कार्यालयका अनुसार खानेपानी योजना तथा उपभोक्ता समितिबाट वितरण गरिएका खानेपानीको धारामै ई–कोलाईको मात्रा १०० वा सोभन्दा बढी भेटिएका छन् ।
लमजुङ — लमजुङका खानेपानी स्रोत तथा उपभोक्ताको धारामा वितरण भइरहेको पानीमा दिसाजन्य सूक्ष्मजीव (ई–कोलाई) भेटिएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालयले ८ वटै पालिकामा गरेको खानेपानी गुणस्तर परीक्षणमा मुहानसहितका स्रोतबाट संकलित नमुनादेखि उपभोक्ताको धारासम्म पुगेको पानीमा समेत ई–कोलाईको उच्च संक्रमण देखिएको हो ।
कार्यालयका अनुसार खानेपानी योजना तथा उपभोक्ता समितिबाट वितरण गरिएका खानेपानीको धारामै ई–कोलाईको मात्रा १०० वा सोभन्दा बढी भेटिएका छन् ।
कार्यालयको प्रतिवेदनअनुसार मुहान, धारा तथा अन्य खानेपानी स्रोतबाट संकलित १२९ वटा नमुनामध्ये ९८ वटा (७६ प्रतिशत) मा ई–कोलाई भेटिएको छ । ३१ वटा (२४ प्रतिशत) नमुनामा मात्रै ई–कोलाई शून्य छ । उपभोक्ताको धाराबाट संकलित ८६ वटा नमुनामध्ये ७० वटा (८१ प्रतिशत) मा ई–कोलाई भेटिएको छ । १६ वटा (१९ प्रतिशत) नमुना मात्रै सुरक्षित पाइएको छ । प्रतिवेदन अनुसार मुहानभन्दा वितरण प्रणालीमा पुगेपछि पानी थप दूषित हुने अवस्था देखिएको छ ।
कुल परीक्षणअन्तर्गत बेंसीसहर नगरपालिकामा ३१ वटा नमुना परीक्षण गरिएकोमा २४ वटामा ई–कोलाई पाइएको छ । सुन्दरबजार नगरपालिकामा २८ वटा नमुना परीक्षण गरिएकोमा २० वटामा ई–कोलाई, मध्यनेपाल नगरपालिकामा १५ वटामा गरिएको नमुना परीक्षणमा ११ र राइनासमा १० वटामा गरिएको नमुना परीक्षणमा ५ वटामा ई–कोलाई पाइएको छ ।
मर्स्याङ्दी गाउँपालिकामा ११ वटा नमुना परीक्षण गरिएकोमा ९, दोर्दीमा ११ वटा गरिएकोमा ८, दूधपोखरीमा ८ वटा गरिएकोमा ८ वटै र क्व्होलासोथारमा १५ वटा नमुना परीक्षण लिइएकोमा १३ वटामा ई–कोलाई भेटिएको छ ।
वितरण गरिएको पानी परीक्षण अन्तरगत सदरमुकामसमेत रहेको बेंसीसहर नगरपालिकामा १७ वटा नमुना परीक्षणमा १५ वटामा ई–कोलाई पाइएको छ । सुन्दरबजारका ९ मध्ये ८, मध्यनेपालका ८ मध्ये ७, राइनासका १० मध्ये ५ साथै मर्स्याङ्दी गाउँपालिकाका १० मध्ये ८, दोर्दीका ११ मध्ये ८, दूधपोखरीका ६ मध्ये ६ नै र क्व्होलासोथारका १५ मध्ये १३ नमुनामा ई–कोलाई भेटिएको छ ।
कार्यालयका ल्याव टेक्निसियन निरीक्षक निरोज कुमार श्रेष्ठका अनुसार खानेपानीका केही योजना, स्रोत र वितरित धारामा ई–कोलाईको मात्रा १०० वा सो भन्दा बढी भेटिएका छन् । बेंसीसहर नगरपालिका १०, बेंसी भाच्चोकस्थित डाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको खानेपानी र सदरमुकाम बेंसीसहरमा रहेको परम्परागत गैरी धारामा ई–कोलाईको मात्रा १०० वा सो भन्दा बढी भेटिएको छ । बेंसीसहरको गैरीधारा खानेपानीका लागि दिनहुँ उपभोक्ताको भीड लाग्ने ठाउँ हो ।
यस्तै सुन्दरबजार, मध्यनेपालमा र राइनास नगरपालिकाका २/२ वटा खानेपानी स्रोतमा ई–कोलाईको मात्रा १०० वा सो भन्दा बढी भेटिएका छन् । मर्स्याङ्दी, दोर्दी र क्व्होलासोथारमा १/१ र दूधपोखरी गाउँपालिकाका ४ वटा खानेपानी स्रोतमा ई–कोलाईको मात्रा १०० वा सो भन्दा बढी देखिएको ल्याव टेक्निसियन निरीक्षक श्रेष्ठले बताए ।
प्रदेश अस्पताल लमजुङका मेडिकल अधिकृत डा. अम्बिका दवाडीका अनुसार पानीको स्रोतमा ई–कोलाई भेटिनु दिशाजन्य प्रदूषण रहेको भन्ने बुझिन्छ । प्रदुशित पानीको सेवनले झाडापखाला, हैजा, टाइफाइड, आउँ, हेपाटाइटिस ‘ए’ र ‘ई’ लगायतका पानीजन्य रोग फैलिने जोखिम उच्च हुने उनी बताउँछन् । त्यतिमात्रै नभई बान्ता हुने, जुका पर्ने, पिसावको इन्फेक्सन गराउने, निमोनिया समेत गराउने उनले बताए । यसले खासगरी वृद्धवृद्धा र बालबालिकालाई बढी समस्यामा पर्छ ।
‘म २ वर्षअघि आउँदा नै बेंसीसहरको शीतलपाटी र गैरीधाराको पानी असुरक्षित देखिएको थियो । यी परम्परागत खानेपानीका धाराको पानी उपभोक्ताले उपभोग गर्ने गरेका छन् । आकाशे पानी पर्ने सिजनमा झन् धेरै प्रदूषित हुन्छ’ ,उनले भने, ‘सकेसम्म यहाँको पानी उपभोग नगर्ने र गर्नै परेमा उमालेर वा शुद्धीकरण गरेरमात्रै गर्ने गर्न आवश्यक छ ।’ उनले खानेपानी उमालेर वा उपयुक्त विधिबाट शुद्धीकरण गरेर मात्रै उपभोग गर्नुपर्ने बताए । ‘कतिपय प्रदूषित खानेपानीबाट बिरामी भइरहेका हुन्छन् । बिरामी भइहालेमा स्वास्थ्य संस्थामा पुग्नुको विकल्प छैन । सुरुमा जीवनजल पानी खानु राम्रो हुन्छ,’ उनले भने ।
