असार ७ गते बाह्रकिलो बजारका टहरा हटाउन दिएको निर्देशन अटेरी गरेपछि बुधबार पुनः सूचना जारी गर्दै सात दिनभित्र नहटाए बल प्रयोग गरिने चेतावनी दिइएको हो ।
What you should know
गोरखा — वन क्षेत्र अतिक्रमण गरी बनाइएका गोरखा नगरपालिका–११ स्थित बाह्रकिलो बजारका टहरा हटाउन अटेरी गरेपछि पुनः सात दिनको समय सीमा तोकेर अतिक्रमित जग्गा खाली गर्न निर्देशन दिइएको छ ।
डिभिजन वन कार्यालय गोरखाले बुधबार सात दिनको समय सीमा तोकेर संरचना खाली गर्न निर्देशन दिएको हो । असार ३० गतेभित्र अतिक्रमित जग्गाका संरचना नहटाए स्थानीय प्रशासन तथा सरोकार राख्ने निकायसमेतको समन्वयमा आवश्यक बल प्रयोग गरेर हटाउने डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदन मोहन शान्डिल्यले बताए ।
ओखले पाखा सामुदायिक वन उपभोक्ता समूहले असार ७ मा १३ गतेसम्मको समय सीमा तोक्दै अतिक्रमित क्षेत्र खाली गर्न दिएको निर्देशन यसअघि स्थानीयले अटेरी गरेका थिए । बुधबार पुनः डिभिजन वन कार्यालय गोरखाले असार ३० गतेभित्र संरचना हटाउन निर्देशन दिएको हो । अटेरी गरेर संरचना नहटाए वन क्षेत्र खाली गर्ने तथा वाधा विरोध गर्ने व्यक्ति र संस्थालाई वन ऐन, २०७६ बमोजिम हदैसम्मको कारबाही गरिने पनि कार्यालयले जनाएको छ ।
सामुदायिक वन क्षेत्रभित्र रहेको अवैध संरचना खाली गराउन पटक–पटक अनुरोध गर्दासमेत संरचना सम्बन्धित व्यक्तिहरूले नहटाएको शान्डिल्यले बताए । वन ऐन, २०७६ बमोजिम राष्ट्रिय वन क्षेत्रमा निषेधित कार्य गरेको पाइएकाले ७ दिने सूचना जारी गरी वन क्षेत्रको जग्गा खाली गर्न भनिएको उनले बताए ।
बारपाक सडकको प्रवेशद्वार वाह्रकिलो बजारमा ओखले पाखा सामुदायिक वन समूहको जग्गाभित्र ३० भन्दा बढी टहरा बनाइएका छन् । दुई दशकअघिबाट बाह्रकिलोको वन क्षेत्रका जग्गामा पक्की संरचना निर्माण गरी पसल व्यवसाय संचालन हुँदै आएको छ । बाह्रकिलो बजारमा वन क्षेत्र मिचेर बनाइएका पक्की संरचना भने २०७३ सालमा पनि हटाइएको थियो । तत्कालीन समयमा पक्की संरचना हटाइए पनि पुनः टहरा बनाएर बाह्रकिलोमा पसल व्यवसाय संचालन हुँदै आएको छ ।
वनको जग्गा अतिक्रमण गरी बजार बसेपछि सम्बन्धित व्यक्ति, परिवार, संघसंस्था वा अन्य सरोकारवालाई वन क्षेत्रमा रहेको अस्थायी संरचना, सामग्री तथा अतिक्रमण तत्काल हटाई खालि गर्न सामुदायिक वन उपभोक्ता समितिले पनि आग्रह गरिसकेको छ ।
