कावासोती नगरपालिकाका सामुदायिक विद्यालयका विद्यार्थीले शिक्षकको सहयोगमा रोबोट, बायोग्यास र कागज उत्पादनजस्ता नवप्रवर्तनात्मक काम गर्दै आएका छन् ।
What you should know
नवलपुर — कावासोती नगरपालिका–१७ स्थित त्रिभुवन बाल माध्यमिक विद्यालयको सभाहलमा प्रवेश गर्ने बित्तिकै सुन्दर रोबोर्टले नमस्कार र स्वागत गर्दछ । झट्ट हेर्दा सुन्दर र मिठो स्वरबाट स्वागत गर्ने यो रोबोर्टको नाम राधा हो । यो रोबोर्ट यहाँका विद्यार्थी र शिक्षक आफैंले निर्माण गरेका हुन् ।
यसले विद्यार्थीमाझ रोबोटिक सम्बन्धी आकर्षण र नयाँ प्रविधितर्फ विद्यार्थीको आकर्षणलाई उजागर गरेको समृद्धि पोख्रेलले बताइन् । ‘टिभीमा मात्र देखेको रोबोर्ट कसरी बनाउने होला भन्ने विषयमा निकै उत्साहित थियौं । शिक्षकहरूको सहयोगमा एक महिना भन्दा बढी समय लगाएर रोबोर्ट निमार्ण गर्न सफल भयौं,’ उनले भनिन्,‘अब विद्यालय र सरकारी निकायबाट आर्थिक सहयोग भएमा हामीले यसलाई विद्यालयमा अध्यापननै गर्न सक्ने प्रविधिसहित बनाउने लक्ष्य रहेको छ ।’
कावासोती–१६ स्थित जनता माविका विद्यार्थीले विद्यालयमै कागज उत्पादन गरिरहेका छन् । पुराना कापी, किताबलाई संकलन गरेर, कागजलाई भिजाउने र निश्चित आकारको फर्मामा राखेर घाममा सुकाउने गर्दछन् । यसले पुराना कागजको पुनःप्रयोग, शैक्षिक सामग्री निर्माण र सजावटका सामान बनाउन सहज भएको शिक्षक सुरज परियारले बताए ।
कावासोती–११ को नेपाल राष्ट्रिय माविका विद्यार्थीले जैविक फोहोरबाट बायोग्यास उत्पादन गरेका छन् । विद्यालयका दिउँसोको खाजा पकाउँदा प्रयोग हुने तरकारीको बोक्रा तथा अन्य जैविक फोहोरको व्यवस्थापन गरेर बायोग्यास उत्पादन गरेका छन् । उक्त बायोग्यास उनीहरूकै खाजा पकाउनका लागि प्रयोग भएको छ ।
विद्यालयमा पाठ्यपुस्तक अध्ययन मात्र नभएर प्रयोगात्मक काम पनि सँगै गर्दा आविष्कार र नयाँ कामका लागि हौसला बढेको विद्यार्थी कुशल सुनारले बताए । ‘बायोग्यास बारेमा कक्षा ७ को पुस्तकमा पढेका थियौं । तर, व्यवहारमा थाहा थिएन,’ उनले भने,‘अहिले शिक्षकहरुको सहयोगमा बायोप्लान्ट नै निर्माण गरेका छौं । यसलाई हामीले आफ्नो घरमा पनि निर्माण गरेर प्रयोग गर्न सकिन्छ ।’
गण्डकी प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रम अर्न्तगत कावासोती नगरपालिकाले विद्यालयभित्र रहेका सामुदायिक विद्यालयमा ‘आविष्कार र उत्फादनको जग, मेरो विद्यालय’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यो कार्यत्रमले विद्यार्थीहरूमा प्रयोगात्मक सीप, ज्ञान र नयाँ काम गर्ने उत्साह बढाएको छ । अहिले भइरहेको यो कार्यक्रमलाई निरन्तरता दिने हो भने हरेक विद्यालयले आफ्नै स्रोतसाधनले प्रयोगात्मक सीपसँगै आम्दानी पनि गर्न सक्ने नगर शिक्षा समितिका सदस्य करुण लम्सालले बताए ।
शिव माविले विद्यार्थीको पिसाब संकलन गरेर जैविक मल बनाएर आफ्नै नर्सरीमा प्रयोग गरिरहेको छ । चण्डेश्वरी माविले इको पोन्ड निर्माण गरेर माछापालन गर्ने तयारीमा छ । सरस्वती मावि गोछडाले गड्यौला मल उत्पादन गरेर बिक्री वितरण गर्ने तयारी गरिरहेको छ ।
विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त पहलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर मात्र नभइ ब्यवहारिक शिक्षामा पनि विद्यार्थीको आकर्षण बढेको कावासोती नगरपालिकाका शिक्षा अधिकृत राजन पाण्डेले बताए । ‘शिक्षालाई सीप र उत्पादनसँग जोड्नका लागि यो कार्यक्रम सञ्चालन गरिरहेको र विद्यार्थीहरूले नवप्रवर्तनमा चासो देखाएका छन्,’ उनले भने,‘अहिलेको सुरुवाती चरणलाई निरन्तरता दिएर शिक्षासँगै आर्थिक आम्दानी र प्रविधिमैत्री बनाउने प्रयासमा छौं ।’ नगरभित्रका २३ वटा सामुदायिक विद्यालयले २३ वटा नवप्रवर्तन सम्बन्धी काम गरिरहेको उनले बताए ।
