बेंसीसहरका १ हजार ४ सय छात्रालाई सेनेटरी प्याडको व्यवस्था

बेंसीसहर नगरपालिकाकी उपप्रमुख पदमा गुरुङले छात्राको महिनावारी स्वास्थ्य र विद्यालयमा नियमित उपस्थितिलाई ध्यानमा राखेर निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको बताइन् ।

असार १७, २०८३

आश गुरुङ

Provision of sanitary pads to 1,400 female students of Besisahar

What you should know

लमजुङ — लमजुङको बेंसीसहर नगरपालिकाले सामुदायिक विद्यालयका १ हजार ३ सय ९० छात्रालाई निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेको छ ।

बेंसीसहर नगरपालिकामा १४ वटा माध्यमिक र २ वटा आधारभूत विद्यालय छन् । प्राविसहित ४५ वटा विद्यालय रहेकामा कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने छात्रालाई लक्षित गर्दै सेनेटरी प्याडको व्यवस्था गरिएको छ । यस्तै प्रावि तहमा अध्ययनरत १२ वर्ष उमेरमाथिका छात्रालाई पनि यस कार्यक्रमले समेटेको छ ।

रजस्वला हुने अवस्थाका सबै छात्रालाई यो कार्यक्रमले समेटेको नगरपालिका सहायक शिक्षा अधिकृत सृजना पाण्डे चिलुवालले बताइन् । उनका अनुसार विद्यालयका प्रधानाध्यापकको जिम्मामा पठाइएको सेनेटरी प्याडलाई विद्यालयका लैंगिक सम्पर्क शिक्षकमार्फत वितरण गरिँदै आएको छ । ‘एक छात्रालाई महिनामा ३ प्याकेट उपलब्ध गराउँदै आएका छौं,’ उनले भनिन् । प्रत्येक प्याकेटमा ८ वटा सेनेटरी प्याड छन् ।

नगरपालिका लेखा अधिकृत सृजना पौडेलका अनुसार चालु शैक्षिक वर्ष २०८३ का लागि संघीय ससर्त अनुदानअन्तर्गत ३ लाख १३ हजार ८ सय २९ रुपैयाँमा १० हजार ५ सय प्याकेट सेनेटरी प्याड खरिद गरिएको छ । यो संघीय ससर्त बजेटअन्तर्गत खरिद गरिएको उनले बताइन् ।

वितरणअघि खरिद प्रक्रियाअन्तर्गत प्राप्त सेनेटरी प्याडको नमुना नगरपालिका कार्यालयमा परीक्षण गरिएको थियो । नगर उपप्रमुख पदमा गुरुङ, प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी, शिक्षा अधिकृत सुन्दर खत्री, इन्जिनियर सजुमा घिमिरे, जनविकास माध्यमिक विद्यालय बेसीसहरका प्रधानाध्यापक दीपक खनिया, जनकल्याण माध्यमिक विद्यालय उदीपुरका प्रधानाध्यापक सूर्यबहादुर अधिकारी, जिन्सी शाखा प्रमुख मोहन लम्साल, प्राविधिक सहायक सुनिता क्षेत्री साथै सञ्चारकर्मीको उपस्थितिमा नगरपालिकाका अस्पताल नर्सिङ निरीक्षक चाँदनी श्रेष्ठ र सहायक शिक्षा अधिकृत सृजना पाण्डे चिलुवालले परीक्षण गरेकी थिइन् ।

परीक्षणका क्रममा प्याडको आकार, सोस्ने क्षमता (एब्जोर्बेन्सी), मोटाइ र गुणस्तर, टाँसिने भाग (एड्हेसिभ) को अवस्था, प्याकेजिङ, उत्पादन तथा म्याद समाप्ति मिति र स्वास्थ्य तथा सरसफाइसम्बन्धी मापदण्डको पालना भए–नभएको परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

नगर उपप्रमुख गुरुङले छात्राको महिनावारी स्वास्थ्य र विद्यालयमा नियमित उपस्थितिलाई ध्यानमा राखेर निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाएको बताइन् । खरिद गरिएका सेनेटरी प्याडको गुणस्तर सुनिश्चित गर्न वितरणअघि नै नमुना परीक्षण गरिएको उनको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारीले प्रयोग भइसकेका सेनेटरी प्याडको सुरक्षित व्यवस्थापनका लागि इन्सिनरेटर (सेनेटरी प्याड जलाउने मेसिन) खरिद प्रक्रिया अघि बढाइएको बताए ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully