बाँझो जमिनमा ड्रागन फलाउँदै तीन युवा

बेंसीसहर–१० मा बाँझो जमिनमा सुरु भएको ड्रागन फ्रुट खेतीले उत्पादन, रोजगारी र कृषि पर्यटनमा नयाँ सम्भावना देखाएको छ।

असार २७, २०८३

आश गुरुङ

Three youths cultivating dragon fruit on barren land

What you should know

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिका–१० खासुरस्थित मर्स्याङ्दी नदी किनारमा दुई दशकदेखि बाँझो रहेको जमिन अहिले राताम्य ड्रागन फ्रुटले ढाकिएको छ। विदेश जानुभन्दा गाउँमै कृषि गरेर भविष्य खोज्ने तीन युवाको पहलले उजाड जमिन अहिले उत्पादन, रोजगारी र कृषि पर्यटनको केन्द्र बन्दै गएको हो।

‘बाहिरबाट हेर्दा यस्तो काँडैकाँडा बोटमा यति गुलियो फल लाग्ला भन्ने कल्पनै गरेको थिइनँ,’ बेंसीसहर–१० का इन्द्रबहादुर घले आगन्तुकलाई ड्रागन फ्रुट चखाउँदै भन्छन्। राताम्य बोक्रा चिरेर भित्रको गाढा रातो गुदी मुखमा हाल्नेबित्तिकै मिठास फैलिन्छ। फार्ममा पुग्ने अधिकांशले पहिलो पटक यहीँ ड्रागन फ्रुटको स्वाद चाख्ने गरेका छन्।

बेंसीसहरबाट मनाङ जाने सडकअन्तर्गत बेलौती बिसौना पार गरी मर्स्याङ्दी नदीमाथिको झोलुङ्गे पुल तरेपछि पुगिने गंगाडिलमा फैलिएको यो बगान अहिले आन्तरिक पर्यटकको आकर्षण बनेको छ। बिहान मर्निङ वाकमा आउनेदेखि ड्रागनका पारखीहरूसम्म यहाँ पुग्ने गर्छन्। धेरैजना पहिलेझैं तरभुजा खोज्दै आए पनि फर्कँदा ड्रागन फ्रुट बोकेर जाने गरेका छन्।

सुरुमा उनीहरूले गाउँको बाँझो जमिन लिजमा लिएर कागती खेती सुरु गरेका थिए। तर नदी किनारको चिस्यानका कारण कागती सफल भएन। त्यसपछि अकबरे खुर्सानी लगाए पनि चिचिलामै मृगले सखाप पारेपछि त्यो प्रयास पनि असफल भयो। लगातार दुई असफलतापछि उनीहरूले विकल्पका रूपमा ड्रागन फ्रुट रोजे।

तनहुँको दमौलीबाट ५० वटा ड्रागनका हाँगा ल्याएर खम्बामा रोपे। त्यहीँबाट नयाँ हाँगा विस्तार गर्दै अहिले पाँच सय खम्बामा ड्रागन फैलिएको छ। करिब २५० खम्बामा फल लागिसकेको छ भने यस वर्ष थप २५० खम्बा विस्तार गर्ने तयारी छ। यद्यपि निर्माणाधीन ५० मेगावाट क्षमताको दिव्यज्योति जलविद्युत् आयोजनाको पाइपलाइन त्यही क्षेत्रमा पर्ने भएपछि विस्तार योजना केही समय रोकिएको छ।

Three youths cultivating dragon fruit on barren land

गाउँको बाँझो जमिनमा केही गर्ने उद्देश्यले सुरुमा धेरै युवा जुटेका थिए। तर समयसँगै अधिकांश पछि हटे। अन्ततः इन्द्रबहादुर घले, रामबहादुर गुरुङ र योगबहादुर घले मात्र योजनामा अडिग रहे।

शंकरदेव क्याम्पसबाट एमबीएस उत्तीर्ण गरेपछि केही वर्ष सहकारीमा काम गरेका ३८ वर्षीय इन्द्रबहादुर २०७० सालदेखि कृषि पेसामै लागेका छन्। ४० वर्षीय रामबहादुर गुरुङ भने कतार र मलेसियामा करिब चार वर्ष बसे। मलेसियामै पहिलो पटक ड्रागन फ्रुट चाखेका उनले त्यहीँ यसको खेतीबारे जानकारी लिए। २०७३ सालतिर गाउँ फर्किएपछि विदेश नफर्किने निर्णय गर्दै कृषि पेसा रोजे।

योगबहादुर घले पाँच वर्ष दक्षिण कोरियामा बसेर २०७५ सालमा गाउँ फर्किएका हुन्। उनी पनि साथीहरूसँगै कृषि उद्यममा जुटेका छन्। तीनै जनाले २०७८ सालमा ‘मर्स्याङ्दी बीच एग्रो फार्म’ स्थापना गरे। गाउँलेको करिब ४० रोपनी बाँझो जमिन लिजमा लिएर झाडी फाँडे। हाल १५ रोपनी जमिन उपयोगमा ल्याइएको छ। त्यसमध्ये १० रोपनीमा ड्रागन खेती भइरहेको छ।

मर्स्याङ्दी नदी किनारको बलौटे माटो, करिब ७५० मिटर उचाइ र चिसो मौसम ड्रागन खेतीका लागि निकै उपयुक्त भएको उनीहरूको अनुभव छ। गत वर्ष पाँच क्विन्टल उत्पादन भएको फार्ममा यस वर्ष १५ क्विन्टलभन्दा बढी ड्रागन उत्पादन हुने अनुमान गरिएको छ। हालसम्म दुई क्विन्टल बिक्री भइसकेको छ भने थप पाँच क्विन्टल बिक्रीको तयारीमा छ। फार्मबाटै प्रतिकिलो ५०० रुपैयाँमा बिक्री हुने उनीहरू बताउँछन्।

रामबहादुरका अनुसार अहिले बेंसीसहरका होटल–रेस्टुरेन्टदेखि सर्वसाधारणसम्म नियमित ग्राहक बनेका छन्। ‘अहिले उत्पादन बेच्न कहाँ लैजाने भन्ने चिन्ता छैन,’ उनले भने। १० किलोभन्दा बढी खरिद गर्ने ग्राहकका लागि बेंसीसहरमा होम डेलिभरी तथा अन्य स्थानमा पनि ढुवानीको व्यवस्था गरिएको छ। असारको पहिलो सातादेखि फल्न सुरु हुने ड्रागनले कार्तिकसम्म उत्पादन दिने गर्छ।

तीनै जनाले सुरुमा प्रतिव्यक्ति तीन लाख रुपैयाँ लगानी गरेका थिए। अहिले फार्ममा करिब ३० लाख रुपैयाँ लगानी पुगेको छ। बाहिरी कामदार नराखी खेतीदेखि बजार व्यवस्थापनसम्म सबै काम उनीहरूले आफैं गर्दै आएका छन्।

ड्रागनसँगै उनीहरूले तरभुजा खेती पनि गरिरहेका छन्। गत वर्ष १० क्विन्टल र यस वर्ष १५ क्विन्टल तरभुजा बिक्री भएको छ। ड्रागन खेती विस्तार हुँदै जाँदा तरभुजाको क्षेत्र भने क्रमशः घट्दै गएको छ।

फार्मले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट जग्गा सम्याउन करिब ६ लाख रुपैयाँ अनुदान पाएको थियो। कृषि विकास कार्यालयबाट ड्रागनका खम्बा निर्माणका लागि ६१ हजार रुपैयाँ र बेंसीसहर नगरपालिकाबाट तरभुजा खेतीका लागि २४ हजार रुपैयाँ सहयोग प्राप्त भएको उनीहरू बताउँछन्।

सिँचाइका लागि नजिकै मर्स्याङ्दी नदीको सुविधा छ। जैविक मलको व्यवस्थापनका लागि उनीहरूले तीन वटा भैंसी पनि पालेका छन्। एउटी दुहुनो छ भने अर्को ब्याउने तयारीमा छ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully