मध्य असारमा मनाङको हुम्डे नजिकै ङोरोडाँडामा डढेलो

डढेलोले साढे २ रोपनी वन क्षेत्र प्रभावित बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ ।

असार १४, २०८३

आश गुरुङ

A fire broke out in Ngorodanda near Humde, Manang in mid-Ashar.

What you should know

लमजुङ — मनाङको मनाङ ङिस्याङ गाउँपालिका–४, हुम्डे नजिकै ङोरोडाँडामा आइतबार डढेलो लागेको छ । पिसाङबाट हुम्डेतर्फ जाने बाटैको डाँडाको जंगलमा डढेलो लागेको हो ।

डढेलोले साढे २ रोपनी वन क्षेत्र प्रभावित बनाएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय मनाङले जनाएको छ । एक्यापका प्राकृतिक स्रोत संरक्षण सहायक श्रीजित जोशीका अनुसार आइतबार बिहान ८ बजेतिर जंगलमा आगलागी भएको हो । त्यसपछि हुम्डेस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, एक्यापका कर्मचारी र स्थानीय आगो निभाउन पुगेका थिए ।

भिरालो भू–भाग र नजिकै पानीको स्रोत नभए पनि समन्वयात्मक कार्य र समयमै गरिएको प्रयासबाट डढेलोलाई नियन्त्रणमा लिन सफल भएको उनले बताए । उनका अनुसार सुरक्षाकर्मी, एक्याप र स्थानीयसमेत गरी १८ जनाको टोली खटिएको थियो । एक्यापका अनुसार डढेलोले तालिसपत्र प्रजातिका रुखमा बढीमात्रामा असर परेको छ । डढेलो साँझ ५ बजेतिरमात्रै पूर्ण रुपमा निभेको उनले बताए ।

जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी निरीक्षक सुमित कुशवाहले आगलागी निभाउन हुम्डेस्थित इलाका प्रहरी कार्यालयबाट ५ जना प्रहरी टोली खटिएको बताए । नेपाल प्रहरीले सशस्त्र प्रहरी, एक्यापका कर्मचारी र स्थानीयसमेतको सहयोगमा डढेलो नियन्त्रणमा लिएको बताए ।

उनले आइतबार बिहान अन्दाजी १०:५० बजेको समयमा हुम्डे पाखो ङोरुडाँडा कालोजंगलमा डढेलो लागेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी टोली खटिएको बताए । उनका अनुसार दिउँसो १:४० बजेतिर आगो नियन्त्रणमा आएको थियो । उनका अनुसार डढेलोबाट मानवीय तथा चौपाय क्षति भने भएन ।

एक्याप र प्रहरीले डढेलो लगाउने व्यक्तिको खोजी भइरहेको जनाएको छ । ठूलो रुखको फेदबाट डढेलो लागेको देखिएकाले जंगलमा गएकाहरुले कुनै कुरा पकाएर आगो ननिभाएको र रुखमा फेदमा केही पकाएर आगो छोडेकाले डढेलो लागेको हुन सक्ने प्रहरी र एक्यापले जनाएको छ ।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully