लमजुङमा ५ दिनदेखि हराइरहेका बोहरा मृत फेला

बेँसीसहर–चामे सडक खण्डअन्तर्गत आकाशे डाँडामाथि धिमिरे जाने सडक नजिक बोहराको शव फेला परेको हो ।

असार २५, २०८३

आश गुरुङ

Bohara, missing for 5 days in Lamjung, found dead

काठमाडौँ — पाँच दिनदेखि सम्पर्कविहीन लमजुङको बेँसीसहर नगरपालिका–८, तामाङटोल बस्ने ५७ वर्षीय बुद्धिबहादुर बोहरा मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेंसीसहर नगरपालिका–२, बोहोराबेँसी स्थायी घर भएका बोहरा असार २१ गते घरबाट कसैलाई जानकारी नदिई निस्किएका थिए । उनी बिहीबार बिहान करिब साढे ८ बजे बेँसीसहर–१, उदिपुरको आकाशे डाँडामाथिको जंगलमा मृत अवस्थामा भेटिएका हुन् ।

स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बेँसीसहर–चामे सडक खण्डअन्तर्गत आकाशे डाँडामाथि धिमिरे जाने सडकको दायाँतर्फ सडकबाट करिब डेढ सय मिटरमाथिको जंगलमा बोहराको शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी जितेन्द्रकुमार बस्नेतले घटनाको प्रकृति केही शंकास्पद देखिएको बताए । ‘अनुहार केही थिचिएको जस्तो देखिन्छ । शव गलेका कारणले पनि त्यस्तो देखिएको हुन सक्छ, अन्य कारण पनि हुन सक्छन्,’ उनले भने, ‘शव परीक्षणपछि थप तथ्य खुल्ने अपेक्षा गरेका छौं ।’

उनका अनुसार बोहरासँग हिँडडुल गर्ने एक जनालाई सोधपुछका लागि बुधबार नै नियन्त्रणमा लिइएको छ ।प्रहरीले घटनास्थलको मुचुल्का उठाएर शव परीक्षणका लागि बेँसीसहरस्थित प्रदेश अस्पताल पठाएको जनाएको छ । प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रहरी स्रोतका अनुसार नेपाली सेनाबाट अवकाश प्राप्त बोहरा भोटेओडार क्षेत्रतर्फ तास खेल्न जाने गरेको बुझिएको छ । उनी सडकबाट माथिल्लो जंगल क्षेत्रमा कसरी पुगे भन्ने विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully