अनलाइन परीक्षामा परीक्षार्थीले आफू उत्तीर्ण वा अनुत्तीर्ण भएको परीक्षा दिँदै थाहा पाउने छन् ।
What you should know
नवलपुर — पूर्वी नवलपरासीमा सवारी चालक अनुमति पत्रको लिखित परीक्षा अनलाइन माध्यमबाट लिन सुरु गरिएको छ । यातायात व्यवस्था कार्यालय कावासोतीले शुक्रबारबाट सेवाग्राहीको परीक्षा अनलाइनबाट लिन सुरु गरेको हो ।
अनलाइन प्रणालीको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात ब्यवस्था मन्त्री गोविन्दबहादुर नेपालीले उद्घाटन गरेका थिए । उद्घाटन गर्दै मन्त्री नेपालीले यातायात व्यवस्था कार्यालयको कामलाई प्रभावकारी बनाउन डिजिटल माध्यममा लैजाने काममा सरकार प्रतिबद्ध रहेको बताए ।
नेपालमै पहिलो पटक भनिएको अनलाइन प्रणालीको विकास यातायात व्यवस्था कार्यालय कावासोतीका कम्प्युटर अधिकृत प्रदीप सापकोटाले गरेका हुन् । अनलाइन परीक्षामा परीक्षार्थीले आफू उत्तीर्ण वा अनुत्तीर्ण भएको परीक्षा दिदादिँदै थाहा पाउने छन् ।
कसरी हुन्छ अनलाइन परीक्षा?
सवारी चालक अनुमति पत्र लिन चाहने ब्यक्तिले फारम भरेपछि सेवाग्राहीले आफ्नो निवेदनको संकेत नम्बर पाउँछन् । सोही अनुसार लिखित परीक्षाको मिति तोकिन्छ । यातायात कार्यालयले तोकेको परीक्षा केन्द्रमा पुगेपछि परीक्षार्थीलाई एउटा मोबाइल वा ट्याब्लेट उपलब्ध गराइने छ ।
कार्यालयले उपलब्ध गराएको डिभाइसमा आफ्नो रजिस्टर गरेपछि कुन वर्गको सवारी चालक अनुमति पत्र निकाल्ने हो सोही अनुसार परीक्षार्थीले छनोट गर्ने छन् । त्यसपछि आफ्नो संकेत नम्बर र फोटोसहितको आइडी राखेपछि प्रश्न र उत्तर छनौटका लागि विकल्पहरु देखाउने छ । एउटा प्रश्नको उत्तर छनोट गरेपछि अर्को प्रश्न आफैं देखाउने छ । यसरी सबै प्रश्नको उत्तर छनोट गरिसकेपछि दर्तामा क्लिक गर्नुपर्ने छ ।
एन्ड्रोइड एप्लिकेसनमा रहेको यो प्रणालीले सुरक्षा र विश्वसनीयताको लागि विभिन्न सावधानी अपनाएको छ । यातायात कार्यालयले तय गरेको उपकरणमा मात्र यसले काम गर्दछ । सेवाग्राहीले अरुलाई सोध्ने र उत्तर कही कतै खोजेर लेख्न सक्ने भन्दै यो एप्लिकेसन पुलपछि अडियो र भिडियो यातायात कार्यालयका कर्मचारीले हेर्न र सुन्न सक्ने छन् । कसैले मर्यादा बिपरित काम गरेमा तत्कालै कार्यालयबाट नै परीक्षा रद्द गर्न सकिने ब्यवस्था छ । रोबोट वा मानिसको फोटो अगाडि राखेर अरुले नै परीक्षा दिन सक्ने भन्दै एप्लिकेसनमा हेरेर आँखा चलाएपछि मात्र यसले काम गर्ने प्रविधि रहेको कार्यालयले जनाएको छ।
