सवारीसाधनका काला सिसा र स्टिकर हटाउँदै ट्राफिक प्रहरी

कालो सिसा र स्टिकर हटाउन छड्के चेकजाँचलाई पनि तीव्रता दिइएको छ । पहिलो चरणमा स्वतस्फूर्त हटाउन प्रहरीको आग्रह ।

असार १७, २०८३

हरिराम उप्रेती

Traffic police removing tinted windows and stickers from vehicles

गोरखा — सवारी नियमविपरित सवारी साधनमा राखिएका कालो सिसा तथा स्टिकर जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले हटाउन सुरु गरेको छ ।

बुधबारबाट कालो सिसा र स्टिकर हटाउने अभियान सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख सुरज अर्यालले बताए । अभियानको पहिलो दिन प्रहरीले ६ वटा सवारीसाधनका सिसामा टाँसिएको कालो स्टिकर हटाएको छ । 

दुईवटा ट्याक्सी र चारवटा निजी कारको कालो स्टिकर हटाइएको अर्यालले बताए । ‘सवारी नियममा नै स्वीकृति नलिईकन स्वरूप परिवर्तन गर्न नपाइने उल्लेख छ,’ उनले भने, ‘आफूखुसी कालो स्टिकर टाँस्न र सिसा हेरफेर गर्न पाइँदैन, पहिलो चरणमा सम्झाइबुझाइ त्यस्ता सिसा र स्टिकर आफैं हटाउन भनेका छौं, अटेरी गरे कारबाही प्रक्रिया पनि अघि बढाउँछौं ।’ 

यात्रुको सुरक्षा तथा ट्राफिक अनुगमनका लागि पनि कालो स्टिकर र सिसा प्रयोग गर्न नपाइने व्यवस्था रहेको उनले बताए । जिल्लाभित्र प्रायः विद्युतीय सवारीसाधनमा कालो सिसा र स्टिकर टाँस भएको पाइएको अर्यालले सुनाए । ‘स्वतस्फूर्त रूपमा हटाउनमा नै अहिले जोड दिएका छौं,’ उनले भने, ‘यो अभियान निरन्तर चल्छ, नियमविपरीत राखिएका कालो सिसा र स्टिकर हटाएरै छाड्छौं ।’

कालो सिसा र स्टिकर हटाउन छड्के चेकजाँचलाई पनि तीव्रता दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully