जल तथा मौसम विज्ञान विभागले २ दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि बेँसीसहर-चामे सडकमा रातको समय आवागमन बन्द गरिएको हो ।
लमजुङ — मनाङलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने एकमात्र बेँसीसहर–चामे सडकमा मंगलबार र बुधबार (असार १६ र १७ गते) रातको समयमा सवारी आवागमन बन्द गरिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले २ दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेपछि यात्रु तथा सवारी साधनको सुरक्षालाई ध्यानमा राख्दै रातको समय आवागमन बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले सोमबार एक सूचना जारी गर्दै मनसुन सक्रिय भएसँगै वर्षा, बाढी र पहिरोको जोखिम बढ्ने आकलन गरिएकाले जिल्ला सुरक्षा समितिको निर्णयअनुसार तत्कालका लागि २ रात सवारी सञ्चालन रोक्ने निर्णय गरिएको जानकारी दिए ।
प्रशासनका अनुसार चामे गाउँपालिका–३ कोतोबाट बेँसीसहरतर्फ छुट्ने सवारी असार १६ र १७ गते बेलुका ४ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ । यस्तै, नासों गाउँपालिका–१ तालडाँडा चौकीबाट बेंसीसहरतर्फ बेलुकी ५:३० बजेसम्म मात्र सवारी छुट्नेछन् ।
दुवै स्थानबाट बिहान ५ बजेदेखि भने सवारी आवागमन नियमित रुपमा सञ्चालन गरिने प्रशासनले जनाएको छ । प्रशासनले सम्भावित वर्षा, बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै अत्यावश्यकबाहेक रातिको यात्रा नगर्न तथा सुरक्षा सतर्कता अपनाउन यात्रु र सवारी चालकलाई आग्रह गरेको छ ।
