग्याबिन जालीसमेत बगाएको छ । बाढी र तीव्र बहावका कारण भक्तजनहरूलाई शालिग्राम शिलाको दर्शन र परिक्रमा गर्न जान रोक लगाइएको छ ।
नदीको सतह लगातार बढ्दै गएपछि धार्मिकस्थल मात्र नभई नजिकै रहेको सेतीवेणी बजारसमेत डुबानको उच्च जोखिममा परेको छ । स्याङ्जा र पर्वततर्फ फैलिएको यस बजार क्षेत्रमा विद्यालयसहित २०० भन्दा बढी घरधुरी रहेका छन् । बाढी बस्तीमा पस्ने डरले स्थानीय बासिन्दा रातभर जाग्राम बस्न बाध्य छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन पटेलका अनुसार सेतीवेणी क्षेत्रलगायत विभिन्न खोला तथा नदीहरूमा बाढी पहिरोको जोखिम बढेकाले स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जोखिम जुनसुकै बेला आउन सक्ने भएकाले प्रहरीले नदी तटीय क्षेत्रमा निगरानी बढाएको छ ।
स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले यो संकटको मुख्य कारण कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजना भएको आरोप लगाएका छन् । विहादी गाउँपालिका–६ का वडाध्यक्ष मनबहादुर बस्यालका अनुसार परियोजना निर्माण हुनुअघि शालिग्राम शिला कालीगण्डकी नदीभन्दा करिब १०० मिटर पर गुल्मीको बाटो भएर बग्ने गर्थ्यो र हिउँद–बर्खा सधैं सुरक्षित रहन्थ्यो ।
‘अहिले विराट शालिग्राम हो भन्दा नपत्याउने स्थिति भएको छ । हिउँदमा पनि शिलाको माथिल्लो केही भाग मात्र देख्न सकिन्छ । नदी छेउछाउका बस्ती विस्थापित भइसकेका छन् र बजारवासी डरैडरमा बाँच्नु परेको छ,’ उनले भने ।
सेतीवेणीभन्दा करिब ७ किलोमिटर तल कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना (१४४ मेगावाट) को बाँध निर्माण गरिएको छ । बाँधका कारण नदीले बगाएर ल्याउने ठुला ढुंगा, गिट्टी र बालुवा बाँधभन्दा माथिल्लो क्षेत्रमा थुप्रिँदै गएका छन्, जसले गर्दा हरेक वर्ष नदीको सतह माथि उठिरहेको छ । परियोजनाले नदीजन्य सामग्री सफा गर्ने प्रतिबद्धता जनाए पनि त्यसको कार्यान्वयन नगर्दा सिंगो ऐतिहासिक बजार र शिलाको अस्तित्व नै नामेट हुने खतरा बढेको स्थानीय डिल्लीराम भुसाल र अर्जुन न्यौपानेले बताए ।
स्थानीय बासिन्दाले राज्यले नदीमा थुप्रिएका ढुंगा–बालुवा निकालेर आम्दानीको स्रोत बनाउनुपर्ने र शालिग्राम शिलाको अस्तित्व रक्षाका लागि तत्काल ठोस कदम चाल्नुपर्ने माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित १४४ मेगावाट क्षमताको कालीगण्डकी जलविद्युत् परियोजनाको निर्माण २०५४ मा सुरु भई २०५९ सालदेखि विद्युत् उत्पादन हुँदै आएको छ ।
