जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ बालबालिकाले खोप पाएका हुन् ।
बागलुङ — बागलुङका १४ हजार २ सय ५७ जना बालबालिकालाई आवश्यक पर्ने सबै खोप लगाएर जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता र दिगोपना भएको घोषणा गरिएको छ ।
शनिबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डेले बागलुङमा आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप पाएको जिल्ला घोषणा गरे । उनले यो अभियानमा साथ दिएका पालिकाका प्रमुख, स्वास्थ्य शाखाका प्रमुख र महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान पनि गरेका थिए ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्माका अनुसार जन्मेदेखि १५ महिनाभित्रका ३ हजार २ सय ७८ जना र १६ महिनादेखि ५ वर्ष उमेर समूहका १० हजार ९ सय ७९ बालबालिकाले खोप पाएका हुन् ।
गत फागुनमा ढोरपाटन नगरपालिकामा दादुरा संक्रमण फैलिएपछि गण्डकी प्रदेश सरकार, संघीय स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य संगठन र प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले नगरपालिकाको समन्वयमा ७ हजार छुट्टै खोप लगाएको थियो । त्यतिबेला भने दादुराको संक्रमण हटाउन ढोरपाटन नगरपालिका भित्रका २० बर्ष उमेर सम्मका बालाबालिका र किसोर किशोरीलाई खोप लगाइएको थियो ।
खोप लगाउने उमेर समूहमा पनि यो वर्ष सदरमुकाम भन्दा धेरै ढोरपाटनमा खोप लगाइएको छ । ढोरपाटनमा १५ महिनाभित्रका ६ सय २२ जना र १६ महिनादेखि ५९ महिनाभित्रका २ हजार १६ गरी २ हजार ६ सय ३८ जना बालबालिकाले खोप लगाएका छन् ।
