सडक, होमस्टे, ट्रेकिङ र पर्यटन पूर्वाधार विस्तारसँगै ढोरपाटनलाई अब हिमाली सौन्दर्य, संस्कृति र जैविक विविधतामा आधारित गन्तव्य बनाउन बहस सुरु भएको छ।
What you should know
बागलुङ — ढोरपाटनको नाम विश्वभर नेपालको एकमात्र सिकार आरक्षका रूपमा परिचित छ। यहाँ हुने नियन्त्रित सिकारबाट नेपाल सरकारले वर्षेनी ४ देखि ५ करोड रुपैयाँसम्म राजस्व संकलन गर्छ। तर पछिल्ला वर्षमा अर्को प्रश्न सशक्त रूपमा उठ्न थालेको छ– ढोरपाटनको भविष्य सिकार पर्यटनमा छ कि प्राकृतिक सौन्दर्य र जैविक विविधतामा आधारित दिगो पर्यटनमा?
स्थानीय, पर्यटन व्यवसायी, संरक्षणकर्मी र विज्ञहरू अहिले यही बहसमा छन्। उनीहरूको साझा निष्कर्ष छ– सिकार पर्यटनले राज्यलाई राजस्व दिए पनि प्राकृतिक पर्यटन विस्तार गर्न सके त्यसको प्रत्यक्ष लाभ स्थानीय समुदायले पाउनेछ।
केही दशकअघिसम्म ढोरपाटन पुग्ने पर्यटकका लागि बस्ने सुविधा न्यून थियो। अहिले यहाँ करिब दुई दर्जन घरमा होमस्टे सञ्चालनमा छन् भने ४० वटा होटल खुलेका छन्। स्थानीय व्यवसायी शिव कँडेलका अनुसार अहिले एकै दिन सात सय पर्यटकसम्मलाई बसाल्ने क्षमता विकास भइसकेको छ।
मुख्य पाटनसम्म सडक पुगेपछि ढोरपाटन पुग्ने यात्रु बढेका छन्। समुद्री सतहबाट करिब ३ हजार मिटर उचाइको ढोरपाटन, ४ हजार मिटरको गार्पाछेडा र ४ हजार ५ सय मिटरको टिकाधारासम्म सहज पदयात्रा गर्न सकिने अवस्था बनेको छ। हिउँदमा हिमपातको दृश्य र असार–साउनमा फुलेका बुकी हेर्न पुग्ने आन्तरिक पर्यटकको संख्या बढ्दो छ। ढोरबराह पूजा, स्थानीय संस्कृति, आलु, स्याउ लगायतका कृषि उत्पादन अध्ययन गर्न अनुसन्धानकर्तासमेत पुग्ने गरेका छन्।
पोखराबाट करिब सात घण्टामै पुग्न सकिने भएपछि पोखरा आएका विदेशी तथा आन्तरिक पर्यटकलाई पनि ढोरपाटन नयाँ गन्तव्य बन्न थालेको छ। पर्यटन व्यवसायीहरूको भनाइमा निसेलढोर, गुर्जा, जलजला र गार्पाछेडाजस्ता स्थानमा पनि बास बस्ने सुविधा विस्तार गर्न सके पर्यटकको बसाइ लम्बिनेछ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले रुकुम–ढोरपाटन–म्याग्दी जोड्ने सातदिने ट्रेकिङ मार्ग विकास गर्न सके पोखरा आउने विदेशी पर्यटकलाई नयाँ ‘भर्जिन रुट’ दिन सकिने बताए। उनका अनुसार सडकभन्दा पदमार्ग, भ्यू प्वाइन्ट र प्रकृतिमै आधारित पूर्वाधारले ढोरपाटनको पर्यटनलाई दीर्घकालीन आधार दिन सक्छ।
यहीबीच सिकार पर्यटनको औचित्यमाथि पनि प्रश्न उठ्न थालेको छ। प्रत्येक वर्ष यहाँ २६ वटा नाउर र २० देखि २२ वटा झारलको नियन्त्रित सिकार गरिन्छ। विदेशी शिकारीले तोकिएको शुल्क तिरेर आरक्षले निर्धारण गरेका ब्लकमा मात्रै सिकार गर्न पाउँछन्। तर यसबाट स्थानीय समुदायको आयआर्जनमा उल्लेख्य योगदान नपुगेको गुनासो बढ्दो छ।
पर्यटन पत्रकार अमृत भादगाउँले अबको आवश्यकता सिकार होइन, प्रकृतिमा आधारित पर्यटन विस्तार भएको बताउँछन्। उनका अनुसार जीवित वन्यजन्तु देखाएर कमाइ हुने पर्यटनले स्थानीयलाई रोजगारी र व्यवसायसँग जोड्छ, जबकि सिकार पर्यटन सीमित राजस्वमा मात्र केन्द्रित हुन्छ।
यही बहसलाई केन्द्रमा राखेर ढोरपाटन नगरपालिकाले ‘ढोरपाटन समिट’ आयोजना गरेको थियो। समिटले सिकार पर्यटन र दिगो पर्यटनबीचको बहसलाई राष्ट्रिय तहमा ल्याएको छ। नेपाल पत्रकार महासंघ बागलुङका पूर्वअध्यक्ष दिल शिरीषका अनुसार ढोरपाटनको विकासबारे बहुआयामिक छलफल सुरु हुनु आफैंमा महत्वपूर्ण उपलब्धि हो।
पदयात्री सिर्जना सिज्जुले चितवनजस्तै ढोरपाटनलाई पनि प्रकृतिमा आधारित प्रमुख पर्यटन गन्तव्य बनाउन सकिने बताइन्। उनका अनुसार बुटवल, चितवनलगायत तराईको गर्मीबाट राहत खोज्ने पर्यटकलाई लक्षित गरी पर्यटन पूर्वाधार विकास गर्न सके ढोरपाटनमा वर्षभर पर्यटक भित्र्याउन सकिन्छ। उनले प्रकृतिको मौलिक स्वरूप जोगाउँदै योजना बनाउन, पानीका मुहान संरक्षण गर्न र जैविक विविधताको संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।
ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले पनि सिकार पर्यटनको लाभ स्थानीयसम्म नपुगेको स्वीकार्छन्। उनका अनुसार हेलिकोप्टरमार्फत आउने शिकारी आरक्षभित्रै सीमित रहने भएकाले स्थानीय व्यवसायले अपेक्षित लाभ पाउन सकेका छैनन्। स्थानीय समुदायले प्रत्यक्ष लाभ पाउने पर्यटन नीति बनाउन संघीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।
ढोरपाटन सिकार आरक्षका सूचना अधिकारी सागर सुवेदीका अनुसार १ हजार ३ सय वर्ग किलोमिटर क्षेत्रफल रहेको आरक्षभित्र ५३ बस्तीमा ५ हजार १ सय ५३ जनसंख्या बसोबास गर्छ। २०४४ सालमा स्थापना भएको आरक्षमा चालु आर्थिक वर्षमा बागलुङतर्फको देउराली नाकाबाट मात्रै ३३ हजारभन्दा बढी पर्यटक प्रवेश गरेका छन्। म्याग्दी र रुकुमतर्फबाट आउने पर्यटकको संख्या यसमा समावेश छैन।
आरक्षले चरिचरन, घाँस–दाउरा संकलन तथा नदीजन्य सामग्री उत्खननमा नियमन गरेपछि स्थानीयको दैनिकी प्रभावित भएको गुनासो पनि छ। स्थानीय चन्द्रसिंह कुमाइका अनुसार संरक्षणका नाममा समुदायले पहिले प्रयोग गर्दै आएका स्रोतमा प्रतिबन्ध बढेको छ। सूचना अधिकारी सुवेदी भने दैनिक आवश्यकताका सामग्रीमा रोक नलगाइएको र अवैध दोहन मात्रै नियन्त्रण गरिएको बताउँछन्।
सिकार व्यवस्थापन वैज्ञानिक आधारमा हुने उनको दाबी छ। उनका अनुसार वर्षमा करिब २६ नाउर सिकार गरिए पनि दुई सयभन्दा बढी नाउर जन्मिने गरेका छन्। आरक्षले उमेर पुगेका भाले जनावरलाई मात्र सिकारको अनुमति दिने, पोथी र कम उमेरका जनावरको सिकार पूर्ण प्रतिबन्धित रहेको उनले बताए। आरक्षले वन्यजन्तुको नियमित गणना गर्दै आएको छ भने यस वर्ष हिउँचितुवाको गणना पनि भइरहेको छ।
ढोरपाटनको बहस अब सिकारबाट मात्रै राजस्व उठाउने कि प्राकृतिक सम्पदालाई आधार बनाएर हजारौं स्थानीयको आयआर्जन बढाउने भन्ने मोडमा पुगेको छ। जैविक विविधता, हिमाली भू–दृश्य, पदयात्रा, स्थानीय संस्कृति र समुदायलाई केन्द्रमा राखेर पर्यटन विस्तार गर्न सके ढोरपाटन नेपालको अर्को महत्वपूर्ण दिगो पर्यटन गन्तव्य बन्न सक्ने सम्भावना बलियो देखिएको छ।
