तनहुँका १० पालिकामा ८ अर्ब बराबरको बजेट

चार नगरपालिका र छ गाउँपालिकाले सार्वजनिक गरेको अनुमानित बजेटमा पूर्वाधार, सामाजिक विकास, प्रशासनिक खर्च र पूँजीगत योजनामा प्राथमिकता दिइएको छ।

असार ११, २०८३

सम्झना रसाइली

Budget worth Rs 8 billion in 10 municipalities of Tanahun

What you should know

तनहुँ — जिल्लाका १० वटै स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । ४ नगरपालिका र ६ गाउँपालिकाले आगामि आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसहित करिब ८ अर्ब रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेका छन् ।

व्यास नगरपालिकाले बुधबार आयोजित नगर सभाको ४५औं अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि १ अर्ब ५० करोड २० लाख १ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख इन्दिरा दरैले चालुतर्फ १ अर्ब २ करोड ३७ लाख ६२ हजार रुपैयाँ र पुँजीगततर्फ ४७ करोड ८२ लाख ३९ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि १ अर्ब १३ करोड ५४ लाख ४९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्ताव गरेको छ । नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले सोमबार आयोजित नगर सभा तथा १९औं नगर अधिवेशनमा पूर्वाधार तर्फ ३ करोड ५१ लाख ७८ हजार रुपैयाँ, सामाजिक विकास तर्फ ३ करोड ४२ लाख ५२ हजार रुपैयाँ, आर्थिक विकास तर्फ ९२ लाख ५७ लाख रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९२ लाख ५७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, सुशासन तथा संस्थागत विकास तर्फ ४६ लाख २८ हजार रुपैयाँ, चालू प्रशासनिक खर्च १६ करोड रुपैयाँ, अनिवार्य दायित्व भुक्तानी तर्फ १० करोड रुपैयाँ, राजश्व फिर्ता तर्फ १ करोड रुपैयाँ, जनसहभागिता तर्फ १ करोड ५० लाख रुपैयाँ र वडागत सिलिङतर्फ ९ करोड २५ लाख ७४ हजार रुपैयाँ विनियोजन प्रस्ताव गरिएको उपप्रमुख विकले जानकारी गराए ।

भिमाद नगरपालिका नगरसभाको २२औं अधिवेशनमा उपप्रमुख शारदा खनालले आगामि आर्थिक वर्ष २०८३/०८४ का लागि ६३ करोड ५४ लाख ५५ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेकी छन् ।

भानु नगरपालिकाकी उपप्रमुख उमा गोतामेले आर्थिक वर्ष २०८३/०८४ का लागि ८४ करोड ३८ लाख ९० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन् । प्रस्तुत बजेट अनुसार चालु आर्थिक वर्षमा कुल संशोधित आय ८० करोड ८० लाख ४८ हजार २९१ रुपैयाँ पुगेको छ, जुन प्रस्तावित आयको ८६.१३ प्रतिशत हो ।

खर्चतर्फ चालु खर्चमा ४७ करोड ६९ लाख ६३ हजार ८८९ रुपैयाँ अर्थात् ७४.५६ प्रतिशत खर्च भएको छ भने पुँजीगत खर्च ८ करोड ९८ लाख २ हजार ३५ रुपैयाँ अर्थात् ३०.०८ प्रतिशत रहेको छ । हालसम्म चालु र पुँजीगत दुवै शीर्षकको औसत खर्च ६४.४१ प्रतिशत पुगेको नगरपालिकाले जनाएको छ ।

यस्तै, म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७४ करोड ३२ लाख ७८ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार आयोजित गाउँसभामा उपाध्यक्ष बालकृष्ण घिमिरेले चालुतर्फ ४७ करोड ९३ लाख रुपैयाँ र पुँजीगततर्फ २६ करोड ३९ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको घिमिरेले जानकारी दिए ।

घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम साथै बजेट गाउँसभाको २०औँ अधिवेशनबाट पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड रुपैयाँ बराबरको बजेट साभामा पेश गरेको छ ।

बन्दीपुर गाउँपालिकाले ६८ करोड ७८ लाख ८० हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेको छ भने ऋषिङ गाउँपालिकाले ५३ करोड ६२ लाख ५० हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ । देवघाट गाउँपालिकाले ५५ करोड ५८ लाख ६७ हजार प्रस्ताव गरेको छ । जस अनुसार चालुखर्च तर्फ ३९ करोड १७ लाख ५० हजार र पूँजीगत तर्फ १६ करोड ४१ लाख १७ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको गाउँपालिकाले जनाएको छ ।

आँबुखैरेनी गाउँपालिकाले ६४ करोड ८ लाख ३२ हजार रुपैयाँ बराबरको अनुमानित बजेट प्रस्ताव गरेको छ । प्रस्तावित बजेट अनुसार चालुतर्फ ६२ दशमलव २२ प्रतिशत र पूँजीगत तर्फ ३७ दशमलव ७८ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ ।

सम्झना रसाइली तनहुँकी कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully