आइतबार किम्रुङ खोलामा आएको बाढी मोदी खोलामा पसेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउलीबजारमा २ रेस्टुरेन्ट बगाउनुका साथै सडक कटान गरेको थियो ।
पोखरा — मोदी खोलाको बाढीले सडक कटान गर्दा आइतबारदेखि अवरुद्ध वीरेठाँटी–घान्द्रुक सडक एकतर्फी सञ्चालनमा आएको छ । किम्रुङ खोलामा आएको बाढी मोदी खोलामा पसेपछि कास्कीको अन्नपूर्ण गाउँपालिका–८ स्याउलीबजारमा २ रेस्टुरेन्ट बगाउनुका साथै सडक कटान गरेको थियो ।
सडक कटानपछि पोखरा फर्कने पर्यटक र स्थानीय घान्द्रुकतर्फको स्याउलीबजारमा रोकिएका थिए ।तीमध्ये भारतीय, विदेशी र आन्तरिक पर्यटक थिए । सोमबार कास्कीका प्रमुख जिल्ला अधिकारी कुमामनसिंह गुरुङको नेतृत्वमा जिल्ला सुरक्षा समितिका पदाधिकारी स्याउलीबजार पुगेर अस्थायी रुपमा सडक सञ्चालन गर्न पहल थिए ।
जिल्ला सुरक्षा समिति, अन्नपूर्ण गाउँपालिका, अपर मोदी जलविद्युत आयोजना, एक्यापलगायतको प्रयासले बाटो सञ्चालनमा आएको हो ।घान्द्रुकबाट पोखरा फर्किने ३ बस, १३ जिप, ४ ट्याक्सी र ७ मोटरसाइकल स्याउलीबजारमा १०० भन्दा बढी यात्रु रोकिएकोमा बाटो खुलेसँगै गन्तव्यतर्फ फर्किएका छन् ।
हाललाई अस्थायी रुपमा सडक सञ्चालनमा ल्याएको र मोदी खोलाको पानीको बहाव घटेपछि सडक मर्मत गरी दोहोरो यातायात सञ्चालन गर्ने प्रमुख जिल्ला अधिकारी गुरुङले बताए ।
