ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलको डाँडामा गत वर्ष पालिकाले आकर्षक सहिद पार्क बनाएको छ । उक्त सहिद पार्कदेखि थामी, म्याग्दीको बरंजाधुरी, ताराखोलाकै तीनचुले, मालारानी, देउराली नयाँवन, चिनार, तीनचुले, डुडेलेकतर्फ यो पदमार्गको रेखांकन भएको छ ।
What you should know
बागलुङ — ग्रामीण बासिन्दाले प्रयोग गरेका गोरेटा बाटालाई समावेश गरेर बनाउने लक्ष्य राखिएको ‘गुरिल्ला पदमार्ग’ निर्माणमा ढिलाइ भएको छ । बागलुङको काठेखोला, ताराखोला र तमानखोला हुँदै ढोरपाटन जाने तत्कालीन पदमार्गहरू स्तरीय बनाएर सञ्चालन गर्ने लक्ष्य राखे पनि संघीय बजेट अभावले ती मार्ग निर्माण रोकिएका हुन् ।
जनयुद्धका बेला तत्कालीन माओवादी लडाकुहरूले पनि यो पदमार्ग धेरै पटक प्रयोगमा ल्याएका थिए । यो मार्ग आसपासका यद्ध र भीडन्तका घटनाहरू भएका स्थानलाई समावेश गरेर ताराखोला गाउँपालिकाले तयार पारेको ‘गुरिल्ला पदमार्ग’को खाका अलपत्र परेको हो । सो समयमा प्रयोग भएका गोरेटा बाटालाई सम्झन लायक बनाउन गाउँपालिकाकै अगुवाइमा पदमार्गको रेखांकन गरिएको थियो ।
गाउँपालिकाले उक्त रेखांकनको डीपीआर पनि बनाइसकेको छ । पालिकाले उक्त रेखांकनलाई ‘गुरिल्ला ट्रेकिङ पदमार्ग’ नाम दिएको थियो । गत वर्ष 'जनयुद्धका कमान्डर' पुष्पकमल दाहालले पनि यो पदमार्गलाई साथ दिने बताएका थिए । तर गत वर्षको बजेटमा यो पदमार्गमा बजेट परेन । चालु वर्षमा पनि बजेटको सुरसार नभएपछि स्थानीयले यो पदमार्ग नाम मात्रैको हुन सक्ने टिप्पणी गरेका छन् ।
ढोरपाटनसम्म पदयात्रा गर्नेहरूका लागि यो बढी उपयोगी हुनेछ । करिब ६३ किमि लामो क्षेत्रलाई पदमार्गमा समावेश गर्ने गरी डीपीआर बनाइएको हो । उक्त पदमार्ग पाँच दिनसम्ममा यात्रा गरेर सकिने गरी विभिन्न स्थानमा होमस्टेको व्यवस्थापन र पाल टाँगेर भए पनि बस्न मिल्ने सुरक्षित स्थान पनि बनाउने योजनामा उल्लेख छ ।
‘हामी योजना बनाउँछौं तर काम गर्दैनौं, त्यसैले नागरिकमा असन्तुष्टि बढेको हो,’ ताराखोला गाउँपालिका–२ का अमृत घर्तीमगरले भने, ‘मौलिक र परम्परा जोगिने काममा लगानी नगर्ने, सिमेन्ट र आधुनिकतामा विश्वास गर्ने प्रवृत्तिले इतिहास लोप हुँदै छ ।’ मौलिक परम्परा र इतिहास जोगिने स्थानमा लगानी गर्न राज्यका निकाय चुकेको उनले बताए ।
सहिद पार्क
सशस्त्र द्वन्द्वका बेला बागलुङको ताराखोला धेरै प्रभावित क्षेत्र थियो । ताराखोलाका मात्रै २६ जना सहिद भए । २ जना बेपत्ता छन् । ताराखोलामै भएका अन्य घटनामा मृत्यु हुनेको संख्या १ सय २ जना थियो । त्यसको सम्झनासहित युद्धका अवशेषहरूको संग्रह पनि गरिने लक्ष्यले पदमार्ग बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले बताए ।
‘जनयुद्धका कमान्डर सुप्रिमोले नै यो पदमार्गमा चासो दिनु भएको थियो, अहिले परिस्थिति पनि फेरियो, बजेट पनि भएन,’ विकले भने, ‘तर यो राजनीतिक भन्दा पनि सिंगो धौलागिरि क्षेत्रको आकर्षक पदमार्ग भएकाले आवश्यकतामा देखिन सक्छ ।’ बागलुङ नगरपालिका–६ को पञ्चकोटदेखि संसारकोट, काठेखोला गाउँपालिकाको बेलढुंगादेखि ताराखोलाको अर्गलको धुरी हुँदै ठूलो हिले, तमानखोलाको सोले डाँडा, नौडल्ले पहाड र म्याग्दीको गुर्जाघाट बाट ढोरपाटन जाने गरी रेखांकन भएको हो ।
ताराखोला गाउँपालिकाको केन्द्र रहेको अर्गलको डाँडामा गत वर्ष पालिकाले आकर्षक सहिद पार्क भने बनाएको छ । उक्त सहिद पार्कदेखि थामी, म्याग्दीको बरंजाधुरी, ताराखोलाकै तीनचुले, मालारानी, देउराली नयाँवन, चिनार, तीनचुले, डुडेलेकतर्फ यो पदमार्गको रेखांकन भएको छ । डुडेलेकबाट जुल्फे, गाईघाट झरना, मोतीमारे, माझखर्क, धम्जा देउराली, सोलीघोप्टेबाट पुन गाउँपालिका केन्द्रसम्मको खण्डलाई पदमार्गले समेट्ने छ । त्यसका लागि धम्जादेउराली, अर्गल वा गाईघाट झरनाबाट पनि पदमार्गमा मिसिन मिल्नेछ । यो पदमार्गमा सबैभन्दा अग्लो डुडेलेक ३ हजार ६ सय मिटर उचाइको छ भने होचो गाईघाट झरना १ हजार ३ सय ५० मिटरको उचाइमा छ ।
ताराखोला गाउँपालिकाको वडा नं १ मेतीमारे २०५१ को कात्तिकदेखि नै माओवादी तालिमकेन्द्रका रूपमा स्थापित थियो । ‘२०५२ को फागुन १ गतेदेखि जनयुद्ध थाल्न माओवादीले मोतीमारेमा तालिमकेन्द्र स्थापना गरेको थियो, त्यो ऐतिहासिक स्थल मानेर पदमार्गमा समावेश गरिएको विकले बताए । सहिदपार्क नजिकै रहेको किकल्टा होमस्टेमा बसेर सहिदपार्क अवलोकन गर्न सकिन्छ ।
पदमार्गभित्रै पर्ने चिनार पनि तत्कालीन तालिम केन्द्र हो । तत्कालीन समयमा गुरिल्ला युद्ध गरेको सम्झनामा यो पदमार्गको रेखांकन भएको स्थानीय अमृत घर्तीमगर सम्झन्छन् । यो पदमार्ग बन्ने भएपछि तीनचुले र ठूलो हिलेमा स्थानीयले होमस्टेमार्फत पर्यटकलाई बस्ने स्थान, खाने र घुम्न सकिने व्यवस्थापन गरेका छन् । सोलेमा भने म्याग्दी र बागलुङबीच सीमा विवादले बनेका संरचना पनि संरक्षण भएका छैनन् । यहाँ तत्कालीन पर्यटन कार्यालयले पाहुना घर बनाएको छ ।
यो पदमार्गबाट धौलागिरि, निलगिरि र अन्नपूर्ण हिमाली शृंखलाहरू देख्न सकिन्छ । यो पदमार्गको केही खण्डमा तमानखोला गाउँपालिकाले पनि ‘टान’को सहयोगमा सम्भावित आश्रयस्थलको खोजी गरेको थियो । संघीय बजेट नपाएसम्म स्थानीयको सानो बजेटले यो काम पूरा गर्न नसकिने भन्दै पालिकाका जनप्रतिनिधि अहिले पछि सरेका छन् । पुराना गोरेटा भएको स्थानमा सोही गोरेटा मर्मत गर्ने, नभएको स्थानमा ढुंगा छापेर पदमार्ग बनाउने गरी योजना बनाइएको तर संघीय बजेटको साथ नभए काम सक्न मुस्किल पर्ने तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए ।
ती गोरेटोका रूपमा मात्र काम सम्पन्न गर्दा १६ करोड रुपैयाँ लाग्ने अनुमान छ । ढुंगा छापेर पदमार्ग पूरा गर्न भने ५० करोड लाग्ने प्रारम्भिक अनुमान छ । संघीय सरकारको बजेटमा साझेदारी गरेर पालिकाहरू मिलेर मात्रै यो पदमार्ग पूरा गर्ने उनीहरूको योजना छ । तमानखोला गाउँपालिकाले सोले डाँडा र बराह तालमा १ करोड बढी रकम खर्चेर केही संरचना बनाइसकेको छ भने काठेखोलाले बेलढुंगामा आकर्षक स्थल र होमस्टे संचालनमा ल्याएको छ ।
योजना अनुसारको काम गरेमा हरेक स्थानमा स्थानीय आमा समूह सक्रिय बनाउने र उनीहरूले पर्यटकको बासस्थानको व्यवस्थापन हेर्नेछन् । त्यसका लागि गाउँपालिकाले समूहलाई तालिम र अभिमुखीकरण पनि गराउने छ ।
किकल्टा लगायतका होमस्टे समूहले त पर्यटक व्यवस्थापन तालिमसमेत पाएका छन् । ‘खाजा र खानाको व्यवस्थापनमा आमा समूह लागेपछि त्यहाँको कमाइमा पनि उनीहरू नै संलग्न हुनेछन्’ विकले भने, ‘पूर्वाधारको बजेट संघीय सरकारबाट ल्याउन सकियो भने अन्यमा स्थानीयले काम गर्न सकिन्छ ।’ ताराखोलामा उत्पादन हुने भाँगो, टिमुर, सिमी, आलु, मूला, रातो च्याउ, कोदो र फापरको ढिडो लगायतको अर्गानिक खाना यहाँ खुवाइने योजनामा छ ।
पछिल्लो समय स्थानीय आमा समूहले कोदो र मकैको सेलरोटी, झिलिंगासमेत बनाएर खाजाको प्रकार बनाइ आन्तरिक पर्यटकलाई खुवाउने गरेका छन् । दर्जनौं गाउँ एउटै यात्रामा घुम्न पाइने, भेडीगोठ र खर्कको अवलोकन, अर्गानिक खाना तथा सांस्कृतिक विविधतामा रमाउनसमेत पाइने गरी यो पदमार्ग रेखांकन गरिएको हो । यो पदमार्गलाई व्यावसायिक बनाएमा मुक्तिनाथ जाने र साहसिक यात्रा गर्न चाहनेलाई ढोरपाटन लैजान सकिने बुढा बताउँछन् ।
ताराखोला गाउँपालिकाले गण्डकी प्रदेश सरकार, संघीय सरकार र भरतपुर महानगरपालिका समेतको सहकार्यमा पनि पदमार्ग लगायतका काम गरेको थियो । ‘ताराखोलाका धेरै उत्पादनलाई चितवनमा बजारीकरण गर्ने, चितवनका पर्यटकीय अनुभव ताराखोलामा ल्याउने योजना रहेको पनि विकले बताए । ताराखोला गाउँपालिकाले भरतपुर महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको थियो ।
सशस्त्र द्वन्द्वका बेला माओवादी नेतृत्वमा स्थानीयले यो झण्डै ४० किमि सडकको ट्रयाक खोलेका थिए । उक्त सडकलाई सहिद मार्ग नामकरण गरिएको छ । यो मार्ग पनि अहिले बजेट अभावमा अलपत्र छ । काठेखोला गाउँपालिका–४ देखि ताराखोला गाउँपालिका–१, २ र ४ सम्मको सडक निकै अप्ठ्यारो छ । खाल्डाखुल्डी छन् । द्वन्द्वकालमा ट्रयाक खुले पनि स्तरीय र कालोपत्र गर्ने गाउँपालिकाको योजना बजेट अभावमा अलपत्र छ । पटक–पटक धाएर पनि बजेट नआएको गाउँपालिका अध्यक्ष धनबहादुर विकले बताए ।
‘संघ वा प्रदेशको बजेट बिना सडक कालोपत्र गर्न सम्भवै छैन,’ विकले भने, ‘नेताहरूको चासो नभएसम्म यो सडक कालोपत्र गर्न गाह्रो छ ।’ जनयुद्धकालमा जनश्रमदानबाटै रिजालचोकदेखि भात खाने डाँडा हुँदै ताराखोला पुग्ने सडकको ट्रयाक खुलाइएको थियो । त्यसपछिको स्तरउन्नतिमा भने ढिलाइ भएको हो । यो सडक कालोपत्रका लागि डीपीआर बनेको ७ वर्ष भइसकेको छ । ठेक्कामा जान नसक्दा यो सडकमा वर्षौंदेखि जोखिम मोलेर यात्रा गर्न स्थानीय बाध्य छन् । यो सडकले ताराखोलादेखि म्याग्दीको रुम समेत जोड्छ । २०७५ सालको डीपीआरमा १ अर्ब लागतमा सबै सडक कालोपत्र गर्न सकिने स्टिमेट गरिएको थियो ।
