दुई दशकभन्दा बढी समयदेखि छालाको समस्याका कारण परिवार र समाजबाट टाढा परेका टेकबहादुर थापा उपचारपछि निको भइरहेका छन् ।
What you should know
बागलुङ — गाउँमै कृषि पेशामा संलग्न थिए । खेतबारीको काम, पशुपालन गर्दागर्दै शरीरमा समस्या देखियो । झण्डै २० वर्षदेखि उनको हातखुट्टा कुहिन थाले । गन्हाउने अवस्थामा पुगेपछि परिवारका सदस्यले नै घरभित्र बस्न दिएनन् । पकाएर खाना दिन पनि छाडे ।
बागलुङ नगरपालिका–१० भकुण्डेका ६० वर्षीय टेकबहादुर थापाले यो सास्ती खेपेपछि परिवारको साथ त पाएनन्, छिमेकीले पनि उपचारमा सहयोग गरेनन् । बिस्तारै उनको खुट्टा टेक्नै नहुने भयो । हातमा पनि समस्या आयो । त्यसपछि त परिवारले घरभित्र बस्न पनि दिएनन् ।
पाँच वर्षदेखि घर निकालामा परेका ती बृद्धलाई बाख्रा बाँध्ने गोठमा राखियो । घरमा बस्न नपाएका थापाले कष्टकर जीवन बिताइरहेका थिए । पीडितकी बहिनीले माइती आउँदा त्यो अवस्था देखेपछि छिमेकमा हारगुहार गरिन तर कसैले साथ दिएनन् । त्यसपछि उनले बागलुङ नगरपालिका कार्यालयलाई गुहारिन् ।
नगर स्वास्थ्य शाखाले स्वास्थ्य क्षेत्रमा काम गर्दै आएको सम्बोधन परियोजनामा सूचना पठायो । फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनले संचालन गरेको सम्बोधन परियोजनाका अनुगमन तथा प्राविधिक प्रमुख सुजन पौडेल, नगर उपप्रमुख राजु खड्कालगायत गाउँ पुगेर ती बिरामीको उद्धार गरी धौलागिरी अस्पताल पुर्याए । थापाको घाउ देखेपछि कुष्ठरोग भएको प्रारम्भिक अनुमान लगाइयो । धौलागिरि अस्पतालमा समेत उनको उपचार हुन नसकेपछि पोखरास्थित हरियोखर्क अस्पताल पठाइयो ।
हरियोखर्कमा उपचारको क्रममा उनलाई कुष्ठरोग नभएको पत्ता लाग्यो । हरियोखर्क अस्पतालका डा. प्रकाश कार्की नेतृत्वमा गरिएको उपचारपछि व्याक्टेरियाको इन्फेक्सनका कारण लाग्ने ‘सिरोसिस’ नामक रोगले यो समस्या भएको पुष्टि भयो ।
गत जेठ ७ देखि हरियोखर्कमै उनको नियमित उपचार भइरहेको छ । उपचारबाट केही निको भएपछि औषधि दिएर उनलाई गाउँमा फर्काइएको छ । अहिले पनि उनको परिवारले घरभित्र छिर्न नदिएपछि परियोजनाले गोठमै सरसफाई र लिपपोत गरेको कोठा बनाएर थापालाई राखेको छ । नगरपालिकाले उनको घरमै पुगेर ‘ख’ वर्गको अपांगता परिचयपत्र दिएको उपप्रमुख राजु खड्काले जानकारी दिए । उक्त परिचयपत्र पाएकै कारण उनलाई केही राहत रकम पनि उपलब्ध गराएको छ ।
अझै केही समय पोखरा लगेर उनको उपचार गरेपछि आधा बढी समस्या निको हुने धौलागिरी अस्पतालका छालारोग विशेषज्ञ डा. सन्दिप केसीले बताए । सुरुवातमा कुष्ठरोगको शंका गरेर पोखरा पठाएकोमा अब भने धौलागिरि अस्पतालमा पनि घाउको उपचार गराउन सकिने भएको छ ।
छालाको रोग भए पनि अझै निको हुन धेरै समय लाग्ने भएपछि परियोजनाले ती बृद्धलाई खाद्यान्न, पकाउने भाँडा र लत्ताकपडा समेत सहयोग गरेको पौडेलले बताए । केही निको भएपछि ती बिरामीले आफूलाई धेरै राहत भएको बताए । ‘बिरामी भएपछि छिमेकीले त हेरेनन्, घरपरिवारले पनि हेरेनन्, पशु जस्तै व्यवहार भयो,’ उनले भने, ‘निको भयो भने पनि अब परिवारको साथमा बस्न सक्दिन होला ।’ उनले मरेको अवस्थाबाट बाँच्न सफल भएको बताए । औषधिले निको हुन्छ भन्ने थाहा नपाएपछि उनले पूजापाठ गरेर निको पार्ने प्रयास गरेका थिए । अधिकांशले उनलाई कुष्ठ रोग लागेकोले पाप लागेको भनेर हेला समेत गर्थे ।
हातले टेकेर हिँड्न सक्ने भएका उनको नियमित उपचार र औषधि सेवनपछि हिँड्न सक्ने अवस्थामा पुग्ने केसीले बताए । पीडितले बैसाखी भएमा केही समयपछि हिँड्ने प्रयास गर्ने बताएका छन् । त्यसकालागि पनि उनले परियोजनामा माग गरेको बताए । ‘बिस्तारै कुहिएको खुट्टा पलाएको छ, घाउ पनि सफा बन्दैछ,’ उनले भने, ‘मर्न पनि नसकेको मलाई आत्मबल पलाएको छ, अब त बाँच्छु ।’ उनले निको भयो भने काम गरेरै खाने बताए ।
