बागलुङका ७७ खानेपानी मुहानमा भेटियो कोलीफर्म

बागलुङका ३६९ पानीका मुहानको पानी परीक्षण गर्दा ७७ वटामा कोलीफर्म फेला परेको छ, जसका कारण जण्डिस, टाइफाइडलगायतका विरामी बढिरहेका छन्।

असार १८, २०८३

प्रकाश बराल

Coliform found in 77 drinking water sources in Baglung

What you should know

बागलुङ — तीन साताअघि धौलागिरि अस्पतालको ओपिडीमा एकै दिन आएका एकै ठाउँमा बिरामीको परीक्षण गर्दा ७ जनामा जण्डिस रोग भेटियो । उनीहरुको परिवारका अन्य सदस्य पनि ज्वरो आएर घरमै आराम गरेको जानकारी पाएपछि डा. सन्दीप केसीले प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख प्रवीण शर्मालाई फोन गरे । 

दुवै जना बागलुङ नगरपालिका ७ को मुलपानी पुग्दा गाउँमा अन्य मानिस पनि बिरामी परेको थाहा पाए । उनीहरु कुवाबाट खानेपानी प्रयोग गर्छन् । सदरमुकाम देखि ७ किमीको दुरीमा रहेको यो गाउँमा अझै कुवाको फोहोर पानी खाएको देखेर उनीहरु दंग परे । धारा लगिएको घरमा पनि पानी फोहोर थियो । तत्काल पानीको नमूना ल्याएर धौलागिरि अस्पतालमा ल्याब परीक्षण गर्दा दुवै स्थानमा कोलिफर्म भेटियो । 

कोलिफर्मयुक्त पानी खाएकै कारण उनीहरु बिरामी भएको आंकलन भएपछि जिल्ला खानेपानी गुणस्तर निगरानी समितिले असार लागेपछि जिल्लाभरका ३ सय ६९ वटा पानीका मुहानको परीक्षण गर्दा ७७ स्थानमा कोलिफर्म भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रयोगशाला प्रमुख डिल्ली आचार्यले बताए । धौलागिरि अस्पतालमा दैनिक ५ सय ५० बिरामी आउँछन्, तीमध्ये पानी र सरसफाइजन्य समस्याका कारण आधाबढीमा रोग लागेको देखिने गरेको डाक्टर केसीले जानकारी दिए ।

यो घटनापछि जिल्लामा शुद्ध पानीको बारेमा बहस र चर्चा चल्न थालेको छ । अहिले पनि केही मुहानको शुद्धीकरण नगरे जोखिम भएको चेतावनी स्वास्थ्यकर्मीले दिएका छन् । ‘अस्पतालमा आउने ज्वरो, झाडापखाला, मलेरिया, टाइफाइट जस्ता रोगको प्रमुख कारण नै शुद्ध खानेपानीको अभाव हो,’ आचार्यले भने, ‘अधिकांशले पानीको प्रयोगमा ख्याल नगरेकै कारण बिरामी परेका छन् ।’ समितिमार्फत हरेक वर्ष पानीको स्रोतको कोलीफर्म र अन्य समस्या बारे खोजी भइरहेको छ । बर्षातमा यो समस्या झनै बढ्ने भएपछि समितिले सार्वजनिक आब्हान गरेर खानेपानी शुद्ध बनाउन भनेको छ ।

समस्या देखिएको स्थानमा खानेपानी उपभोक्ता संस्था, वडा र स्थानीय तहमा समेत जानकारी गराउने गरेको समितिका अध्यक्ष प्रवीण शर्माले बताए । ‘हामीले तत्काल जानकारी त गराएका छौं, त्यहाँ सरसफाइ गर्न, पानी शुद्दीकरणका उपाय खोज्न र घरघरमा पानी उमालेर खान सल्लाह दिएका छौं,’ शर्माले भने, ‘जनचेतना अभावले अझै पनि मानिसहरु पानीकै कारण बिरामी भैरहेका छन् ।’ 

गत आथिक वर्ष पनि ३ सय ४१ स्थानमा पानी परीक्षण भएकोमा १ सय २५ स्थानमा कोलीफर्म देखिएको थियो । आर्थिक वर्ष २०८०/०८१ मा भने २ सय ८ स्थानको पानी परीक्षण गर्दा ७३ स्थानमा कोलीफर्म देखिएको थियो । मानव वा अन्य जनावरको दिशा तथा अन्य फोहोरबाट कोलीफर्म देखिने गरेको हो । कोलीफर्मयुक्त पानीका कारण टाइफाइट, मलेरिया र जण्डिस जस्ता रोग देखापर्न सक्ने खतरा शर्माले औंल्याए । त्यसकालागि पानी निर्मलीकरण वा उमालेर खानुपर्ने सुझाव दिइएको छ । 

पानीको शुद्धीकरण नाप्नकालागि पनि जिल्लाको ल्याब मात्र सम्भव नभएपछि पालिका स्तरमा पनि मेसिन खरिद गर्न आग्रह गरि समितिले सुझाव पठएकोमा बडिगाड गाउँपालिका र तमानखोला गाउँपालिकाले मात्र खरिद गरेको छ । हरेक पालिका स्तरमा एक–एकवटा परीक्षण मेसिन खरिद गर्न सकेमा स्वास्थ्य शाखाले कोलीफर्म भेटाए तत्काल सुझाव दिन सक्नेछ । 

पछिल्लो समय खानेपानीका ट्रिटमेन्ट प्लान्टसहितका योजना बनाउने क्रम सुरु भए पनि कोलीफर्मबारे अझै चेतना बढाउन नसकिएको डिभिजन खानेपानी तथा सरसफाइ कार्यालयका प्रमुख हरिप्रसाद तिमिल्सिनाले बताए । ‘हामीले वर्षमा ३ सय योजनामा काम गरिरहेका छौं, सबैलाई यो जानकारी गराइरहेका छौं,’ उनले भने, ‘आफ्नो स्वास्थ्यबारे उपभोक्ताहरु सचेत बन्नुपर्छ ।’ समितिले प्रतिनिधिमुलक रुपमा समितिका पदाधिकारीलाई जनचेतना जगाउने काम भने गराएको छ । 

सदरमुकाममा ल्याइएको खानेपानीमा पनि कोलीफर्म भेटिने गरेको छ । यो वर्ष पनि त्यस्तो समस्या भेटिएपछि समितिले तत्काल आयोजनामा जानकारी गराएर शुद्धीकरण गर्न लगाएको थियो । ट्यांकीमा ब्लिचिङ पाउडर राखेर ३० मिनेटपछि मात्र पानी पठाएमा केहीमात्रामा शुद्धीकरण हुने र कोलीफर्म नभेटिने आचार्यको भनाइ छ । समितिले हरेक महिना पानीका स्रोतमा शुद्धीकरण, सफाइ र आवश्यक परेमा ब्लिचिङ पाउडर समेत प्रयोग गर्न सुझाएको छ । घरघरमा पानी उमालेर मात्रै खान पनि सुझाव दिइएको शर्माले जानकारी दिए । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully