नदी, खोलाको बहाव क्षेत्र र ऐलानी जग्गामा बनाइएका संरचना हटाउन अटेरी गरेपछि गाउँपालिकाले ७ दिनभित्र हटाउन फेरि चेतावनी दिएको छ।
गोरखा — सरकारी तथा सार्वजनिक जग्गाका संरचना हटाउन अटेर गरेपछि धार्चे गाउँपालिकाले पनि सार्वजनिक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हटाउन आग्रह गरेको छ ।
गएको वैशाख २४ मा ३५ दिने सूचना जारी गरेर गाउँपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न आग्रह गरेको थियो ।
गाउँकार्यपालिका बैठकबाट निर्णय गराएर अतिक्रमित जग्गा खाली गर्न गरिएको आग्रहलाई बेवास्ता भएपछि शुक्रबार ७ दिनभित्र त्यस्ता संरचना खाली गर्न अल्टिमेटम दिइएको छ ।
तोकिएको अवधिमा अतिक्रमित जग्गामा बनेका संरचना नहटाए कानुन बमोजिम अघि बढ्ने गाउँपालिकाले चेतावनी दिएको छ । नदी/खोलाको बहाव क्षेत्रको जग्गा, ऐलानी, पर्ती जग्गामा अनुमति विना निर्माण गरिएका संरचना हटाउन आग्रह गरिएको हो ।
