फेवातालमा पौडी खेल्ने क्रममा डुबेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा रहेका छन् ।
पोखरा — फेवातालमा पौडी खेल्ने क्रममा डुबेका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१५ रामबजार निवासी १९ वर्षीय अमर थापा रहेका छन् । उनी मंगलबार साँझ फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
युवक तालमा डुबेको सूचना प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण मुख्यालय कालिका, कास्कीबाट गोताखोरसहितको विपद् व्यवस्थापन टोली राति ८ बजे उद्धारका लागि घटनास्थल पुगेको थियो ।
खोजीका क्रममा टोलीले राति ९:१० बजे फेवातालको करिब २५ फिट गहिराइबाट थापालाई अचेत अवस्थामा फेला पारी बाहिर निकालेको थियो । उनलाई तत्काल उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लगिएको भए पनि राति ९ः४४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।
सशस्त्र प्रहरीको गोताखोर टोलीले करिब एक घण्टाको खोजीपछि युवकलाई तालबाट बाहिर निकालेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
