निर्माण कम्पनीलाई कालोसूचिमा राख्न पत्राचार
What you should know
लमजुङ — मध्यपहाडी (पुष्पलाल) राजमार्गअन्तर्गत लमजुङमा पर्ने पाउँदीढिक–सुन्दरबजार–किरिन्चेको ठेक्का तोडिएको छ ।
सडक विभागको मध्यपहाडी राजमार्ग योजना कार्यालय, पालुङटार गोरखाले सूचना जारी गर्दै ८ किलोमिटर दुरीको
यो सडक खण्ड निर्माण गर्दै आएको काठमाडौंको नक्सालस्थित कन्टेक प्रालिसँग ठेक्का तोडेको जानकारी दिएको हो । योजना प्रमुख कृष्णबहादुर खड्काले पछिल्लो म्याद २०८२ असोज १० मा सकिएको र त्यसपछि ठेकेदार सम्पर्कमा नआएको बताए ।
‘यो सडकको स्तरोन्नति र चौडाइ विस्तार गरी कालोपत्र गर्ने कार्यका लागि ठेक्का थियो । तीनपटकसम्म म्याद थप भयो । सम्पर्कमै नआएपछि हामी ठेक्का तोड्न बाध्य भयौं,’ उनले भने । उनका अनुसार कन्टेक प्रालिलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरिएको छ । उनका अनुसार सुन्दरबजारको मुख्य सडकको समेत निर्माण जिम्मा रहेको यो सडक करिब ७२ प्रतिशत काम सकिएको छ । संशोधित म्याद सकिँदासमेत निर्माण कम्पनीले निर्माण नसकाएको र पटक–पटकको निर्देशन बेवास्ता गरेको योजना कार्यालयले जनाएको छ ।
गत फागुन २५ मा निर्माण कार्य अघि बढाउन निर्देशन दिइएको थियो । पछिल्लो समय निर्माण कम्पनीलाई २०८३ जेठ १३ गते काम सम्पन्न गर्न अन्तिम ताकेता गरिएको थियो । तर, कम्पनीले निर्देशन पालना नगरी निर्माणस्थल नै छाडेको र सम्पर्कविहीन बनेपछि कारबाही प्रक्रिया अघि बढेको कार्यालय प्रमुख खड्काले बताए । उनका अनुसार अधिकतम हर्जाना अवधि २ सय दिनभन्दा बढी समयसम्म निर्माणस्थलमा अनुपस्थित रहेर काम ठप्प पारेको पाइएको छ । कम्पनीले कार्यालयको निर्देशन पालना गर्नुको सट्टा गैरकानुनी गतिविधि गरेको, जालसाजीपूर्ण, धोखाधडीपूर्ण तथा अव्यवसायिक आचरणका रुपमा व्याख्या गर्ने काम गरेको भन्दै यसलाई सम्झौताको गम्भीर उल्लंघन मानेको छ ।
कार्यालयका अनुसार कम्पनीले करारअनुसारको दायित्व पूरा नगरेकाले मुलुकी देवानी संहिता, २०७४ को दफा ४९९ बमोजिम तथा प्रचलित कानुनी व्यवस्थाअनुसार सम्झौता अन्त्य गरिएको हो । ठेक्का सम्झौता अन्त्य भएसँगै अब ठेक्का अन्त्यपछिको मूल्यांकन तथा वित्तीय हिसाब–किताब मिलान प्रक्रिया अघि बढाइएको योजना कार्यालयले जनाएको छ ।
कार्यालयले बिहीबारसूचना जारी गरी हालसम्म सम्पन्न कामको नापजाँच तथा मूल्यांकन गरी वित्तीय हिसाब–किताब टुंग्याउन कम्पनीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको छ । तोकिएको अवधिभित्र उपस्थित नभए कार्यालयका प्राविधिक कर्मचारीमार्फत नियमानुसार मूल्यांकन प्रक्रिया स्वतः अगाडि बढाइने चेतावनीसमेत दिइएको छ ।
२०७० भदौ २६ गते सरकारको निर्णयअनुसार पुष्पलाल राजमार्ग लमजुङमा परेपछि डीपीआर सर्भेका लागि प्राविधिक टोली फागुनतिरबाट लमजुङमा यसको काम अघि बढेको थियो । लमजुङमा मात्रै ५ खण्ड बनाएर सडक निर्माण गर्ने योजनाअनुरुप सुरु गरिएको यो सडक योजनाअन्तर्गत सबै सडक निर्माण भए ४८ दशमलब २२ किलोमिटरको कालोपत्र हुनेछ ।
लमजुङको अरु ४ खण्ड केहीमा काम सकिएर पनि सडक जीर्ण बनेको छ । एउटा खण्ड भोर्लेटार क्षेत्रमा पनि सडक निर्माणकार्य अघि बढ्न सकेको छैन ।
पूर्वी पाँचथरको चियोभन्ज्याङबाट सुरु भई पश्चिम बैतडीको झुलाघाटसम्मको यो राजमार्गले पहाडका ३९ मध्ये २४ जिल्ला पार गर्छ । राष्ट्रिय गौरवको उक्त महत्वकांक्षी आयोजना आव २०७४/०७५ मा सम्पन्न गर्ने लक्ष्य लिइएको थियो ।
