प्रतिविद्यार्थी ७० हजार रुपैयाँसम्मको दुर्घटना विमाका लागि शुल्क १ सय ५ र टिकट शुल्क २० रुपैयाँका दरले पालिकाले भुक्तानी गर्ने छ ।
गोरखा — पालुङटार नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत ४ हजार ५ सय ८२ विद्यार्थीको सामूहिक दुर्घटना विमा गरेको छ ।
नगरपालिका र आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड बीच दुर्घटना विमाबारे सम्झौता भएको हो । सम्झौता अनुसार विद्यार्थीहरुको १ वर्षका लागि सामूहिक दुर्घटना विमा हुने छ ।
बुधबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसी र इन्स्योरेन्स लिमिटेडका प्रतिनिधि बीच हस्ताक्षर गरेर सेवा प्रारभ्भ गरिएको हो । प्रतिविद्यार्थी ७० हजार रुपैयाँसम्मको दुर्घटना विमा उपलब्ध हुने सम्झौतामा उल्लेख छ । प्रतिविद्यार्थी विमा शुल्क १ सय ५ र टिकट शुल्क २० रुपैयाँ हुने गरी सम्झौता गरिएको हो । यो रकम पालिकाले भुक्तानी गर्ने छ ।
विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई दुर्घटनाबाट हुन सक्ने आर्थिक जोखिम न्यूनीकरण गर्ने उद्देश्यले विमा कार्यक्रम संचालन गरिएको नगरपालिकाले जनाएको छ ।
