मर्स्याङ्दीमा कक्षा ८ सम्म स्थानीय पाठ्यपुस्तक

गाउँपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि स्थानीय इतिहास, संस्कृति र वातावरण समेटिएको ‘हाम्रो मर्स्याङ्दी’ नामक पाठ्यपुस्तक सार्वजनिक गरेको छ।

असार २०, २०८३

आश गुरुङ

Local textbooks up to grade 8 in Marsyangdi

What you should know

लमजुङ — लमजुङको मर्स्याङ्दी गाउँपालिकाले आधारभूत तह कक्षा १ देखि ८ सम्मका विद्यार्थीका लागि स्थानीय पाठ्यपुस्तक निर्माण गरेको छ ।

गाउँपालिकाले ‘हाम्रो मर्स्याङ्दी’ नामक पाठ्यपुस्तक निर्माण गरेको हो । चालु शैक्षिक सत्रदेखि पठनपाठन सुरु गरिएको उक्त पाठ्यपुस्तक शनिबार २१ औँ गाउँसभाको अवसरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ, उपाध्यक्ष जुनामाया थापा, प्रमुख प्रशासकीय अधिकृत विज्ञान पौडेल र सामाजिक विकास समिति संयोजक एवम् वडा ७ का वडाअध्यक्ष तिलबहादुर गुरुङलगायतले संयुक्त रुपमा पाठ्यपुस्तक सार्वजनिक गरे ।

गाउँपालिका अध्यक्ष गुरुङले स्थानीय इतिहास, भूगोल, संस्कृति, प्राकृतिक सम्पदा, पर्यटन, आर्थिक गतिविधि, स्थानीय पेशा–व्यवसाय, यातायात तथा भौतिक पूर्वाधार, जीवनोपयोगी सीप, मानव मूल्यमा आधारित शिक्षा, स्थानीय परिकार र समसामयिक विषयबारे विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने उद्देश्यले पाठ्यपुस्तक तयार पारिएको बताए ।

उनका अनुसार गाउँपालिकाले ४ वर्षअघि स्थानीय पाठ्यक्रम तयार गरी कक्षा १ देखि ५ सम्म पठनपाठन सुरु गरेको थियो । चालु शैक्षिक वर्षदेखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम विस्तार गर्दै त्यसअनुसारको पाठ्यपुस्तक तयार गरिएको उनले बताए । अहिले गाउँपालिकाभित्रका ५५ विद्यालयमा ‘हाम्रो मर्स्याङ्दी’ पठनपाठन भइरहेको छ।

पाठ्यपुस्तकमा गाउँपालिकाको इतिहास, भूगोल, पर्यटकीय तथा धार्मिक स्थल, संस्कृति, रहनसहन, भेषभूषा, विशिष्ट व्यक्तित्व, कृषि, वन पैदावार, जडीबुटी, खनिज पदार्थ, प्राकृतिक स्रोत, पशुपालन तथा स्थानीय कला–संस्कृतिसम्बन्धी विषय समेटिएका छन् । यसले विद्यार्थीलाई आफ्नै गाउँ, समाज र परिवेशबारे ज्ञान हासिल गर्न सहयोग पुग्ने विश्वास गाउँपालिकाले दिएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलका अनुसार गहिरो अध्ययन, छलफल र सुझावका आधारमा स्थानीय पाठ्यक्रमको मापदण्डअनुसार पुस्तक तयार गरिएको हो । भूमिदत्त पौडेलको लेखन संयोजनमा तयार भएको पुस्तकको सम्पादन ऋषिराम श्रेष्ठ, इश्वरबाबु पाण्डेलगायतले गरेका छन् ।

सामाजिक विकास समिति संयोजक तिलबहादुर गुरुङले स्थानीय ज्ञान, पहिचान र गौरवलाई विद्यालय शिक्षासाग जोड्ने यो प्रयास गाउँपालिकाको शिक्षा क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए । उपाध्यक्ष जुनामाया थापाले पाठ्यपुस्तकले विद्यार्थीमा आफ्नै गाउँ, समाज र संस्कृतिप्रति गर्व, अपनत्व र जिम्मेवारीको भावना अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिन् ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully