चल्ला तथा अन्य जीवित पन्छी ओसारपसार गर्दा अनिवार्य दर्तावाल पशु चिकित्सकबाट जारी गरिएको भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र हुनुपर्नेछ ।
लमजुङ — बर्डफ्लु संक्रमण फैलिन नदिन लमजुङमा बाहिरी जिल्लाबाट कुखुरा वा कुखुराजन्य वस्तु भित्र्याउन प्रतिबन्ध लगाइएको छ ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङले बिहीबार सार्वजनिक अपिल जारी गर्दै अर्को सूचना नभएसम्म कुखुराको मासु, तयारी कुखुरा तथा अण्डा ओसारपसार नगर्न आग्रह गरेको हो ।
काठमाडौं उपत्यकाका ३ जिल्ला र काभ्रेपलाञ्चोकमा बर्डफ्लु पुष्टि भएपछि रोग लमजुङमा फैलिन नदिन कुखुरा र कुखुराजन्य वस्तु भित्र्याउन कडाइ गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका प्रमुख डा. सुनिल न्यौपानेले बताए । उनका अनुसार बर्डफ्लु रोग नियन्त्रण समितिको निर्णयअनुसार बाहिरी जिल्लाबाट कुखुराजन्य वस्तु भित्र्याउन रोक लगाइएको हो ।
उनले कुखुरामा रोग भए नभएको बारे नियमित रुपमा निगरानी गर्दै आएको बताए । ‘हालसम्म जिल्लामा बर्डफ्लु देखिएको छैन । तर भित्रन नदिन हामीले बाहिरी जिल्लाबाट प्रतिबन्ध नै लगाउनु परेको हो,’ उनले भने ।
कार्यालयका अनुसार चल्ला तथा अन्य जीवित पन्छी ओसारपसार गर्दा अनिवार्य रुपमा दर्तावाल पशु चिकित्सकबाट जारी गरिएको भेटेरिनरी स्वास्थ्य प्रमाणपत्र हुनुपर्नेछ । अण्डा राख्न प्रयोग भइसकेका कार्टुन तथा क्रेट पुनः प्रयोग नगर्न कार्यालयले आग्रह गरेको छ ।
कुखुराको फार्ममा प्रवेश गर्ने सवारीसाधनलाई नि:संक्रमण (डिसइन्फेक्सन) गरेपछि मात्र प्रवेश गराउन, जैविक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न तथा कागलगायत जंगली पन्छीसंग घरपालुवा कुखुराको सम्पर्क हुन नदिन आवश्यक व्यवस्था मिलाउन कार्यालयले कुखुरापालक किसानलाई अनुरोध गरेको छ ।
यस्तै, कुखुरा मरेमा खुला स्थानमा फाल्न नहुने र गहिरो खाडल खनेर सुरक्षित रुपमा व्यवस्थापन गर्न निर्देशन दिइएको छ ।
कुनै पनि कुखुरा फार्म वा अन्य स्थानमा अस्वाभाविक रुपमा धेरै संख्यामा कुखुरा बिरामी पर्ने वा मर्ने अवस्था देखिए तत्काल सम्बन्धित पशु सेवा शाखा वा भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, लमजुङमा जानकारी गराउन समेत कार्यालयले आग्रह गरेको छ ।
