अन्नपूर्ण संरक्षण क्षेत्रमा जंगली च्याउको सर्वेक्षण

सर्वेक्षणका क्रममा प्रत्येक ५/५ सय मिटरको उचाइ अन्तरालमा च्याउको अवस्था, फैलावट, बासस्थान र जैविक विविधतासम्बन्धी विवरण संकलन गरिएको थियो ।

असार २४, २०८३

आश गुरुङ

Survey of wild mushrooms in the Annapurna Conservation Area

What you should know

लमजुङ — अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतको इलाका संरक्षण कार्यालय, भुजुङ लमजुङले जंगलमा पाइने च्याउको अध्ययन सर्वेक्षण गरेको छ ।

आफ्नो कार्यक्षेत्रभित्र पाइने जंगली च्याउको विविधता पहिचान, तथ्यांक संकलन तथा अभिलेखीकरण गर्न एक्यापले जंगली च्याउको सर्वेक्षण गरेको जनाएको छ ।

एक्याप भुजुङका कार्यालय प्रमुख प्रमोदराज रेग्मीका अनुसार सिउरुङ–खिलापू–कोप्रोङ–थुर्जु–दूधपोखरी, थुर्जु–फुर्जु–ढोम–रोरोछो–भुजुङ र भुजुङ–ह्रगुँ–पसगाउँ–कमागाउँ गरी तीनवटा रुटमा च्याउको सर्वेक्षण गरिएको हो । एक साता समय लगाएर सर्वेक्षण गरिएको उनले बताए ।

यो क्षेत्र लमजुङको मर्स्याङ्दी गाउँपालिका र क्व्होलासोथार गाउँपालिका क्षेत्रमा पर्छ । अध्ययनका क्रममा लमजुङ र मनाङको सीम क्षेत्रमा पर्ने दूधपोखरी नपुग्दै देउराली क्षेत्रसम्म च्याउ भेटिएको कार्यालय प्रमुख रेग्मीले बताए । उनका अनुसार समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटर उचाइको देउरालीसम्म च्याउ भेटिएको छ ।

सर्वेक्षणका क्रममा प्रत्येक ५/५ सय मिटरको उचाइ अन्तरालमा च्याउको अवस्था, फैलावट, बासस्थान र जैविक विविधतासम्बन्धी विवरण संकलन गरिएको उनले बताए । ‘संकलित तथ्यांकको विश्लेषण भइरहेको छ । अध्ययनपछि च्याउका प्रजातिको यकिन विवरण पत्ता लाग्नेछ,’ उनले भने । उनका अनुसार तीनवटै रुटमा ५० भन्दा बढी प्रजातिका च्याउ भेटिएका छन् ।

रेग्मीका अनुसार यस इलाकाअन्तर्गत स्थानीय समुदायसँग खाद्य (खान मिल्ने) र अखाद्य (खान नमिल्ने) च्याउको संकलन, पहिचान, प्रयोग साथै संरक्षणसम्बन्धी प्रश्नावली सर्वेक्षणसमेत गरिएको छ । सर्वेक्षणका क्रममा स्थानीय समुदायले च्याउसम्बन्धी आफ्ना अनुभव, परम्परागत ज्ञान र सुझावहरुसमेत जानकारी गराएका छन् । प्राप्त जानकारीले स्थानीय जैविक विविधताको संरक्षण, च्याउको दिगो उपयोग तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने उनले बताए ।

एक्यापका प्राकृतिक स्रोत संरक्षण सहायक वासुदेव न्यौपानेले प्रारम्भिक अध्ययनमा खाने र नखाने दुवै प्रकारका च्याउ भेटिएको बताए । सिउरुङका स्थानीय स्रोत व्यक्तिको सहभागितामा गरिएको सर्वेक्षणले संरक्षण क्षेत्रभित्र पाइने च्याउको अभिलेख तयार पार्ने आधार जुटाएको उनले बताए ।

रेग्मीका अनुसार अध्ययनले अन्नपूर्ण क्षेत्रमा खाने र नखाने च्याउको संख्या, स्थानीय समुदायले च्याउ संकलन र उपयोग गर्ने तरिका, च्याउले स्थानीय जीविकोपार्जनमा पुर्‍याएको योगदानका साथै परम्परागत ज्ञानको समेत अभिलेखीकरण गरिएको छ । सर्वेक्षणबाट प्राप्त विवरणले संरक्षण क्षेत्रभित्र रहेका च्याउका प्रजातिको वैज्ञानिक अभिलेख तयार पार्न, जैविक विविधतासम्बन्धी अध्ययनलाई थप प्रभावकारी बनाउनुका साथै भविष्यमा संरक्षण, दिगो उपयोग र अनुसन्धानका कार्यक्रम सञ्चालन गर्न महत्त्वपूर्ण आधार तय गर्ने उनले बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully