परम्परागत सञ्चारमाध्यम आर्थिक संकटमा परिरहेका बेला राज्यको स्पष्ट नीति, लगानीका नयाँ स्रोत र प्रविधिमैत्री रूपान्तरण अपरिहार्य रहेको निष्कर्ष पोखरामा आयोजित छलफलमा निकालिएको छ ।
What you should know
पोखरा — गण्डकी प्रदेश प्रेस रजिस्ट्रारको कार्यालयले पहिलोपल्ट पाँच जना अग्रज पत्रकारलाई सम्मान गरेको छ ।
पोखरामा शनिबार आयोजित ‘गण्डकी मिडिया समिट’ का अवसरमा पोखराका तिलकमान गुभाजू र स्व. केशवराज पराजुली, नवलपुरका प्रेमचन्द्र रौनियार, तनहुँका विश्वबन्धु भण्डारी तथा पर्वतकी सरस्वती शर्मा 'जिज्ञासु'लाई जनही ५० हजार रुपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो । उनीहरूलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सम्मान प्रदान गरे ।
तीन दिनअघि ९१ वर्षको उमेरमा निधन भएका स्व. पराजुलीका तर्फबाट नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष कृष्णप्रसाद बास्तोला र नारायण कार्कीले सम्मान ग्रहण गरे । उक्त अवसरमा सम्मानित पाँचै पत्रकारको योगदान समेटिएको ‘हाम्रो समयको पत्रकारिता’ पुस्तकसमेत सार्वजनिक भएको छ ।
कार्यक्रममा मुख्यमन्त्री पाण्डेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार भएको उल्लेख गर्दै सत्य बोल्ने र लेख्ने अधिकार कसैले रोक्न नसक्ने बताए । 'प्रविधिको विकाससँगै आमसञ्चार क्षेत्रमा अवसरसँगै चुनौती पनि बढेको छ,' उनले भने, 'सामाजिक सञ्जाल र मूलधारको पत्रकारिताबीचको भिन्नता नागरिकलाई बुझाउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण छ ।'
प्रेस रजिस्ट्रार बिमला भण्डारीले अग्रज पत्रकारको जीवन, संघर्ष र योगदानलाई अभिलेखीकरण गर्ने उद्देश्यले सम्मान कार्यक्रम सुरु गरिएको बताइन् । उनका अनुसार पत्रकारिताको इतिहास पुस्तान्तरणका लागि अग्रजहरूको अनुभवलाई पुस्तक तथा डिजिटल अभिलेखका रूपमा सुरक्षित गर्ने अभियान अघि बढाइएको हो । सत्य, निष्पक्ष, व्यावसायिक र उत्तरदायी पत्रकारितालाई संस्थागत गर्न कार्यालय प्रतिबद्ध रहेको उनले बताइन् ।
सम्मानित पत्रकार विश्वबन्धु भण्डारीले पत्रकार शासक र जनताबीचको सेतु भएको उल्लेख गर्दै सम्मानले थप जिम्मेवारी बोध गराएको बताए ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष रमेश पौडेलले सञ्चार क्षेत्र अहिले आर्थिक संकटबाट गुज्रिरहेको भन्दै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्र सीमित गर्ने नीतिप्रति असन्तुष्टि जनाए । पत्रकारको स्वास्थ्य बिमाका लागि विनियोजित बजेट अपर्याप्त रहेको उल्लेख गर्दै नवीकरण हुन नसकेका सञ्चारमाध्यमलाई एकपटक विशेष अवसर दिएर नवीकरण गर्न पाउने व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरे ।
सम्मानितमध्ये स्व. केशवराज पराजुली जनमत दैनिकका संस्थापक तथा सम्पादक थिए । स्वतन्त्रता सेनानीसमेत रहेका उनी पोखरेली नवरत्नबाट सम्मानित व्यक्तित्व हुन् । तिलकमान गुभाजू पाँच दशकभन्दा लामो समयदेखि पत्रकारिता र बौद्ध दर्शन अध्ययनमा सक्रिय छन् । प्रेमचन्द्र रौनियार तीन दशकदेखि नवलपुरमा पत्रकारिता गर्दै आएका छन् भने विश्वबन्धु भण्डारीको सम्पादनमा २०३९ सालदेखि ‘भञ्ज्याङ’ पत्रिका निरन्तर प्रकाशित हुँदै आएको छ । सरस्वती शर्मा जिज्ञासु साहित्यकार तथा सामाजिक अभियन्ताका रूपमा परिचित छन् ।
अग्रज पत्रकार सम्मानका लागि गण्डकी प्रदेशका कानुन तथा सञ्चार सचिव कृष्णप्रसाद लम्सालको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो ।
मिडिया उकास्न नयाँ लगानी र डिजिटल रूपान्तरणमा जोड
परम्परागत सञ्चारमाध्यम आर्थिक संकटमा परिरहेका बेला राज्यको स्पष्ट नीति, लगानीका नयाँ स्रोत र प्रविधिमैत्री रूपान्तरण अपरिहार्य रहेको निष्कर्ष पोखरामा आयोजित छलफलमा निकालिएको छ ।
‘गण्डकी मिडिया समिट–२०८३’ अन्तर्गत ‘मिडियाको अर्थतन्त्र’ विषयक छलफलमा वक्ताहरूले सरकारी विज्ञापन नीति, डिजिटल मिडियाको बढ्दो प्रभाव र सञ्चारमाध्यमको दिगोपनाबारे धारणा राखेका छन् ।
पत्रकार हरिबहादुर थापाले खोजमूलक पत्रकारिताको आधार रहेका परम्परागत सञ्चारमाध्यमलाई बचाउन राज्यले लगानीमैत्री नीति ल्याउनुपर्ने बताए । निजी सञ्चारमाध्यमले रोजगारी सिर्जना गरे पनि सरकारी नीतिले उनीहरूलाई कमजोर बनाएको उनको भनाइ थियो ।
सञ्चारविज्ञ डा. भूमिराज चापागाईंले डिजिटल मिडियाले तथ्यांकका आधारमा पाठक र विज्ञापनदाता आकर्षित गरिरहेको उल्लेख गर्दै सञ्चारमाध्यमले आम्दानीका स्रोत विविधीकरण गर्नुपर्ने बताए । उनले एक वर्षको राजस्व योजना, तीन वर्षको डिजिटल योजना र पाँच वर्षको दिगोपना योजना बनाउन सुझाव दिए ।
विज्ञापन व्यवसायी उजय शाक्यले विज्ञापन बजार नघटे पनि सञ्चारमाध्यमले प्रविधि र प्रभाव मापन प्रणाली अपनाउनुपर्ने बताए । वान उपाध्यक्ष दुर्गा अधिकारीले गुणस्तरीय सामग्री र समुदायसँगको सम्बन्ध बलियो बनाए मात्र सञ्चारमाध्यम टिक्न सक्ने धारणा राखिन् ।
‘एआईबिनाको न्यूज रुम अब कल्पना गर्न सकिँदैन’
पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग तीव्र रूपमा बढिरहेको र यसको उपयोग अपरिहार्य बन्दै गएको निष्कर्ष ‘पत्रकारितामा एआई’ विषयक छलफलमा निकालिएको छ ।
छलफलमा अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेत, एआई विज्ञ दोभान राई तथा सञ्चार उद्यमी एवं कन्टेन्ट क्रियटर महेश भण्डारीले एआईका अवसर र चुनौतीबारे धारणा राखेका थिए ।
बस्नेतले एआईबिनाको न्यूज रुम अब कल्पना गर्न नसकिने बताए । आफ्नो सञ्चारमाध्यममा डेढ वर्षदेखि एआई प्रयोग भइरहेको उल्लेख गर्दै उनले समाचारको अन्तिम निर्णय भने मानिसकै हुनुपर्नेमा जोड दिए । 'एआईले सधैं सही निर्णय गर्छ भन्ने भ्रममा पर्नु हुँदैन,' उनले भने ।
एआई विज्ञ राईले प्रविधिको तीव्र विकासले समाज, अर्थतन्त्र र काम गर्ने शैली परिवर्तन गरिरहेको बताइन् । एआईले सामग्रीलाई अत्यन्त यथार्थपरक बनाइरहेकाले गलत सूचना छुट्याउन चुनौती बढ्दै गएको उनको भनाइ थियो । उनले प्रविधिसँगै मानवीय मूल्य र सौन्दर्य चेत जोगाउनुपर्नेमा पनि जोड दिइन् ।
महेश भण्डारीले एआईलाई सहायक उपकरणका रूपमा प्रयोग गर्नुपर्ने बताउँदै सिर्जनात्मक सोच र भाष्य स्थापना भने मानिसकै जिम्मेवारी रहने बताए । पत्रकारहरू एआईसँग डराउनुभन्दा यसको प्रभावकारी उपयोग गर्न सक्षम हुनुपर्ने उनको भनाइ थियो ।
