जैमिनीले 'सुकुमवासीमुक्त' पालिका बनाउने

आवासविहीनका लागि घर बनाउन नगरपालिकाले ३१ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ ।

असार ८, २०८३

प्रकाश बराल

Jaimini to create 'squatter-free' municipality

बागलुङ — जैमिनी नगरपालिकाले सुकुमवासीमुक्त पालिका बनाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा सो कार्यकालागि बजेट समेत व्यवस्था गरिएको हो ।

जैमिनी नगरपालिकालले तीन/चार वर्षदेखि नै आवास नभएकालाई घर बनाइदिने, सुकुमवासी व्यवस्थापन, अव्यवस्थित बसोबासीलाई उचित व्यवस्थापनको काम गर्दै आएको थियो । आगामी वर्षभित्रै ती सबै समस्या समाधान गर्ने गरी नीति र कार्यक्रम तथा सो कार्य सम्पन्न गर्न बजेट समेत व्यवस्थापन गरेको हो । आवासविहीनका लागि घर बनाउन नगरपालिकाले ३१ लाख ५० हजार रुपैयाँ बिनियोजन गरेको छ । त्यस्तै खरका छाना बिस्थापित गर्ने योजनाकालागि ४ लाख ५० हजार  बिनियोजन गरेको छ । पछिल्ला केही वर्षदेखि नै खरका छाना भएका परिवारलाई जस्ता पाता खरिद गरेर दिने गरेको छ । 

१९ औं नगरसभामा उनले पेश गरेको बजेटमा असहाय, अनाथ र अपांग भएका नागरिकको जीवन रक्षाकालागि मानव सेवा आश्रमसँग साझेदारी गर्दै उनीहरुको व्यवस्थापनकालािग १० लाख रुपैयाँ समेत बिनियोजन गरेको हो । 

जैमिनीले गत वर्षको ‘सेरा जाउँ केरा खाउँ’ नारालाई बिस्तार गर्दै केराको उत्पादन बढाउन कालीगण्डकी करिडोरमा नयाँ केरा पकेट क्षेत्र बिस्तार गराउन १२ लाख रुपैयाँ पनि बिनियोजन गरेको छ । सडक छेउमा बस्ने किसानलाई लक्षित गरेर केरा पकेटको कार्यक्रम ल्याएको हो । जैमिनीमा केरा खेतीको उर्बर क्षेत्र हो । 

जैमिनीले स्वास्थ्य उपचार कोषमा ३० लाख बजेट बिनियोजन गरेको छ । यो बजेटले बिरामीको उपचारमा साथ दिइने छ भने दीर्घरोग लागेकालाई उपचारमा सहयोग गरिनेछ । गत वर्ष ८१ जना दीर्घरोगका बिरामीको उपचारमा मासिक ५ हजार रुपैयाँ दिएको नगरपालिकाले यो वर्ष पनि उपचारमा साथ दिने लक्ष्य राखेको हो । स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने महिलाका कुरुवा बस्न सक्ने गरी साझेदारीमा प्रसूति प्रतीक्षा घर बनाएको छ । 

उपप्रमुख हरिहर शर्माले आगामी आर्थिक वर्षकालागि ७६ करोड ८८ लाख रुपैयाँको आयव्ययको अनुमान नगरसभामा पेश गरेका थिए । उक्त बजेटमध्ये संघीय सरकारको राजश्व बाँडफाँडबाट ९ करोड १७ लाख, संघीय सरकार बित्तिय समानीकरण अनुदानबाट ११ करोड १३ लाख, संघीय सरकार सशर्त अनुदानबाट ४२ करोड, प्रदेश सरकार बित्तिय समानीकरण अनुदानबाट १ करोड ४३ लाख आन्तरिक आयबाट १ करोड ५५ लाख ५० हजार आय गर्ने अनुमान गरिएको छ । खर्च तर्फ सामाजिक विकासमा ५ करोड ६६ लाख, आर्थिक विकासमा १ करोड ८८ लाख, पूर्वाधार विकासतर्फ ११ करोड ८२ लाख बजेट बिनियोजन गरेको हो । 

जैमिनीले बालमैत्री नगर घोषणा गरिसकेकोले अद्यावधिक गर्ने, बालविवाह निरुत्साहित गर्ने, न्यायिक समितिको प्रभावकारिताकालागि युवा सम्मेलन गर्ने, उत्कृष्ट विद्यालय छानेर छात्रावाससहितको व्यवस्थापन गर्ने समेत उल्लेख छ । 

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully