वडाबासीको सक्रियता र विभिन्न दाताको सहयोगमा फिजियोथेरापी सेवा गाउँमै सुरु भएपछि बिरामीले सजिलै उपचार पाउन थालेका छन्।
What you should know
बागलुङ — काठेखोला गाउँपालिका–८ को लेखानीमा दैनिक ३० जना बिरामी स्वास्थ्य संस्थामा आउँछन् । तीमध्ये हरेक दिन एक/दुई जना नसा सम्बन्धी समस्या भएका हुन्छन् ।
हरेक बिरामीलाई सदरमुकाम रिफर गर्न कठिन भएपछि वडाबासीले विभिन्न दाता खोजेर वडास्थित लेखानी स्वास्थ्य चौकीमै फिजियोथेरापी सेवा थालेका छन् । ३७ लाख रुपैयाँको लगानीमा वडाले ३ कोठाको भवन समेत बनाएको छ । यो भवनमा फिजियोथेरापी, किशोरकिशोरीमैत्री सेवा र स्तनपान कक्ष राखिएको छ । यहाँ भएको जनशक्तिबाटै थप सेवा पनि संचालन गरिने स्वास्थ्य चौकी प्रमुख लक्ष्मीप्रसाद निउरेले बताए ।
विद्यालय तहमा पढ्ने किशोरकिशोरीमा आउने शारिरीक परिवर्तनसँगै पर्ने समस्या, यौनरोग, किशोरीकालागि आइरन चक्की खुवाउने, महिनावारीका कारण आउने समस्या जस्ता विषयमा यहाँ परामर्श र औषधि वितरण समेत गरिने छ । पूर्वाधार निर्माणमा गण्डकी प्रदेश सरकारको सहयोग ल्याएको वडाले स्वास्थ्य चौकी व्यवस्थापन र औषधिलगायतको सेवा भने वडाको बजेटबाटै गरिने भएको हो । त्यसबाहेक किशोरकिशोरीको शरीरमा हेमोग्लोबिनको जाँच पनि गरिन्छ ।
यो स्वास्थ्य चौकीमा इन्चार्ज निउरेसहित प्रसूति सम्बन्धी तालिम प्राप्त एक अनमि, एक अहेब, प्रयोगशालाका प्राविधिकको जनशक्ति छ । अहिले पनि यहाँ२ जना स्वास्थ्यकर्मीको अभाव छ । ‘बसाइसराइले दैनिक आउने बिरामीको दर घटे पनि फिजियोथेरापी सेवा लिने बढेका छन्,’ निउलेले भने, ‘उनीहरुको सेवाकालागि यो केन्द्र बनाइएको हो ।’ हाड र नसा सम्बन्धी बिरामी बढ्न थालेको उनले बताए ।
हरेक वर्ष २ हजार ६ सय बढी बिरामीले यहाँबाट सेवा लिन्छन् । चालु वर्ष यहाँ २ हजार ५ सय बिरामीले उपचार सेवा लिइसकेका छन्् भने हरेक दिन ३ देखि ४ जना बिरामी फिजियोथेरापीको खोजी गर्दै आइपुग्ने गरेको निउरेले जानकारी दिए । उनीहरुलाई सदरमुकाम पठाउने गरेकोमा अब भने गाउँमै सेवा दिन सकिनेछ । उपचारमा आएकी द्रौपदी श्रीषले सेवा पाएर सदरमुकाम जान नपरेको बताइन् ।
अघिल्लो वर्ष यहाँ हैजाका बिरामी पनि भेटिएका थिए । त्यसबाहेक पछिल्लो समय क्षयरोग र हात्तिपाइलेको समस्या भएका बिरामी पनि देखिन थालेका छन् । त्यस्ता बिरामीलाई नाम गोप्य राखेर उपचारकालागि धौलागिरि अस्पताल पठाउने गरिएको छ । स्वास्थ्य चौकीमा डिजिटल रेकर्ड राख्ने काम पनि सुरु गरिएको छ ।
यहाँ आएका बिरामीको दर्ता भएपछि वडा र पालिकामा पनि जानकारी हुन्छ । यो प्रणालीपछि पालिकाले सबै बिरामीको तथ्यांक संकलन गरेर हरेकदिन कुन प्रकृतिका रोगका के कति बिरामी दर्ता भएका छन् भन्ने पत्ता लगाउन सकिएको स्वास्थ्य शाखाका प्रमुख सोम शर्माले बताए । यो विधिकै आधारमा सेवा प्रवाह, औषधि खरिद र जनशक्तिको पदपुर्ति गर्ने काम गरेको उनले जानकारी दिए ।
गलकोट नगर अस्पतालले पनि चन्दामार्फत फिजियोथेरापी कक्ष संचालन गरेको छ । गलकोट समाज बेलायतका सदस्यले संकलन गरेर पठाएको १५ लाख रुपैयाँबाट यो सेवा थलिएको अस्पतालका प्रमुख डा. राजेश पौडेलले बताए । ‘अहिले त धेरै बिरामीले फिजियोथेरापी खोज्न थालेका छन्,’ पौडेलले भने, ‘सहरमा रिफर गरियो भने बिरामीको धेरै खर्च लाग्छ, त्यसैले यही सेवा दिन थालियो ।’ अस्पतालमा दैनिक आउने बिरामीमध्ये ५ जनासम्मलाई फिजियोथेरापी सेवा चाहिन थालेको उनले बताए ।
